विज्ञ भन्छन्- आउन सक्छ कोरोनाको तेस्रो लहर, अहिलेदेखि नै सचेत बनौँ
नयाँ-नयाँ भेरियन्ट र म्युटेसन देखिइरहँदा अझ जटिल प्रकृतिको संक्रमण फैलिन सक्ने भएकाले अहिलेदेखि नै पर्याप्त सजगता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।काठमाडौं, जेठ १२ : कोराना भाइरसका नयाँ भेरियन्ट र म्युटेसनका कारण बढेको संक्रमणलाई महामारीको दोस्रो लहरका रूपमा अथ्र्याइएको छ, नेपालमा। कतिपय मुलुकमा दोस्रो लहरको विनाशलिला सकिएर तेस्रो लहर सुरु हुने चेतावनी जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरूले दिइरहेका छन्। के नेपालमा पनि अहिलेभन्दा जटिल प्रकृतिको संक्रमणको लहर आउने सम्भावना छ त? विज्ञहरू महामारीको यस पाटोलाई पूर्णतः नकार्दैनन्। नयाँ-नयाँ भेरियन्ट र म्युटेसन देखिइरहँदा अझ जटिल प्रकृतिको संक्रमण फैलिन सक्ने भएकाले अहिलेदेखि नै पर्याप्त सजगता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
छिमेकी मुलुक भारतमा कोरोनाको डबल म्युटेन्टका कारण महामारीको लहर घातक देखिएको छ। भारतमा गत मार्चमा पहिलोपटक ‘डबल म्युटेन्ट भेरियन्ट’ फेला परेको थियो। संक्रमितको संख्या उच्च रहेका राज्यहरूबाट संकलित नमूना परीक्षणमा ‘बी.१.६१७’ नाम दिइएको उक्त भेरियन्ट देखापरेको थियो। सोही डबल म्युटेन्टका कारण कोभिड-१९ महामारीको दोस्रो र घातक लहर सुरु भएको भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका अधिकारीहरूको भनाइ छ।
उक्त भेरियन्ट तीव्र गतिमा फैलिएयता भारतमा अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्युदर देखिएको छ। र, अब महामारीको अझ जटिल अवस्था अर्थात् तेस्रो लहर सुरु हुन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरूले दिएका छन्। भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनको भनाइ मान्ने हो भने भाइरस देशभर ठूलो मात्रामा प्रसारित भएकाले तेस्रो चरण अवश्यम्भावी छ। उनले तेस्रो लहरका लागि तयारी थाल्न सरकारलाई आग्रह गरेका छन्।
गत फेब्रुअरीदेखि भारतमा संकलित नमूनाहरूको सिक्वेन्सिङ थालिएको थियो। अहिले संकलित नमूनामध्ये करिब एक प्रतिशतको सिक्वेन्सिङ गर्ने गरिएको छ। सिक्वेन्सिङकै क्रममा नयाँ भेरियन्ट पत्ता लागेको हो।
संकलित नमूनामध्ये करिब ६ प्रतिशतको सिक्वेन्सिङ गर्ने बेलायतमा पनि महामारीको तेस्रो लहर सुरु हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। एडिनबर्ग विश्वविद्यालयका संक्रामक रोगसम्बन्धी प्राध्यापक मार्क वुलहाउसले संक्रमण फेरि फैलिन थालेकाले बेलायतमा तेस्रो लहरको चेतावनी दिएका छन्। अर्थात्, बेलायतले महामारीको घातक दोस्रो लहर पार गरिसकेको छ।
हङकङमा पनि महामारीको तेस्रो लहर सुरु हुन सक्ने विज्ञहरूको शंका देखिन्छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि महामारीको तेस्रो लहर आउन सक्ने भएकाले सतर्क रहन देशवासीलाई आग्रह गरेका छन्।
नेपालमा कोरोना संक्रमण देखिएको १० माघ ०७६ मा हो। त्यसयता भाइरसको प्रकृतिमा निरन्तर देखिँदै आएको परिवर्तनका कारण महामारी नियन्त्रणमा लिन कठिन देखिएको जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्मा बताउँछिन्।
कोरोनाको पहिलो लहरमा संक्रमितमा रुघाखोकी, ज्वरोजस्ता सामान्य समस्या देखिएका थिए। भाइरसको प्रकृतिमा जति परिवर्तन देखिइरहेको छ, त्यति नै दीर्घकालीन गम्भीर समस्याहरू पनि देखापर्न थालेको सरुवा रोग विशेषज्ञहरू बताउँछन्। त्यससँगै मृत्युदर पनि बढ्दो छ।
‘कोभिड-१९ सुरु भएको समयको तुलनामा अहिले यसका धेरै नयाँ भेरियन्ट पुष्टि भइसकेका छन्,’ संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भन्छिन्, ‘तीमध्ये ब्राजिलियन भेरियन्ट, यूके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट र भेरियन्ट बी १.६१७ हुन्। भेरियन्ट बी १.६१७ अन्तर्गत पनि बी १.६१७.१, बी १.६१७.२ र बी १.६१७.३ गरी तीन प्रकृतिका नयाँ भेरियन्ट देखिएका छन्।’
