Kathmandu Press

छिमेकी

मेरो मनमा एउटा विचार आयो– उनकी प्रियतमा काल्पनिक होइनन्। केही समयदेखि उनले एक विधवा नारीलाई टाढाबाटै प्रेम गरिरहेका छन्, तर कसैलाई बताएका छैनन्।
छिमेकी

मेरी छिमेकी बाल–विधवा हुन्। मानौँ उनी जाडोको शीतले भिजेको पतझरी पारिजात हुन्। सुहागरातका फूलहरूको बिछ्यौनाका लागि नभएर उनी केवल देवपूजाका लागि समर्पित थिइन्।

मैले मनमनै उनको पूजा गर्ने गर्थें। उनीप्रति मेरो मनोभाव कस्तो थियो, त्यसलाई मैले पूजाका अतिरिक्त कुनै अन्य सुबोध शब्दमा प्रकट गर्न चाहन्न, अरु व्यक्तिसँग र आफैँसँग पनि।

नवीन माधव मेरा अति नै प्रिय तथा घनिष्ठ मित्र हुन्। उनलाई पनि यसबारे केही थाहा छैन। यस प्रकार मैले आफ्नो हृदयमा जुन आवेशलाई लुकाएर स्वच्छ–निर्मल बनाइराखेको थिएँ, त्यसमा भित्रभित्रै गर्वको अनुभव गर्थें।

Hardik ivf

परन्तु, पहाडी नदीजस्तै मनको वेग आफ्नो जन्म–शिखरदेखि बन्धक रहन चाहँदैन। कुनै न कुनै मार्ग अपनाएर त्यसले बाहिर निस्कने कोसिस गर्छ। यसमा ऊ सफल भएन भने भित्रभित्र पीडा सिर्जना गर्छ। यसैले मैले यो सोचिरहन्थेँ, कवितामा आफ्नो भाव प्रकट गर्नेछु, तर कुण्ठाको लेखन कुनै किसिमले अगाडि बढ्न चाहँदैनथ्यो।

बडो आश्चर्यको विषय त यो हो कि ठीक यही समय मेरा मित्र नवीन माधवलाई अचानक निकै प्रवल वेगबाट कविता लेख्ने सोख बढ्न लाग्यो। मानौँ, अचानक भूकम्प आएको छ।

ती बिचारामाथि यस्तो दैवी विपत्ति पहिले कहिल्यै आएको थिएन, यसकारण उनी यस नौलो हलचलका लागि बिल्कुल तयार थिएनन्। उनीसँग छन्द, तुक आदि पुँजी थिएन। फेरि पनि उनको मन सानो भएन, यो देखेर म दंग परेको थिएँ। मानौँ, बुढेसकालकी नयाँ दुलहीजस्तै उनीमाथि कविता हाबी भएको थियो। छन्द, तुक आदिको सहायता र सम्पादनका लागि नवीन माधव मेरो शरणमा आउनुप¥यो।

कविताको विषय नयाँ थिएन, तर पुरानो पनि थिएन। अर्थात् त्यसलाई बिल्कुल नवीन भन्न सकिन्छ, र काफी पुरातन पनि। त्यहाँ प्रेमका कविता थिए, प्रियतमा प्राप्तिको उद्देश्यमा।

उनलाई एक धक्का लगाउँदै मैले उसलाई सोधेँ, ‘आखिर को हुन् ? बताऊ न !’

नवीनले हाँसेर भने, ‘उनी को हुन् भनेर अझै थाहा पाउन सकेको छैन।’

नयाँ लेखकलाई सहयोग गर्दा मलाई बडो सन्तोष मिल्यो। नवीनकी काल्पनिक प्रियतमाप्रति मैले आफूभित्र थुनिएको आवेगको प्रयोग गरेँ।

