प्राकृतिक जलस्रोतमा औषधिको रसायन, संकटमा जलचर

औषधिहरूमा रसायन व्यापक मात्रामा प्रयोग हुन्छन्। रोगको रोकथाम र उपचारका लागि औषधि अत्यावश्यक छन्। तर, त्यसरी औषधिमा प्रयोग हुने रसायन नदी, खोला र तालहरूमा व्यापक परिमाणमा मिसिएको भेटिनु चिन्ताको विषय हो। जस्ता प्राकृतिक जलमार्गमा मिसिएको छ भन्ने कुरा विश्वमा बढ्दो चिन्ताको विषय भएको छ।

प्राकृतिक जलस्रोतमा औषधिका रसायन फेला पर्नु खतरनाक हो? टक्सिकोलोजी र वातावरण विज्ञानसम्बन्धी चारजना विज्ञबाट यसको जवाफ खोज्ने प्रयास यसमा गरिएको छ।

प्राकृतिक जलस्रोतमा औषधि मिसावटको स्तर

अमेरिकामा गरिएको एक अध्ययनमा त्यहाँका ३० वटा राज्यका खोलानालाबाट संकलित ८० प्रतिशत पानीको नमूनामा उल्लेख्य परिमाणमा औषधिको अवशेष फेला पारेको छ। प्राकृतिक जलस्रोतमा औषधि मिलावटको मुद्दा केवल अमेरिकामा सीमित छैन, विश्वभर फैलिएको छ।

सन् २०१४ मा एक हजारभन्दा बढी अध्ययनको विश्लेषण गर्दा ७१ वटा मुलुकका जलस्रोतमा औषधिको अवशेष फेला पारेको थियो। त्यसक्रममा ६ हजारभन्दा बढी औषधिका रसायनहरू ताल, नदी र जमिनमुनिको पानीमा फेला पारेका थिए। तीमध्ये एन्टिबायोटिक, पेनकिलर, बिटा–ब्लकर, कन्ट्रासेप्टिभ हर्मोन्स र एन्टिडिप्रेसेन्ट्स थिए।

यसरी मिसिन्छन् औषधिजन्य रसायन

खोला, नदी र तालहरूमा औषधि मिसिने विभिन्न माध्यम छन्। तीमध्ये एउटा ढल हो। मानिसले प्रयोग गरेका औषधिमध्ये केवल रसायनको एक अंश शरीरमा अवशोषित हुन्छ, बाँकी बाहिर उत्सर्जन हुन्छ।

शौचालयमा फ्लस गरेर घरबाट बाहिरिने औषधिको अवशेष जमिनमुनिको पानीमा मिसिन सक्छ।

खेतीका क्रममा प्रयोग गरिएका औषधि पनि प्राकृतिक जलाशयमा मिसिन्छन्। खेती र पशुपालनमा एन्टिबायोटिक र हर्मोनको प्रयोग हुन्छ।

औषधि निर्माता उद्योगबाट पनि फर्मास्युटिकल रसायनहरू निस्किन्छन्। अध्ययनका क्रममा भारतमा धेरै औषधि उद्योगनजिक फोहोर पानीमा एन्टिबायोटिकको अवशेष उच्च पाइएको छ।

पोर्चुगलको अभेउरो विश्वविद्यालयका टक्सिकोलोजी विज्ञानका विज्ञ डा. बु्रनो नुनेजले भने, फोहोर पानीयुक्त ढललाई प्रशोधन केन्द्रमा सफा गर्ने प्रयास हुन्छ। तर, पानी प्रशोधन प्रक्रियाहरू औषधिका अवशेष जल पर्यावरणमा मिसिनका लागि रोक्ने गरी प्रभावकारी छैन।’

जलचरलाई कस्तो असर पार्छ?

पर्याप्त अध्ययन अभावमा फर्मास्युटिकल्सट निस्किने रसायनका अवशेषले जलचरको जीवनलाई कस्तो असर पार्छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न गाह्रो छ। यद्यपि, औषधि मिसावटले वन्यजन्तुमा विषाक्त प्रभाव पारेको केही उदाहरण छन्।

जस्तो– एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनाक प्राकृतिक जलस्रोतमा फेला परेको छ। यसले माछाको मृगौला, पेट र आन्द्रामा हानी पुर्या‍उँछ, जसकारण माछा मर्छन्। प्रयोगशाला परीक्षणका आधारमा मात्र वातावरणमा औषधिहरूको प्रभाव पूर्वानुमान गर्न सधैँ सम्भव पनि छैन।

डा. नुनेज भन्छन्, ‘यी औषधिहरू अन्य पदार्थसँग मिसिन सक्छन् र धेरै जलचरमा गम्भीर शारीरिक प्रभाव पार्छन्।’

फर्मास्युटिकल्सले जलचरको जीवनलाई अप्रत्यक्ष रूपमा हानी पु¥याउँछ। अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका वातावरण विज्ञानका विज्ञ डा. माइक ग्रेस भन्छन्, ‘अहिले पाइएको औषधीको मात्रा खतरनाक छ किनकि ती औषधिले खोला–नदीमा रहने जीव, प्रकाश संश्लेषण र पोषक चक्रजस्ता अत्यावश्यक पर्यावरणीय स्रोतमा घातक प्रभाव पार्छन्।’

उनका अनुसार विश्वभरको जलस्रोतमा पाइने औषधिजन्य रसायनलाई पर्यावरणीय विनाशको कारक मानिएको छ। यस्तो रसायनले भाले माछामा पोथीको जस्तो स्वभाव विकास गराएको पनि पाइएको छ। यस्तै, पोथी माछाको संख्या घटाएर जल जीवनमा असर पु¥याएको पनि अध्ययनमा देखिएको छ।

(साइन्स अर्लट डट कमबाट)
 

 Published Date: Friday, 28th May 2021 6:19:00 am