तालहरूबाट गायब हुँदैछ अक्सिजन

जीवनका लागि अक्सिजन अत्यावश्यक छ। यो वैकल्पिक तत्त्व होइन, अनिवार्य हो। पृथ्वीमा बढ्दो गर्मीका कारण तालहरूबाट अक्सिजन दू्रत गतिमा घट्दो छ। त्यसबाट जलचर र पर्यावरणलाई जोखिममा पारिरहेको छ।

सन् १९४१ देखि २०१७ बीचमा विश्वको शीतोष्ण क्षेत्रका तीन सय ९३ वटा तालबाट लिइएका नमूना परीक्षणमा सतह र गहिराइको पानी दुवैमा घुलनशील अक्सिजनको मात्रामा व्यापक गिरावट देखिएको शोधकर्ताहरूले बताएका छन्।

पानीको ‘बायो–केमेस्ट्री’देखि मानिसको स्वास्थ्यसम्म यी तालहरूमा निर्भर छन्। अक्सिजनको मात्रामा देखिएको यो परिवर्तनले ती सबैमा ठूलो प्रभाव पार्न सक्ने शोधकर्ताहरूको भनाइ छ। उनीहरूका अनुसार यसबाट मिथेन ग्यास उत्पादन गर्ने जीवाणुबाट ग्रिन हाउस ग्यासको उत्सर्जन पनि बढाउन सक्छ।

‘सबै जीवन अक्सिजनमा निर्भर छन्। तालहरू जलचरका लागि आहारा पाउने ठाउँ र प्रणाली हुन्। तिनै तालमा अक्सिजनको मात्रा घट्नु जलचरका विभिन्न प्रजाति लोप हुने जोखिमको संकेत हो,’ न्युयोर्कस्थित रेन्सलिय पोलिटेक्निक इन्स्टिच्युटका वातावरणीय प्राणीशास्त्री केभिन रोजले भने, ‘तालहरूले समुद्रको तुलनामा २.७५ देखि ९.३ गुणा अक्सिजन गुमाइरहेका छन्। यस्तो गिरावटले समस्त पर्यावरणलाई जोखिममा पार्नेछ।’

पानीको तापमान तथा घुलित अक्सिनको ४५ हजारभन्दा बढी प्रोफाइलमा शोधकर्ताहरूले चार दशकयता सहतको पानीमा घुलित अक्सिजनमा औसत ५.५ प्रतिशत गिरावट आएको पत्ता लगाएका छन्। भौतिक विज्ञानको नियम नै छ, जब तातो हावा तालको माथिल्लो सतहमा ठोकिन्छ, सतहको पानीलाई तातो बनाउँछ। र, तातो पानीमा ग्यासहरूलाई घुल्न बढी समय लाग्छ।

एकै समयमा गहिराइको पानीमा घुलित अक्सिजनमा औसत १८.६ प्रतिशत गिरावट देखिएको छ। यो तापक्रममा परिवर्तन भएको नभई तालको माथिल्लो सतह लामो समयसम्म तातो रहँदा पानीका तहहरूमा मिश्रण कम हुँदै गएको हो। यस्तै अवस्था महासागरहरूमा पनि छ।

तालहरूका विभिन्न सतहबाट लिइएका नमूनामध्ये एक चौथाइमा तापक्रम र अक्सिजन दुवैमा वृद्धि पाइएको भएको पाएका छन्। यी तालहरूमा ‘साइनो ब्याक्टेरिया’को प्रभुत्व हुन्छ। त्यस्ता ब्याक्टेरिया खेत र सहरी क्षेत्रबाट आउने पोषकतत्त्वका कारण उत्पन्न हुन्छन् र आफ्ना लागि आफैँ अक्सिजन उत्पादन गर्छन्।

‘तालहरू पर्यावरणीय परिवर्तन र पर्यावरणमा सम्भावित खतराको सूचना दिने पहरेदार हुन्। किनकि तालहरूले आफू आसपासको परिदृश्य र वातावरणमा आउने परिर्वतनलाई संकेत गर्छन्,’ रेन्सलिय पोलिटेक्निक इन्स्टिच्युटका अक्वाटिक इकोलोजिस्ट स्टिेफन जेनले भने, ‘हामीले पायौँ असमान रूपमा बायो डाइभर्स प्रणाली तीव्र रूपमा बढिरहेको छ। वायुमण्डलीय परिवर्तनले इकोसिस्टमलाई कसरी प्रभावित गरिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ।’

तालहरूले हिमतालबाहेकको तीनदेखि चार प्रतिशत हिस्सा ओगटेका छन्। तालहरू इकोसिस्टमका समृद्ध क्षेत्र हुन्, जसले मानिससहितका प्राणीलाई बासस्थान र बाँच्नका लागि प्रशस्त स्रोत उपलब्ध गराउँछन्।

तालहरूमा अक्सिजन घट्दै जाँदा मिथेन प्रसारक ब्याक्टेरियाका लागि सहज वातावरण तयार हुन्छ। यो अवस्था महासागरहरूमा देखिएको भन्दा निराशाजनक अवस्था तालहरूमा देखिएको शोधकर्ताहरूको भनाइ छ। तर, यसलाई शोधकर्ताहरूले सुरुवाती परिवर्तन मात्र बताएका छन्।

रेन्सलिय पोलिटेक्निक इन्स्टिच्युटको स्कुल अफm साइन्सका डिन ब्रेनम्यानका अनुसार जलवायु परिवर्तनका कारण महासागरको नूनिलो पानीभन्दा त्यसबाहिरको ताजा पानीमा बढी समस्या देखिएको छ। यसबाट पिउने पानीको आपूर्ति व्यवस्था र त्यसका लागि आवश्यक इकोसिस्टम खतरामा छ भन्ने पुष्टि भएको उनी बताउँछन्। भन्छन्, ‘यो अनुसन्धानले जलवायु परिवर्तनका सन्निकट चुनौति र हानिकारक प्रभावसँग जुध्न मद्दत गर्ने विश्वास छ।’

(साइन्स अलर्ट डट कमबाट)
 

 Published Date: Friday, 11th June 2021 5:58:00 am