कतार विश्वकपमा खेलाडीको सांकेतिक विरोधको अर्थ र अन्तर्य

२ फेब्रुअरी ०२१ मा द गार्जियनको एक रिपोर्टअनुसार १० वर्षअघि कतारले विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाएसँगै त्यहाँ पुगेका भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका ६ हजार पाँच सयभन्दा बढी कामदारको मृत्यु भइसकेको छ। यस्तै, संयुक्त राष्ट्रसंघको सन् २०१९ को रिपोर्ट अनुसार आप्रवासी कामदारको दुरुपयोग र शोषणका साथै ‘अधिक गर्मी’का कारण मृत्युदर उच्च भएको हो।

उक्त तथ्यांक सम्बन्धित मुलुकका सरकारबाट संकलन गरिएको हो। कामदारको मृत्युलाई भवन निर्माणसँग मात्र जोडिँदैन। विश्वकप तयारीका लागि गर्नुपर्ने संरचना निर्माणमा ती कामदार ल्याइएका थिए।

सन् २०२२ का लागि तय भएको विश्वकपसँग जोडिएको कामदार मृत्युको कुल संख्या बढी हुन सक्छ। र, यस तथ्यांकमा फिलिपिन्सलगायत अन्य मुलुकका कामदार संख्या सामेल छैन। कामदारको मृत्युका घटनामा पोस्टमार्टम रिपोर्ट उपलब्ध गराइएको छैन। अधिकांश मृत्युलाई ‘स्वाभाविक’को आवरण दिइएको छ।

‘द गार्जियन’ र एमनेस्टी इन्टरनेसनलले कतारमा कामदारको मृत्युमा पारदर्शिताको अभाव औँल्याएका छन्। त्यसलगत्तै जिब्राल्टरविरुद्धको छनोट खेलमा नर्वेका खेलाडीहरू मानव अधिकारको वकालत गरिएको टी–सर्टमा मैदानमा उत्रिए। यस्तै, जर्मनीका खेलाडीले पनि २५ मार्चमा आइसल्यान्डविरुद्धको खेलअघि मानव अधिकारको वकालत गरिएको टी–सर्ट प्रदर्शन गरे।

डेनमार्क र नेदरल्यान्डस्का राष्ट्रिय टोलीले पनि सोही तरिका अनुसरण गरेका थिए। के यी सबै विश्वकप बहिष्कारको सम्भावित संकेत हुन् ? यद्यपि, नर्वे विश्वकपमा छनोट नहुन सक्छ तर यस आन्दोलनको चाखलाग्दो पक्ष हो, खेलाडीहरू आफैँले विरोध सुरु गर्नु।

विश्वकप वा ओलम्पिकजस्ता ठूला प्रतियोगिता बहिष्कार गर्न धेरै प्रयास यसअघि पनि भएका छन्। तीमध्ये केही प्रयास सफल पनि भएका छन्। यस्ता ठूला कार्यक्रमले विश्वभरका दर्शकको नजर आयोजक मुलुकतर्फ हुन्छ। त्यसरी नै अधिकारकर्मीहरूको चासो पनि आयोजक देश र सहरतिरै हुन्छ। 

तानाशाही सरकारहरूलाई आफ्नो अपराध ढाकछोप गर्ने र अन्तर्राष्ट्रियस्तरमा सद्भाव बटुल्ने बहाना पनि दिन्छन्, कहिलेकाहीँ यस्ता कार्यक्रमले। जस्तो– सैन्य सरकारले सत्ता हत्याएको दुई वर्षपछि सन् १९७८ मा विश्वकप आयोजना भएको थियो। फ्रान्सको राष्ट्रिय टोलीलाई विश्वकपमा भाग लिन नजान मनाउने उद्देश्यले समिति नै बन्यो। उक्त समितिको उद्देश्य फ्रान्ससहितका युरोपेली मुलुकलाई विश्वकप बहिष्कार गर्न प्रेरित गर्ने थियो।

विश्वकपको फाइनल खेल रिभर प्लेट स्टेडियममा खेलाइएको थियो, जो सैन्य सरकारले यातना दिन बनाएको सबैभन्दा ठूलो यातना गृहबाट एक किलोमिटर टाढा थियो। विश्वकप बहिष्कार असफल भए पनि युरोपेली अभियानले सैन्य सरकारको अपराधविरुद्ध सचेतना बढायो।