चल्ला नभएकी कुखुरीले हाँसको अण्डा पाई भने, बच्चा कोरल्नका लागि जसरी त्यसलाई छातीले छोपेर बस्छे, त्यसरी नै म अभागीले पनि आफ्नो हृदयको सारा ताप दिएर माधवका भावहरूलाई जगाउन लागेँ। अपरिपक्व लेखकका रचनालाई मैले यस्तो जोशले सम्पादन गर्न लागेँ कि त्यो करिब करिब १५ प्रतिशतजस्तो मेरै रचना बन्न पुग्यो।

नवीनले आश्चर्यचकित हुँदै भने, ‘ठीक यही कुरा त मैले भन्न चाहेको थिएँ, तर भन्न जानेको थिइनँ। तिमीलाई यी सबै भावना कहाँबाट आउँछ ?’

मैले पनि कविले जस्तै जवाफ दिएँ, ‘कल्पनाबाट। यसको कारण यो हो कि सत्य शब्दरहित हुन्छ र कल्पना वाचाल। सत्य घटनाहरूले भावको स्रोतलाई दबाएर राख्छ, कल्पनाले त्यसको मार्गलाई मुक्त गरिदिन्छ।’

नवीनले गम्भीर मुहारमा केहीबेर सोच्छन् र भन्छन्, ‘देखिरहेको छु, कुरा तिमीले भनेजस्तै हो।’

केहीबेर सोचेर उनी फेरि बोले, ‘ठीक भन्यौ, सही कुरा हो।’

पहिले नै बताइसकेको छु, मेरो प्रेममा एक प्रकारको डर–संकोच छ। त्यसैले मैले कुनै पनि आफ्ना कुरा लेख्न सकिनँ। नवीनलाई पर्दाजस्तै बीचमा राखेपछि मेरो लेखनीले आफ्नो मुख खोल्न सक्यो। मानौँ, रचनाहरू रसले भरिएका थिए, तापले फुट्न लागे।

नवीन बोले, ‘यो त तिम्रै रचना भयो। यसलाई तिम्रै नामबाट प्रकाशित गर।’

मैले भनेँ, ‘तिमीले पनि खुब भन्यौ, मूल रचना त तिम्रै हो, मैले त त्यसलाई थोरै यताउता बनाएको मात्रै हुँ।’ बिस्तारै बिस्तारै नवीनले पनि त्यस्तै सोच्न थाले।

ज्योतिर्विदले जसरी तारा उदाउने प्रतीक्षामा आकाशतिर एकोहोरो हेरिरहेको हुन्छ, मैले पनि त्यसरी नै कहिलेकाहीँ आफ्नो अगाडिको घरको झ्यालतिर हेर्ने गर्थें, यस कुरालाई अस्वीकार गर्न सक्दिनँ। कहिलेकाहीँ भक्तको त्यो बेचैनीले हेर्नु सार्थक हुन्छ। त्यस कर्मयोगमा डुबेको ब्रह्मचारिणीको सौम्य मुखश्रीबाट शान्त शीतल ज्योति झलमल भएर क्षणभरमै मनका सारा बेचैनी हराउँथ्यो।

किन्तु, त्यस दिन सहसा मैले त्यो के देखेँ ! मेरो चन्द्रलोकमा के अहिले पनि ज्वालामुखी उठिरहेको छ, त्यहाँको सुनसान समाधिमा डुबेको पहाडी गुफाजस्ता सारा अग्निदाह के पूर्ण रूपमा अझै निभेको छैन ?

त्यस वैशाखको मध्य दिनमा पूर्वी दिशामा बादल मडारिएको थियो। त्यस दिन बिजुलीको तेज चमकका साथ मेरी छिमेकी झ्यालछेउ उभिएकी थिई। त्यस दिन मैले उसका आँखामा टाढासम्म फैलिएको पीडालाई देखेँ। यसको मतलव, मेरो त्यस चन्द्रलोकमा अझै पनि ताप छ। अझै पनि त्यहाँ तातो हावा बहन्छ। त्यो देवताका लागि होइन, मानिसका लागि हो।

त्यस दिन बिजुलीको प्रकाशमा उसका दुई आँखाको तेज छटपटाएका पक्षीजस्तै उडिरहेका थिए, स्वर्गतिर होइन, मानव हृदयको गुँडतिर।

