Kathmandu Press

के हो ‘स्मार्ट लकडाउन’? लागु गर्ने तयारी कस्तो छ?

‘सवारी साधन संख्याका आधारमा निर्धारण गर्ने, सरकारी कार्यालयमा सातामा दुई दिन बिदा दिने, स्मार्ट लकडाउनका लागि तयार पारिएको मोडालिटीअनुसार सबै व्यापार व्यवसाय खोल्नेलगायत विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो,’ उनले काठमाडौं प्रेससँग भने।
के हो ‘स्मार्ट लकडाउन’? लागु गर्ने तयारी कस्तो छ?

काठमाडौं, असार ३ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाको विकल्पस्वरूप ‘स्मार्ट लकडाउन’ लागु गर्ने तयारी गरेको छ।

बुधबार राति सम्पन्न कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले असारको दोस्रो सातादेखि अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको केन्द्रका प्रमुख बालानन्द शर्माले जानकारी दिए। उनका अनुसार अहिले जारी लकडाउन कायम राख्दै अर्को सातासम्मको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।

‘सवारीसाधन संख्याका आधारमा निर्धारण गर्ने, सरकारी कार्यालयमा सातामा दुई दिन बिदा दिने, स्मार्ट लकडाउनका लागि तयार पारिएको मोडालिटीअनुसार सबै व्यापार व्यवसाय खोल्नेलगायत विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो,’ उनले काठमाडौं प्रेससँग भने।

नेपालका करिब ३० प्रतिशत जनता दैनिक ज्यालामज्दुरी गर्ने र आजको कमाइले आजै पे पाल्ने खालका रहेको उल्लेख गर्दै प्रमुख बालानन्द शर्माले भने, ‘त्यस्ता जनतालाई लक्षित गर्दै उनीहरूलाई केही सहजता प्रदान होस् भनेरै स्मार्ट लकडाउन लागु गर्ने तयारीमा लागेका हौं।’ के हो स्मार्ट लकडाउन? सरकारले अबको निषेधाज्ञाको मोडालिटी लाई ‘स्मार्ट लकडाउन’ भनेको छ। तर कतिपयलाई ‘स्मार्ट लकडाउन’ भन्नेमै अन्योल छ।

स्मार्ट लकडाउनमा अहिलेको तुलनामा धेरै क्षेत्र खुल्ने तर सुरक्षाका लागि भिन्नै तरिका अपनाइने प्रमुख शर्माले बताए। ‘धेरै मान्छे एकै ठाउँमा भेला नहोऊन्, होटलमा पनि सामाजिक दूरी कायम होस्, धेरै मान्छे भेला हुनेगरी खेलहरू नहोऊन्, संस्कारजन्य क्रियाकलाप गर्दा पनि १० जनाभन्दा बढी भेला नहोऊन् भन्ने लगायत उद्देश्यका साथ हामीले स्मार्ट लकडाउनको तयारी थालेका हौँ,’ उनले भने, ‘यति कुराका लागि गरिएका काम पर्याप्त हुने हो भने त्यसैलाई स्मार्ट लकडाउन भन्ने हो।’

उदाहरणका लागि अहिले पूर्ण रुपमा बन्द रहेको सार्वजनिक सवारीलाई सुरुको चरणमा एक चौथाइ मात्र खोली सेवा विस्तार गर्दै जानुलाई पनि स्मार्ट लकडाउन भन्न सकिने तर्क प्रमुख शर्माले गरे । ‘मानिसको आवतजावत कम गरी समूहमा आउन निरुत्साहित गर्नुलाई नै स्मार्ट लकडाउन भन्ने हो। जसका लागि चरण १, २, ३ चरण गर्दै क्रमशः खुला गर्दै लैजाने योजनामा छौं,’ उनले भने।

उनका अनुसार ‘स्मार्ट लकडाउन’मा सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन। सवारीसाधनलाई संख्या तोकेर मात्र चल्न दिइनेछ भने सबै व्यवसाय खुला हुनेछन्।

स्मार्ट लकडाउनको मोडालिटीअनुसार कुन दिन कुन नम्बरका सवारीसाधन चलाउने भन्ने निर्धारण गरिनेछ। ‘समितिले तयार पारेको स्मार्ट लकडाउन मोडिलाटीअनुसार सबै पसल खुल्नेछन् तर निश्चित समय निर्धारण गरिनेछ। जस्तो खाद्यान्नलाई ९ बजेसम्म, लत्ताकपडा, इलेक्ट्रिक पसल १० देखि १२ बजेसम्म, हार्डवेयर पसल तथा अन्य पसलहरू १ देखि ४ बजेसम्म गरेर पसलको वर्गीकरण गरेर खोलिनेछ,’ उनले भने। यस्तै नेपाली श्रमिक धेरैको संख्यामा रहेका युएई, कतार, साउदी अरेबिया, टर्की, जापान र मलेसियालगायत देशमा हवाई उडान खुलाउने निर्णयसमेत गरेको शर्माले बताए।

‘निम्नस्तरका श्रमिकरू वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई स्वदेश फर्काउन अर्को सातादेखि युएई, कतार लगायत मिडल इस्टका लगभग सबै देशका लागि उडान भर्ने व्यवस्था मिलाइएको हो,’ उनले भने।

यस्तै असार ७ गतेसम्मका लागि केही हदसम्म निषेधाज्ञा पहिलाको तुलनामा खुकुलो पारिसकिएको हुँदा यसले कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्यामा कस्तो असर पर्छ भन्ने लगायत विषयको अध्ययन गरेर मात्रै स्मार्ट लकडाउनको निर्णय हुने उनले बताए।

प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्