बाढी, पहिरो र डुबानमा परी हालसम्म १५ जनाको मृत्यु 

काठमाडौं, असार ४ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज दिउँसोसम्म १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । जसमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरीमा १ जना, काभ्रेमा १ जना, गोरखामा १ जना, जुम्लामा १ जना, अर्घाखाँचीमा १ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, कालिकोटमा १ जना र बाजुरामा १ जना रहेका छन् ।

बाढी, पहिरो र डुबानमा परी १६ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ६ जना, म्याग्दीमा ३ जना, जुम्लामा २ जना, डोटीमा २ जना, कास्कीमा १ जना, स्याङजामा १ जना रसल्यानमा १ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी २५ जना बेपत्ता भएका छन् ।

तीमध्ये १७ जना पुरुष, ५ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा ७ जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी १ सय २ जनाको उद्दार गरिएको छ ।

उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । बाढीको कारण १ सय ९९ वटा घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ११ वटा गोठ, १२ वटा पुल, १ वटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

५ सय २८ वटा घरका १ हजार ७ सय ६० जना मानिस विस्थापित भएका छन् भने ५ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । साथै बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका ईलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ ।
 

 Published Date: Friday, 18th June 2021 6:27:00 pm