उत्सुक आकांक्षाले चम्किएका ती दृष्टिलाई देखेपछि आफ्नो बेचैन मनलाई काबुमा राख्न मलाई मुस्किल भयो। केवल अर्काको खेस्रा कवितालाई सम्पादन गरेर मेरो मन भरिएन। मभित्र पनि कुनै प्रकारको काम गर्ने चञ्चलता पैदा भयो, तब मैले यो निश्चय गरेँ कि बंगालमा पनि विधवा–विवाह प्रचलित गर्नका लागि मैले सारा कोसिस गर्नेछु। केवल व्याख्यान र लेख लेखेर होइन, आर्थिक सहायता दिनका लागि पनि म अगाडि बढ्नेछु।

नवीनले मसँग बहस गर्न लागे, ‘चिर वैधव्य (विधवापन) मा एक पवित्र शान्ति छ। एकादशीको धमिलो चाँदनीबाट प्रकाशित समाधिभूमि जस्तै त्यसमा एक महान् सौन्दर्य छ। विवाहको सम्भावनाले मात्र त्यो सौन्दर्य नष्ट हुँदैन ?’

यस्ता कवित्वका कुरा सुनेर मलाई रिस उठ्छ। खानाको अभावमा गलेर जो अकालमा मर्न बाध्य छन्, तिनको अगाडि खाइलाग्दो मानिस आएर भोजनको भौतिकताप्रति घृणा प्रकट गर्दै फूलको सुगन्ध र पक्षीका गीतबाट उनीहरूको पेट भर्न चाहन्छ भने कस्तो लाग्छ ?

मैले रिसमा आएर भनेँ, ‘सुन नवीन ! कलाकार भन्छन्, खण्डहरको पनि एक सौन्दर्य हुन्छ। तर कुनै घरलाई केवल चित्रमा देखेर मात्रै काम चल्दैन, किनभने त्यस घरमा बस्न मिल्नुपर्छ। कलाकारले जेसुकै भनून्, खण्डहर घरको मर्मत हुनैपर्छ। टाढा बसेर तिमीले वैधव्यका बारेमा जति कविता लेख्न चाहना राख्छौ, तिमीले यो याद राख्नुपर्छ कि त्यसमा आकांक्षाले भरिएको एक मानव हृदय आफ्नो विचित्र वेदनाका साथ वास गर्छ।’

मलाई थाहा थियो, मैले नवीनलाई कुनै किसिमले आफ्नो पक्षमा ल्याउन सक्दिनँ, त्यसैले मैले त्यस दिन अलि तातेर कुरा गरिरहेको थिएँ। तर मैले सहसा देखेँ, मेरो भाषणको अन्तमा उनले एक गहिरो सास लिए र मेरा सारा कुरा माने। मलाई अझै धेरै राम्रा–राम्रा कुरा गर्नु थियो, तर उनले त्यो मौका दिएनन्।

लगभग हप्ता दिनपछि नवीन आएर भने, ‘तिमी मद्दत गर्छौ भने म स्वयं विधवा विवाह गर्न तयार छु।’

मेरो मनमा एउटा विचार आयो– उनकी प्रियतमा काल्पनिक होइनन्। केही समयदेखि उनले एक विधवा नारीलाई टाढाबाटै प्रेम गरिरहेका छन्, तर कसैलाई बताएका छैनन्।

जुन मासिक पत्रिकामा नवीन र मेरा कविता प्रकाशित हुन्थे, त्यो पत्रिका ठीकठीक ठाउँमा पुग्थ्यो। ती प्रकाशित कविता व्यर्थ भएनन्। बिनाभेट हृदय आकर्षित गर्ने यो उपाय मेरा मित्रले निकालेका थिए।


