आधा घन्टा अघिसम्म उनी बोलेकी थिइन्, आइसियुमा लगेपछि ढुक्क थिएँ तर...
‘नेताको सिफारिसमा आएका कोरोना संक्रमितलाई डाक्टर आफैँ आएर हेर्थे, तर साधारण संक्रमितले गाह्रो भयो भनेर बोलाउन जाँदा पनि वास्ता गरेनन् ।’काठमाडौं, जेठ १३ : ३० वर्षीया राधिकालाई छाती दुख्न थालेपछि श्रीमान् राजाराम रावलले कैलाली अस्पताल पुर्याए । डोटी स्थायी घर भएका उनीहरु धनगढीमा पसल चलाउँदै आएका थिए । वैशाख १४ गते कैलाली अस्पतालमा परीक्षणपछि डाक्टरले निमोनिया भएको हुन सक्ने बताए । त्यसपछि थप उपचारका लागि राधिकालाई सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइयो । त्यहाँ परीक्षण गर्दा उनलाई कोरोना पजेटिभ देखिन्छ । ‘अस्पतालमा भर्ना भएको दुई दिनपछि वैशाख १७ गते कोरोना पजेटिभ रिपोर्ट आयो,’ राजारामले फोनमा भने, ‘त्यसपछि उनलाई प्रादेशिक अस्पतालले तयार पारेको कोरोना संक्रमितको वार्डमा राखियो ।’
राजारामका अनुसार, कोरोना संक्रमित भए पनि राधिकाको अवस्था वैशाख १७ गतेसम्म सामान्य थियो । अस्पतालमा धेरै जोखिम भएका र न्यून जोखिम भएका संक्रमितलाई एकै ठाउँमा राखिएको थियो । संक्रमितलाई कुर्न बसेका कुरुवा र संक्रमितका लागि शौचालय एउटै थियो । ‘त्यति मात्रै होइन, कोरोना संक्रमितलाई निकै लापरबाही तरिकाले राखिएको थियो । पिउने पानी, हात धुनका लागि साबुन, नुहाउने ठाउँ केही थिएन,’ उनले भने ।
१८ गते राधिकाको स्वास्थ्यमा समस्या देखिन थाल्यो । राजारामले पटक–पटक डाक्टर, नर्सलाई बिरामीलाई हेरिदिन आग्रह गरिरहे । तर, उनको आग्रहको सुनुवाइ भएन । ‘उनलाई आधा अक्सिजन भएको सिलिन्डर दिइएको थियो, त्यसले एक दिन पनि पुग्दैनथ्यो,’ उनले भने, ‘अक्सिजन अभाव भएको जानकारी गराउन जाँदा डाक्टरले अस्पतालमै अक्सिजन सिलिन्डर अभाव भएको बताउँथे । नर्सले कहिले राति त कहिले बिहान अक्सिजन आइपुग्छ भन्थे । नर्स तथा डाक्टर कोही पनि कोभिड वार्डमा आउन त्यति रुचाउँदैनथे ।’
१८ गतदेखि राधिकालाई श्वास प्रश्वासमा समस्या हुँदै गयो । राजारामले अक्सिनजन र आइसियु बेडका लागि हारगुहार गरे, भौँतारिए । तर, अक्सिजन पाउन सकेनन् । राधिकाको स्वास्थ्य अवस्था झनै गम्भीर हुँदै गयो र उनलाई आइसियुमा राख्नुपर्ने थियो, तर तत्काल आइसियु बेड उपलब्ध भएन । ‘माथिल्लो तहमा पहुँच भएका नेता तथा डाक्टरका आफन्तले हाम्रै अगाडि समयमा आवश्यक स्वास्थ्य सामग्री र उपचार पाइरहेका थिए । तर, हाम्रो कुरा कसैले सुन्दैनथ्यो,’ राजारामले भने, ‘आइसियुमा राखिदिन अस्पताल, स्थानीय तह, नर्स सबैसँग आग्रह गरेँ, कसैले सहयोग गरेनन् । डाक्टरले आइसियु बेड खाली छैन भन्थे ।’
उपचारका क्रममा मृत्यु भएको शवलाई हटाउन नसकिएकाले तत्काल आइसियु खालि गर्न नसकिएको डाक्टरको भनाइ हुन्थ्यो । डाक्टरहरूलाई निकै आग्रह गरेपछि वैशाख १९ गते २ बजेतिर राधिकालाई आइसियुमा लगियो ।
राधिकालाई आइसियुमा राखेर राजाराम र आफन्त बाहिर कुरिरहेका थिए, भित्र जान उनीहरुलाई अनुमति थिएन । आइसियु बेड पाएपछि राजाराम ढुक्क थिए । श्रीमतीलाई निको हुने वा डाक्टरबाट सुखद खबर सुन्ने विश्वासमा उनी थिए । आधा घन्टामै उनको विश्वास तोडियो । ‘आइसियुमा जानु अघिसम्म उनी बोलेकी थिइन् । दालको सुप खाएकी थिइन्,’ राजाराम भावुक हुँदै भासिएको स्वरमा भन्छन्, ‘साढे २ बजे डाक्टरले उनी नरहेको खबर सुनाए । आधा घन्टा अघिसम्म बोल्दै थिइन् । आधा घन्टापछि मृत्यु भएको भन्दा पत्याउनै सकिनँ । समयमा उपचार गराउन पाएको भए उनी बाँच्थिन् । तत्कालै आइसियु बेड नपाउँदा नै उनको मृत्यु भएको हो ।’
डाक्टरलाई बिरामीको अवस्थाका बारेमा थाहा भए पनि गम्भीर बिरामीलाई समयमा सेवा दिन अस्पतालले लापरबाही गरेको राजारामको भनाइ छ । ‘नेताको सिफारिसमा आएका कोरोना संक्रमितलाई डाक्टर आफैँ आएर हेर्थे तर साधारण संक्रमितले गाह्रो भयो भनेर बोलाउन जाँदा पनि वास्ता गरेनन्,’ उनले भने, ‘साधारण नागरिकलाई सेवा दिने यहाँ अस्पताल, डाक्टर कोही रहेनछ ।’
सेती अस्पतालको कोरोना वार्डमा धेरै लापरबाही रहेको उनी बताउँछन् । ‘तर, त्यहाँको बारेमा बुझ्न जनप्रतिनिधि, मिडिया र नेता कोही पुगेका छैनन्,’ उनले भने ।
यसबीचमा उनीहरुका नौ वर्षीय छोरा कोरोना संक्रमित भए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । राधिका र राजारामको विवाह भएको यही जेठ २८ गते १० वर्ष पूरा हुन्थ्यो, तर उनले वैशाख १९ मै संसार छाडिन् । मृत्यु भएपछि उनले एकपटक हेर्न पनि पाएनन्, कोरोनाबाट मृत्यु भएको भनी उनीहरुलाई छुन र हेर्न दिइएन ।