Kathmandu Press

भिडियो कन्फरेन्सिङमा प्रतिस्पर्धा- स्काइपलाई यसरी पछार्‍याे जुमले

कोभिड–१९ महामारीको समयमा घरभित्रै खुम्चिन बाध्य संसारभरका मानिसलाई आपसमा जोडिराख्न ‘जुम एप’को ठूलो योगदान छ।
भिडियो कन्फरेन्सिङमा प्रतिस्पर्धा- स्काइपलाई यसरी पछार्‍याे जुमले
Hardik ivfHardik ivf

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको ‘जुम भिडियो कम्युनिकेसन्स इन्कर्पोरेसन’ले भिडियो कन्फरेन्सिङ सेवा ‘जुम’ सञ्चालन गर्छ। खासगरी, कोभिड–१९ महामारीको समयमा घरभित्रै खुम्चिन बाध्य संसारभरका मानिसलाई आपसमा जोडिराख्न ‘जुम एप’को ठूलो योगदान छ।

पछिल्ला महिनामा यसको व्यापार विष्फोटक ढंगबाट उचाइमा देखिन्छ। प्रशंसक र प्रयोगकर्ता बढ्दो संख्या नै त्यसको मुख्य आधार हो। सोही लोकप्रियतालाई आधार बनाएर जुमले नयाँ–नयाँ फिचरहरू पनि थप्दै गएको छ।

छोटो समयमा ‘जुम’ले हासिल गरेको कर्पोरेट उपलब्धी दुर्लभ हो। मानिसलाई आफ्ना फिचरमा अभ्यस्त बनाउन यसले आफ्नो उत्पादनलाई सहजै प्रयोग योग्य बनायो। अहिले ‘जुम’को पर्याय नै बनेको छ ‘भिडियो च्याट’, गुगल गर्नुको अर्थ इन्टरनेटमा आफूलाई आवश्यक सामग्री खोज्नुजस्तै।

भिडियो कन्फरेन्सिङमा ‘जुम’ पहिलो माध्यम होइन। त्यसअघि ‘स्काइप’ उत्तिकै लोकप्रिय थियो। स्काइप सन् २००३ मै बजारमा आएको हो। त्यो भनेको जुमभन्दा नौ वर्ष अगाडि हो। ‘स्काइप’को स्वामित्त्व ‘टेक टाइटन माइक्रोसफ्ट कर्पोरेसनसँग छ। र, ‘जुम’ले स्काइपलाई धेरै पछाडि छाडेको छ। कुनै समय थियो, मानिसहरू ‘स्काइप’ गर्थे, अहिले ‘जुम’ गर्छन्।

कुनै उत्पादनले लोकप्रियता गुमाउनुको कारण खोतल्नु सहज विषय होइन। तर, मूल्य, गुणस्तर, परफर्मेन्स र सहज प्रयोग त्यसका केही कारण हुन सक्छन्। यदि कम्पनीले लक्जरी सामानबाहेक अरू नै केही बिक्री गरिरहेको छ भन्ने बुझ्नुपर्छ त्यो कम्पनी समस्यामा छ। तथापि, माइक्रोसफ्ट आफैँमा संसारमै धनी र शक्तिशाली कम्पनी हो। माइक्रोसफ्टको नारा नै छ, ‘लिड’ कायम रहँदैन भने ‘हेड स्टार्ट’ गर्नुको कुनै तुक हुँदैन।

स्काइप मात्र त्यस्तो लोकप्रिय उत्पादन होइन, जसलाई माइक्रोसफ्टले निश्तेज बनायो। दुई दशकअघि वेब ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ पनि त्यत्तिकै लोकप्रिय थियो। अगामी अगस्टमा ‘इन्टरनेट एक्स्प्लोरर’ बन्द गर्ने योजनामा माइक्रोसफ्ट छ र त्यसको महिनादिनपछि स्काइप पनि सधैँका लागि बन्द हुँदैछ। 

वेब ब्राउजर र भिडियो कन्फरेन्स सेवा त्याग्दै माइक्रोसफ्ट व्यावसायिक प्रयोगकर्ताहरूका लागि नयाँ वेब ब्राउजर प्लेटफर्म ‘एज’ बजारमा ल्याउँदैछ। माइक्रोसफ्टका उत्पादनका पारखीहरूका लागि यो नयाँ प्लेटफर्म हुनेछ।

जुम सँगसँगै बजारमा परचित भएको भिडियो एन्ड कोल्याबोरेसन टुल ‘टिम्स’ पनि प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ। व्यावसायिक क्षेत्रमा ‘टिम्स’ले पनि स्काइपलाई पछाडि पारेको छ।