मानवशास्त्री एडुआर्डो पी. आर्चेटीका अनुसार अर्जेन्टिनामा त्यस प्रतियोगिताले दुई प्रकारको भावना विकास गर्यो‍। पहिलो– अर्जेन्टिनाले विश्वको सबैभन्दा ठूलो खेल पुरस्कार हात पा¥यो। र, दोस्रो– चरम यातनाका बीच ३० हजार नागरिकको हत्याबाट उत्पन्न पीडा भुल्ने अवसर अर्जेन्टिनाका नागरिकले पाए।

खेल बहिष्कारको सबैभन्दा ठूलो असफलता सन् १९३६ मा मिलेको थियो। त्यस वर्ष आयोजित बर्लिन ओलम्पिकलाई अमेरिकाका सक्रिय अधिकारकर्मी समूहले जर्मनीको यहुदीविरोधी कानूनको विरोध गर्दै खेल बहिष्कार गर्ने अभियान चलाएका थिए। तर, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष हेनरी डे बेलेट लेटौरले अमेरिकी ओलम्पिक समितिका अध्यक्ष एभरी बु्रन्डेजकोे समर्थन बटुल्दै खेलहरू राजनीतिबाट स्वतन्त्र हुनुपर्ने धारणा मजबुत बनाए र बहिष्कार हुन दिएनन्।

यस्तै, रुसको समलिंगीविरोधी कानूनविरुद्ध सन् २०१४ मा सोची ओलम्पिक बहिष्कार गर्न आह्वान गरिएको थियो। तर, त्यस्तो आह्वान ओलम्पिक नियमको विरुद्ध थियो। त्यो बहिष्कारको आग्रह ओलम्पिक स्थलमा भएको हजारौँ उज्बेकिस्तानका कामदारसँग पनि जोडिएको थियो।

सन् १९८० मा मस्को र १९८४ मा लस एन्जलसका खेल भने बहिष्कारका दुई सफल उदाहरण हुन्। त्यतिबेला अमेरिकी प्रशासनले लिएको कडा राजनीतिक अडानले बहिष्कार सफल भएको थियो। सन् १९८० का खेलहरू ६२ मुलुकले बहिष्कार गरे। सोभियत संघले अफगानिस्तानमा आक्रमण गरी कब्जामा लिएको विरोधमा उक्त खेल बहिष्कार गरिएको थियो।

र, त्यो सन् १९३६ को खेलमा भाग लिएका कारण भएको गल्ती सुधार्ने अवसर पनि थियो। तथापि, त्यसअघिदेखि नै अमेरिकी प्रशासनले अफगानिस्तानमाथि हमलाको विरोध गर्दै आएको थियो। त्यसरी नै सन् १९८४ को खेल सोभियत संघआबद्ध मुलुकले बहिष्कार गरेका थिए।

कतारमाथि सुरुदेखि नै सबैको नजर छ। कुनै फुटबल इतिहास नभएको राष्ट्र र एक कमजोर राष्ट्रिय टोलीको सबैभन्दा महत्त्वपूर्ण फुटबल प्रतियोगिताको आश्चर्यजनक पुरस्कार, टुर्नामेन्टको पुरस्कारमा अनैतिक व्यवहार र भ्रष्टाचारको परम्परागत आरोप, ४० डिग्री सेल्सियसको उच्च तापमानसहित ग्रिष्मकालीन प्रतिस्पर्धा खेल्न सकिने सम्भावना, पर्यावरणीय मापदण्डविपरीत निर्मित स्टेडियमहरू, नयाँ विमानस्थल, सडक, होटेलहरू र नयाँ सहर, जसले विश्वकप फाइनल आयोजना गर्नेछ र यस क्षेत्रमा विश्वकप सम्पन्न गर्न कट्टरपन्थी समूहले समर्थन गरेको आरोप अनि विश्वकप तयारीमा भएको ठूलो मानवीय क्षति।

तथापि, खेलाडीले सुरु गरेको बहिष्कारको संकेतले सार्थकता पाउनेमा शंका छ। किनकि, यो अमेरिका र सोभियत संघबीच शीतयुद्धको समय पनि होइन।

ढद टेलिग्राफबाटण
 

 Published Date: Wednesday, 9th June 2021 6:21:00 am