Kathmandu Press

के हो ‘पोस्ट कोभिड’, कसरी बच्ने?

कोरोना संक्रमणबाट निको भइसकेपछि पनि कतिपय मानिसमा पोस्ट कोभिड वा लङ कोभिडको लक्षण देखिन थालेको विज्ञहरू बताउँछन्।
के हो ‘पोस्ट कोभिड’, कसरी बच्ने?
Hardik ivfHardik ivf

काठमाडौं, असार ५ : केही दिनयता देशभर कोरोना संक्रमण दर घट्दो छ। निको हुनेको संख्या क्रमशः बढिरहेको छ।

कोरोना संक्रमणबाट निको भइसकेपछि पनि कतिपय मानिसमा पोस्ट कोभिड वा लङ कोभिडको लक्षण देखिन थालेको विज्ञहरू बताउँछन्।

कोरोना संक्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा निरन्तर विभिन्न समस्या आउनुलाई नै पोस्ट कोभिड भनिने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

उनका अनुसार कोरोनाको पहिलो लहरपछि संक्रमणबाट निको भएका कतिपय मानिसमा पोस्ट कोभिडको समस्या देखिएको थियो भने दोस्रो लहरमा यो अझ बढेको छ।

‘कोरोना संक्रमणबाट निको भइसकेपछि पनि मानसिकदेखि शरीरका विभिन्न अंगमा समस्या देखिनुलाई पोस्ट कोभिड भनिन्छ। त्यस्तो समस्या महिनौँसम्म रहन सक्ने सम्भावना हुन्छ,’ उनले भने। नेचर जर्नलमा प्रकाशित लेखअनुसार अमेरिकामा लगभग ३२ प्रतिशतको हाराहारीमा पोस्ट कोभिडका बिरामी देखिएका छन्।

बेलायतमा पनि केही महिनाअघि गरेको अनुसन्धानले १० प्रतिशतमा उपचारपछि पोस्ट कोभिडको समस्या हुने देखाएको थियो। इटालीमा झन्डै ८७ प्रतिशतमा उपचारपछि यस्तो समस्या देखिएको थियो। नेपालमा भने अहिलेसम्म पोस्ट कोभिडका समस्याबारे यकिन तथ्यांक नभएको डा. पुनले बताए।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि अहिले धेरै थकान महसुस हुने, मुटु र छाती दुख्ने, श्वासप्रश्वासमा समस्यालगायत स्वास्थ्य जटिलता लिएर आउने बिरामी बढेका छन्।

त्यस्ता बिरामीमध्ये अधिकांशमा यसअघि कोरोना संक्रमण भएको थियो। यसको मतलब आइसोलेसनमा बसेका र कडा लक्षण नदेखिएकाहरूलाई पोस्ट कोभिड नहुने भन्ने हुँदैन। तर अधिकांश कोरोनाको लक्षण भएर वा नभएर संक्रमित भएकाहरूमै पोस्ट कोभिड देखिएको छ।

पोस्ट कोभिड कसरी पहिचान गर्ने?

पोस्ट कोभिडको पहिचानका लागि कुनै पनि व्यक्तिको स्वास्थ्य इतिहास थाहा पाउनु जरुरी रहेको डा. पुन बताउँछन्। बिरामी पहिले कहाँ गएको थियो? के स्वास्थ्य समस्या थियो? कोरोना संक्रमित भएको थियो वा थिएन? यी र यस्ता विषयको जानकारी लिएर मात्र पोस्ट कोभिडबारे जान्न सकिने उनले बताए।

‘पोस्ट कोभिडमा मुटु अनियमित धड्किने, कमजोरी महसुस हुने, छाती दुख्ने, मुटुको ढुकढुकी बढ्ने, कानमा कृत्रिम आवाज सुनिने, जिउ तातिएको महसुस हुने, निन्द्रा नलाग्ने, घरिघरि कुराहरू बिर्सिएजस्तो हुने, काममा मन एकीकृत नहुने, हल्का खोकी लागिरहने, अनावश्यक डर लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, डिप्रेसन हुने, छिनछिनमा बिर्सने बानी देखिने, अत्यधिक थकान महसुसु हुनेलगायत समस्या देखिएका छन्,’ डा. पुनले भने। 

यस्तै शारीरिक मात्र नभई मानसिक रोग देखिनु पनि पोस्ट कोभिडको मुख्य लक्षण रहेको मनोविमर्शकर्ता सजिना ढुंगाना बताउँछिन्। कोरोनाभन्दा पनि यसका कारण निम्तिएको लकडाउनका कारण धेरै मानिसमा मानसिक रोग देखिन थालेको उनको भनाइ छ। 