उनैको भनाइ यस्तो छ, उनले कुनै षड्यन्त्र गरेर यस्तो उपाय निकालेका थिएनन्। यहाँसम्म उनलाई थाहा थियो– ती विधवा नारीले पढ्न जानेकी थिइनन्। विनामूल्य मासिक पत्रिका उनले विधवाको दाइको सम्मानमा पठाउँथे। त्यो केवल मनलाई ढाढस दिने पागलपन थियो। उनलाई यस्तो लाग्थ्यो, देवताका लागि उनले पुष्पाञ्जलि चढाइरहेका छन्– त्यसलाई स्वीकार गरून् वा नगरून्।

केही बहानाका कारण विधवाका दाइसँग नवीनको मित्रता भएको थियो। नवीनको भनाइ छ, यसमा पनि उनको कुनै उद्देश्य थिएन। जसलाई प्रेम गरिन्छ, उसका नजिकका मान्छेको साथ पनि मधुर लाग्छ।

अन्तमा विधवाका दाइ सख्त बिरामी परे। यसै सिलसिलामा बहिनीसँग उनको भेट कसरी हुन्छ, यसको एक लामो कथा छ। कविसँग कवितामा वर्णित विषयका बारेमा कुरा भएपछि पनि कविताका बारेमा दुईबीच धेरै चर्चा भएको थियो। र, यो चर्चा छापिएको कवितामा सीमित थिएन, यस्तो भन्न सकिँदैन।

मसँग बहसमा हारेर नवीनले ती विधवालाई भेटेर विवाहको प्रस्ताव गरे। सुरुमा उनलाई कुनै प्रकारको स्वीकृति मिलेन। त्यसपछि उनले मेरा सारा युक्तिको प्रयोग गरी त्यसमा आफ्ना आँखाका दुई–चार बुँद आँसु मिलाएर सम्पूर्ण रूपमा हराइदिए। त्यसपछि विवाहको सबै कुरा तय भएको थियो, केवल विधवाका अभिभावकले केही रुपैयाँ मागेका थिए।

मैले भनेँ, ‘अहिले नै लिनू।’

नवीन बोले, ‘योसँगै अर्को पनि कुरा छ, विवाहपछि मलाई पिताजीले ५–६ महिना अवश्य खर्च दिन बन्द गर्नेछन्, तबसम्म दुवैका लागि आवश्यक खर्च तिमीले व्यवस्था गर्नुपर्छ।’

मैले मुखले नबोली एक चेक काटेँ र भनेँ, ‘अब त उसको नाम बताऊ। मसँग तिम्रो कुनै प्रतिस्पर्धा छैन भने उनको परिचय दिन तिमी के कुरासँग डराएका छौ ? म तिमीलाई छोएर कसम खान्छु, उसको नाममा मैले कुनै कविता लेख्नेछैन। लेखेँ भने पनि उसको भाइलाई नपठाएर तिमीलाई पठाउनेछु।’

नवीनले भने, ‘अरे यसमा मलाई कुनै डर छैन। विधवा विवाहको लाजका कारण मैले कसैसँग यस बारेमा चर्चा नगरेको हुँ। अब लुकाउन बेकार छ। उनी तिम्रै छिमेकी हुन्। २९ नम्बरमा बस्छिन्।’

मेरो हृदयपिण्ड फलामको वाष्पक हुुन्थ्यो भने त्यही क्षण विस्फोट हुन्थ्यो। मैले सोधेँ, ‘विधवा विवाहमा उनलाई कुनै आपत्ति छैन ?’

नवीनले हाँसेर भने, ‘अहिलेसम्म कुनै आपत्ति छैन।’

मैले सोधेँ, ‘केवल कविता सुनेर उनी मोहित भइन् ?’

नवीनले भने, ‘किन, मेरो त्यो कवितामा कुनै खराबी छैन नि ?’

मैले मनमनै भनेँ– ‘धिक्कार छ !’

धिक्कार कसलाई ? उनलाई, या मलाई या विधातालाई, तर धिक्कार छ !

(रचनाकालः सन् १९०१)
(रवीन्द्रनाथको कथा पडोसिनको नेपाली भावानुवाद।)

 

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, जेठ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्