माइक्रोसफ्टले आफ्ना वेब ब्राउजर र भिडियो कन्फरेन्सिङ सेवालाई समयानुकुल बनाउन सकेको भए आज तिनलाई विस्थापित गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन। 

सन् १९८५ मा माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टम सुरु गर्दा व्यक्तिगत कम्प्युटर (पीसी) प्रयोगमा क्रान्ति नै आएको थियो। आम उपभोक्ता र व्यावसायिक क्षेत्रलाई त्यतिबेला माइक्रोसफ्टले सस्तो, भरपर्दो र सहज प्रयोगको साधन उपलब्ध गराएको थियो।

त्यतिबेला डेस्कटप कम्प्युटरमै अत्यधिक केन्द्रित रहँदा माइक्रोसफ्टले सन् १९९० को दशकमा इन्टरनेटले आफ्नो व्यवसायलाई धरासायी बनाउनेछ भन्ने बुझ्न सकेन। र, सन् २००० को दशकमा मोबाइलले त्यसरी नै डेस्कटपको व्यापार चौपट बनाउनेछ भन्ने पनि हेक्का भएन, माइक्रोसफ्टलाई।

‘यो सत्यको सामना गर्नुको विकल्प छैन। खासमा, इन्टरनेट पीसीका लागि डिजाइन गरिएको थियो, आइफोनका लागि थिएन,’ माइक्रोसफ्टका पूर्वप्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मरले सन् २००९ मा आयोजित एक प्रेस कन्फरेन्समा भनेका थिए।

वेब र स्मार्ट फोनका लागि सहज ब्राउजर गुगलक्रोमले नै माइक्रोसफ्टको व्यापार खोसेको छ। तीव्र गतिमा लोड हुने, अधिक सुरक्षित र गोपनीयता कायम राख्न सक्ने ब्राउजरहरू आउँदा डेभेलपरको जिन्दगी पनि सहज बन्यो। र, ‘इन्टरनेट एक्स्प्लोरर’ बेकामे बन्न पुग्यो। एक समयमा ‘इन्टरनेट एक्स्प्लोरर’को दबदबा यति व्यापक थियो कि संसारभरको ब्राउजिङ बजारको ९५ प्रतिशत हिस्सा उसकै नियन्त्रणमा थियो। अहिले एक प्रतिशतभन्दा कम छ र ‘एज’को बजार हिस्सा पनि ३.४ प्रतिशत मात्र छ।

सन् २०११ मा आठ अर्ब ५० करोड डलरमा स्काइपको स्वामित्त्व खरिद गर्दा ‘जुम’ भरखरै सुरु हुँदै थियो। जब कि, स्काइपका त्यतिबेलै १० करोड प्रयोगकर्ता थिए। सन् २०१५ यसका प्रयोगकर्ता ३० करोड पुगेका थिए। तर, स्काइप मोबाइलमा प्रयोग गर्न उपयुक्त भएन।

जब माइक्रोसफ्ट समस्या समाधान गर्न तयार भयो, प्रयोगकर्ताका लागि विश्वसनीयताको दुःस्वप्न मात्र बाँड्यो। म्यासेजिङ र भिडियो फङ्सनहरू एकीकृत गर्दै स्काइपलाई बारम्बार डिजाइन गरेर प्रयोगकर्ताका लागि झनै समस्याग्रस्त बनाइदियो।

कोरोना महामारी देखापर्दासम्ममा स्काइपका मात्र दुई करोड ३० लाख प्रयोगकर्ता बाँकी थिए। महामारीका बेला त्यो आँकडा सात करोडसम्म पुग्यो। तर, स्काइपले जुमसँग प्रतिस्पर्धा गर्न असफल रह्यो। प्रयोग गर्नै नजान्नेहरूका लागि पनि ‘जुम’ प्रयोग गर्न सजिलो थियो। र, यसमा थप केही समस्या थिएनन्।

दर्जनौँ मानिस एकसाथ जुम स्क्रिनमा देखापर्न सक्छन् तर स्काइपमा त्यो सम्भव छैन। मानिसहरूलाई कुराकानीमा आमन्त्रित गर्न पनि सजिलो थियो। किनकि, नयाँ प्रयोगकर्ताहरूलाई जुममा सामेल हुन केवल एउटा इमेल आवश्यक हुन्थ्यो।

महामारीको समयमा जुम प्रयोगकर्ता एक करोडबाट बढेर ३५ करोड पुगेका छन्। अहिले ‘जुम’ नेतृत्वदायी अवस्थामा छ। तथापि, यसले स्काइपको हकमा माइक्रोसफ्टले गरेको गल्तिबाट बच्नुपर्छ। कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउनका कारणले मात्र यसको भविष्य निर्धारण हुँदैन।

(ब्लुमबर्गबाट)
 

प्रकाशित मिति: ०७:१४ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्