Kathmandu Press

आफैँले डिजाइन गरेका पहिरनमा टिकटक 

नेपाली र हिन्दी रोमान्टिक गीतमा विभिन्न डिजाइनका पोसाकमा उनी देखिन्छिन् । खुलेका र मिलेका पहिरन देखेर उनलाई देश–विदेशबाट नेपाली दिदीबहिनीले म्यासेज गर्छन्– तपाईंको पसल कहाँ छ ? यो मलाई मनपर्यो, उपलब्ध गराउन सक्नुहुन्छ ? यसलाई कति पर्छ ?
आफैँले डिजाइन गरेका पहिरनमा टिकटक 

काठमाडौं, असार १ : अम्बिका श्रेष्ठ आफूले डिजाइन गरेका विभिन्न पोसाकको विज्ञापनका लागि टिकटिक बनाउँछिन् । नेपाली र हिन्दी रोमान्टिक गीतमा विभिन्न डिजाइनका पोसाकमा उनी देखिन्छिन् । खुलेका र मिलेका पहिरन देखेर उनलाई देश–विदेशबाट नेपाली दिदीबहिनीले म्यासेज गर्छन्– तपाईंको पसल कहाँ छ ? यो मलाई मनपर्यो, उपलब्ध गराउन सक्नुहुन्छ ? यसलाई कति पर्छ ? 

नीलकण्ठ नगरपालिका–३, धादिङमा अम्बिकाको पसल छ– ‘परी बुटिक एन्ड कुर्ता होम’ । यही नामबाट उनले फेसबुक पेज पनि खोलेकी छन् । सोही फेसबुकमा उनले मे ७ मा एउटा ग्राहकको म्यासेज (स्क्रिन सट) पोस्ट गरेकी छन् । म्यासेजमा भनिएको छ, ‘थ्यांक्क यु सो मच दिज्यु, मलाई धेरै नै मनपर्यो ।’ यसो भन्ने ग्राहक सेतो लेहेँगामा परीजस्तै देखिन्छिन् । यी ग्राहक हुन्, काठमाडौंकी निष्मा राई । उनले इन्स्टाबाट अर्डर गरेकी थिइन् । उनका लागि फेसबुक, इन्स्टा र टिकटक विज्ञापनको माध्यम बनेको छ ।

‘काठमाडौं, धनगढी, बुटवल, चितवन, जनकपुरबाट धेरै अर्डर आउने गरेको छ,’ अम्बिका भन्छिन्, ‘विदेशमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, कोरिया लगायत देशबाट अर्डर आउँछन् ।’

कुर्ता–सुरुवाल, लेहेँगा नै बढी अर्डर आउने उनी बताउँछिन् । देशभित्र वा देशबाहिर अर्डरका कपडा उनले ग्राहकले भनेबमोजिम कुनै मान्छेमार्फत वा कुरिअरमार्फत पठाउँछिन् । त्यसको मूल्य इ–ब्यांकिङबाट बुझ्छिन् । 

उनले यो पसल आठ वर्षअघि दुई लाख रुपैयाँ लगानीबाट सुरु गरेकी थिइन् । सुरुमा चारजना कर्मचारी थिए, अहिले आठजना पुगेका छन् । सुरुसुरुमा स्थानीयवासी तथा नजिकका जिल्लाबाट मात्र अर्डर आउँथ्यो । 

डेढ वर्षजति भयो, उनले टिकटकमा आफूले सिलाएका पहिरनको विज्ञापन गर्न थालेको । ‘डेढ वर्षअगाडि पहिलोपल्ट टिकटकमा देखेर जापानमा रहेकी नेपाली महिलाले अर्डर गर्नुभएको थियो,’ अम्बिका भन्छिन्, ‘उहाँलाई मैले एउटै डिजाइनको तीन सेट कपडा कुरिअर गरेकी थिएँ ।’ 

बढी प्राथमिकता भने उनले स्थानीय र देशभित्रैका ग्राहकलाई दिन्छिन् । उनले तयार पारेको एक सेट लेडिज पहिरनलाई न्यूनतम सात सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म पर्छ । त्यसो त अर्डर अनुसार, निकै महँगा पहिरन पनि उनले तयार गर्छिन् ।

‘सुरुसुरुमा मासिक ५०–६० हजार रुपैयाँ कारोबार हुन्थ्यो । पछिल्लो समय त्यही लाखको हाराहारीमा हुन्छ,’ उनी भन्छिन्, ‘अहिले त निषेधाज्ञा छ, त्यति कारोबार छैन । तर खाली बस्नुपरेको छैन । अर्डरका काम गरिरहेकी छु । निषेधाज्ञा खुलेपछि पठाउँछु ।’ 

‘घरमै मेसिन राखेर सिकेँ’

अम्बिकाले २०६१ सालमा एसएलसी गरेकी हुन् । उनलाई सानैदेखि कपडाका डिजाइनमा रुचि थियो । उनले एसएलसी दिएपछि बुवासँग एउटा लुगा सिलाउने मेसिन माग गरिन् । बुबाले उनको माग पूरा गरिदिए । 

फुसर्दका बेला उनले कपडा काट्दै सिलाउँदै गर्न थालिन् । ‘सुरुमा ८–९ पटक काटेर सिलाउँदा पनि डिजाइन बनाउन सक्दिनथेँ,’ उनी भन्छिन्, ‘बुवाले सधैँ कपडा ल्याइदिनुहुन्थ्यो, मैले कपडा काटेर बिगार्दा पनि बिस्तारै सिकिन्छ भन्नुहुन्थ्यो।’ 

उनले कहिले आफैँ नयाँ डिजाइन बनाउने कोसिस गर्थिन्, कहिले अरुको डिजाइन एकपल्ट देखेको भरमा बनाउने प्रयास गर्थिन् । यसरी अभ्यास गर्दैै जाँदा उनले नयाँनयाँ डिजाइनका लुगा सिलाउन सिकिन् । 

सुरुमा उनले आफूले सिलाएका लुगा आफैँ लगाउँथिन्, त्यो देखेर साथीहरुले अर्डर गर्न थाले । त्यसपछि उनले घरमै लुगा सिलाउन थालिन् । अध्ययनलाई पनि उनले अगाडि बढाइरहिन् । धादिङको नीलकण्ठ क्याम्पसबाट प्लस टु, स्नातक हुँदै स्नातकोत्तर गरेकी छन् ।

०६८ मा स्थानीय शिवराम श्रेष्ठसँग उनको मागी विवाह भयो । विवाहको दुई वर्षपछि उनले व्यावसायिक रूपमा परी बुटिक सञ्चालन गरेकी हुन् । उनका श्रीमान् शिक्षक हुन् । ‘उहाँ (श्रीमान्)ले पनि फुर्सदका बेला मलाई सघाउनुहुन्छ,’ उनी भन्छिन्, ‘मलाई परिवारबाट पूरा सहयोग छ । यस कामले मलाई आत्मनिर्भर बनाएको छ ।’ 
 

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्