ढुंगानाका अनुसार सर्वसाधारणमा जागिर नहुने, पारिश्रमिक नपाउने, आर्थिक मन्दीलगायत डर भइरहेको हुन्छ भने कोरोना संक्रमितलाई पनि बाँचिन्छ वा बाँचिँदैन भन्ने त्रास हुन्छ।

यस्तै, फ्रन्ट लाइनमा काम गर्नेहरूलाई कोरोना भाइरसको समेत त्रास रहेको छ। यसबाहेक घरमा कोही बिरामी वा ज्येष्ठ नागरिक हुनेका परिवार आत्तिएका छन्। यस्तैयस्तै कारणहरूले नै पोस्ट कोभिडका रूपमा मानसिक रोग निम्तिने उनको भनाइ छ। 

‘अहिले संक्रमितहरूलाई भन्दा पनि लकडाउनको मारमा परी व्यवसाय चौपट भएका मानिसहरूमा मानसिक समस्या देखिन थालेको छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘मानिसहरूले घर, जग्गा, कारोबारलगायतका कामहरुका लागि बैंकबाट ऋण लिएका हुन्छन्। त्यस्ता व्यक्तिहरुमा काम नभए कसरी तिर्ने, बैंकले के सहुलियत दिन्छ, आर्थिक मन्दी भयो भने कसरी बेहोर्नेलगायत प्रश्न मनमस्तिष्कमा खेलाएका हुन्छन् र परिणामस्वरूप उनीहरूमा मानसिक समस्या देखिन सक्छ।’

यस्तै ग्यास्ट्राइटिक्स, मधुमेह, उच्च रक्तचाप, थाइराइडलगायत रोगहरुको विषयमा मानिसहरू सहजै कुरा गरे पनि मानसिक रोगबारे खुलेर कुरा नगर्दा पनि यो रोग झन् बल्झिने उनी बताउँछिन्।

लकडाउन खुलेसँगै बिस्तारै मानिसहरू अन्य काममा अभ्यस्त हुन थालेपछि मानसिक रोगको समस्या कम हुन सक्ने सम्भावना रहे पनि २०७२ सालको विनाशकारी भूकम्पका कारण धेरै मानिसको मस्तिष्कमा असर परेझैँ यसले पनि दीर्घकालीन असर पार्न आकलन गरिएको उनी बताउँछिन्।

‘कतिपय अवस्थामा आफूलाई के कुराले प्रभाव पारेको भन्ने कुरा थाहा पाउन नसक्दा डिप्रेसन हुने, अन्य स्वास्थ्य समस्या निम्तने, व्यवहार परिवर्तन हुने, झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्नेलगायत समस्या उत्पन्न हुने गर्दछन्,’ उनले भनिन्, ‘तसर्थ सर्वप्रथम आफूलाई प्रभाव पारेको कुरालाई नै पत्ता लगाउनु जरुरी छ।’

समस्या पत्ता लगाउन नसकेको अवस्थामा मनोवैज्ञानिकहरूसँग परामर्श लिने, साथीभाइसँग कुरा गर्ने, रुची लाग्ने काम गर्ने, योग, व्यायाम, खाना पकाउने, पेन्टिङलगायत काम गरेर समयको सदुपयोग गर्ने हो भने केही हदसम्म मानसिक स्वास्थ्यलाई बलियो बनाउन सकिने उनले बताइन्।

यस्तै पोस्ट कोभिडकै लागि भनेर अहिलेसम्म औषधि नबनेको हुँदा जुन स्वास्थ्य समस्या आएको छ, त्यसैको उपचार गरी पोस्ट कोभिडबाट निको हुन सकिने डा. पुन बताउँछन्।

‘कसैलाई छाती दुखेको छ भने त्यससम्बन्धी औषधि लिने, मानसिक रोग देखिए सोहीसम्बन्धी परामर्श र औषधि सेवन गर्ने,’ डा. पुनले भने, ‘यस्तै आफ्नो काममा केन्द्रित हुने, शरीरलाई चलायमान बनाउने, योग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरलाई फुर्तिलो बनाउने गर्नुपर्छ।’

यसरी स्वास्थ्य समस्या बढ्दै गएको खण्डमा आवश्यकताअनुसार सम्बन्धित विशेषज्ञहरूसँग परामर्श लिनुपर्ने सुझाव उनले दिए। 

प्रकाशित मिति: ०९:१६ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्