Kathmandu Press

एनेस्थेसियाको गहिरो निद्रापछि मस्तिष्कको ‘रिबुट’

कम्प्युटरको रिबुट त देखे–सुनेकै विषय हो। यस्तै, रिबुट मानव मस्तिष्कमा पनि हुने वैज्ञानिक अध्ययनबाट देखिएको छ। खासगरी, एनेस्थेसिया दिई कोमा या गहिरो निद्रामा...
एनेस्थेसियाको गहिरो निद्रापछि मस्तिष्कको ‘रिबुट’

कम्प्युटरको रिबुट त देखे–सुनेकै विषय हो। यस्तै, रिबुट मानव मस्तिष्कमा पनि हुने वैज्ञानिक अध्ययनबाट देखिएको छ। खासगरी, एनेस्थेसिया दिई कोमा या गहिरो निद्रामा पुगेको बिरामी होशमा आएपछि मस्तिष्कको रिबुट हुने उनीहरूको भनाइ छ।

वैज्ञानिकहरूले ३० जना वयस्कलाई तीनघण्टाका लागि एनेस्थेसिया दिएर र ३० जनालाई नदिई यसको मापन गरेका हुन्। अध्ययनबाट एनेस्थेसिया दिएपछि मानिस होशमा आउँदा मस्तिष्क कसरी लयमा फर्किन्छ भन्ने भित्री पाटो केलाइएको थियो।

अध्ययनअनुसार एनेस्थेसियाबाट होशमा आउँदा एकपटकमा एउटा खण्डमा मात्र मस्तिष्क ‘स्विच’ हुन्छ। र, विस्तारै पूर्ण होशमा आउँछ।

पेन्सिल्भेनिया विश्वविद्यालयका एनेस्थेसियोलोजिस्ट म्याक्स केल्जले भने, ‘सुरुवातमा यो आश्चर्यजनक थियो। तर, विकासवादी शब्दमा यो बुझ्न सकिन्छ कि उच्च अनुभूतिलाई छिटो ठीक हुनु आवश्यक हुन्छ। उदाहरणका लागि कोही खतरापूर्ण अवस्थाका लागि जाग्दैछ भने प्रिफन्टल कर्टेक्सजस्ता संरचनाले तत्कालीन स्थितिको वर्गीकृत गर्छन्। र, तत्काल कार्ययोजना बनाउँछन्।’

मस्तिष्कमा के भइरहेको छ भन्ने जान्न वैज्ञानिकहरूले धेरै तरिका अवलम्बन गरेका थिए। त्यसमध्ये एउटा ‘इलेक्ट्रोइन्सेफेलोग्राफी’ (ईईजी) पनि थियो। परीक्षणमा मस्तिष्कको प्रतिक्रियाको गति, स्मृति फर्किने क्षमतालगायत मापन गरिएको थियो।

ईईजी विश्लेषणपछि शोधकर्ताहरूले मस्तिष्क होशमा आउन थालेपछि अगाडिका भागहरूले समस्या समाधान गर्ने, पुनः स्मृतिमा फर्किने र आफूलाई नियन्त्रणमा राख्नेलगायत काम फटाफट गरेको पाइयो।

एनेस्थेसिया दिइएका मानिसलाई पूर्ण होशमा आउन करिब तीन घण्टा लाग्यो। त्यसक्रममा शोधकर्ताले सहभागीहरूको सुत्ने तालिका पनि निरन्तर परीक्षण गरेको थियो। र, अध्ययनबाट एनेस्थेसिया दिइएकाहरूको सुत्ने शैलीमा कुनै नकारात्मक असर परेको पाइएन।

‘यसबाट स्वस्थ मानव मस्तिष्क लामो समय एनेस्थेसियामा रहँदा लचिलो बन्छ भन्ने पत्ता लाग्यो,’ वासिङ्टन विश्वविद्यालयका एनेस्थेसियोलोजिस्ट माइकल अभिडान भन्छन्।

अधिकांश शल्यक्रिया एनेस्थेसियाबिना सम्भव छैन। एनेस्थेसिया मस्तिष्कको चेतना बन्द प्रभावकारी तरिका हो। अभिडानका अनुसार एनेस्थेसियाको व्यापक प्रयोगका बावजुद यसले कसरी काम गर्छ, मस्तिष्कले त्यस्ता औषधिलाई कसरी व्यवहार गर्छ भन्नेबारेमा धेरै विचार छन् तर अहिलेसम्म ठोस प्रमाण उपलब्ध छैन।

(साइन्स अर्लट डट कमबाट)
 

प्रकाशित मिति: ०६:२८ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्