यसरी भेरियन्ट परिवर्तन भइरहँदा कोभिड-१९ नियन्त्रणमा समस्या आएको उनी बताउँछिन्। डा. लुना पनि त्यसमा सहमत छिन्। ‘नयाँ भेरियन्टले पहिलाको भेरियन्टलाई विस्थापित गरी सबैतिर फैलिन थालेको छ। केही समयपछि यसबाट संक्रमितको संख्या कम देखिए पनि नियन्त्रण नभएमा फेरि नयाँ भेरियन्टका साथ तेस्रो लहर पनि आउने सम्भावना छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘कोरोनाको पहिलो लहर शान्त भएको बेला हामीले सबै नियन्त्रण भइसक्यो भनेर सोचेका थियौँ। तर, केही समय नबित्दै दोस्रो लहर सुरु भयो। अहिले भारतमा तेस्रो लहर सुरु हुन लागेको चेतावनी विज्ञहरूले दिइरहेका छन्।’
त्यसैले दोस्रो लहर शान्त भएपछि पनि अझ बढी सजगता आवश्यक हुने डा. भट्ट बताउँछिन्। भन्छिन्, ‘त्यसका लागि सरकारको मात्र भर नपरी स्वयंले अपनाउनुपर्ने आत्मअनुशासन पालना गर्नुपर्छ।’
कस्तो होला तेस्रो लहर? विज्ञहरूको बुझाइमा हाल उपलब्ध खोपहरूलाई नै छल्ने क्षमता भएको, शरीरका मुख्य अंगलाई कमजोर पार्ने, एकैपटक धेरै मानिसमा सर्न सक्नेलगायत जोखिमपूर्ण अवस्थाका नयाँ भेरियन्टहरू देखिन सक्छन्। ‘त्यसैले भाइरसको चेन ब्रेक गर्न जरुरी छ। त्यसका लागि लकडाउन होइन, मानिसले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ,’ डा. भट्ट भन्छिन्।
कोभिड-१९ को पहिलो लहरको तुलनामा दोस्रोमा युवा र बालबालिका बढी संक्रमित भएको पाइएको छ। पहिलो लहरमा ज्येष्ठ नागरिकमा बढी संक्रमण देखिएको थियो। त्यसैले तेस्रो लहरको कारक बन्ने भेरियन्टको प्रकृति कस्तो हुन्छ भनेर अहिल्यै भन्न नसकिने तर त्यो अहिलेभन्दा घातक हुन सक्ने डा. भट्टको भनाइ छ।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भने कोरोनाको तेस्रो लहर आउनका लागि खोप कति उपलब्ध हुन्छ, मापदण्ड के छ, मानिसले जनस्वास्थ्यका मापदण्ड कसरी पालना गर्छन् र लकडाउन कसरी अगाडि बढ्छलगायत विषयमा निर्भर रहने बताउँछन्।
कोरोनाको पहिलो लहर भोगेको सरकारले त्यसबाट महामारी नियन्त्रणका लागि केही नसिकेको उनी बताउँछन्। ‘अहिले देशभर करिब ४० प्रतिशत मानिस कोरोना संक्रमित भइसकेका छन्। त्यसैले लकडाउन गरेर मात्र कोरोना नियन्त्रण हुँदैन,’ उनी भन्छन्, ‘पहिलो लहरमा कोरोना संक्रमित दैनिक ६० जनामा झरिसकेका थिए। तर, नियन्त्रण अभावमा दोस्रो लहर पनि सुरु भयो।’
अहिले कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि क्रमशः बढेकाले सरकारले नयाँ संक्रमित बढ्नबाट रोक्न सक्नुपर्ने उनी बताउँछन्। उनका अनुसार अहिले देखिएका संक्रमितहरू निको हुन समय लाग्छ। तर, त्यतिन्जेल लकडाउन नै गर्नु उचित उपाय नभएको उनी बताउँछन्।
डा. दीक्षित भन्छन्, ‘लकडाउनकै कारण अहिले मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भएको छ। राज्यले गैरजिम्मेवारीपूर्ण कार्य गरेको छ।’
डा. भट्ट पनि कोरोना कहिले नियन्त्रण हुन्छ भन्ने यकिन गर्न नसकिने बताउँछिन्। र, यसले लामो समय दुःख दिन सक्ने औँल्याउँछिन्। सहज आवतजावतका कारण पनि यो भाइरस तत्काल नियन्त्रण हुन सक्ने अवस्था नदेखिएको उनको बुझाइ छ। ‘कुनै एक देशको लापरवाहीका कारण विश्वव्यापी रूपमा पुनः कोरोना संक्रमण फैलिन सक्छ,’ उनी भन्छिन्, ‘त्यसैले सबैले आफ्नातर्फबाट कोरोना नियन्त्रणका लागि आवश्यक कार्यहरू जारी राख्नु जरुरी छ।’
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार अहिले विश्वभर तीव्र रूपमा फैलिएको कोभिड-१९ महामारीजस्तै एक सय तीन वर्षअघि सन् १९१८ मा स्पेनिस फ्लूको प्रकोप फैलिएको पाइन्छ। ‘कोरोनाको पहिलो लहरजस्तै स्पेनिस फ्लूले पनि सुरुमा सामान्य असर गरे पनि एक वर्षपछि दोस्रो लहर आएपछि ठूलो संख्यामा मानिसको मृत्यु भएको इतिहास पाइन्छ,’ उनी भन्छन्, ‘संसारमै डेढ अर्बहाराहारीमा मानिस रहेको बेला स्पेनिस फ्लूका कारण करिब ६ करोडको मृत्यु भएको थियो। त्यतिबेला त्यो निकै ठूलो संख्या थियो ।’
तर, स्पेनिस फ्लूको दोस्रो लहरमा मृत्युदर अत्यधिक देखिँदा केही समयपछि देखिएको तेस्रो लहरमा संक्रमित र संक्रमणका कारण मृत्यु हुनेको संख्या घटेको पाइने उनी बताउँछन्।
यस्तै, सन् २००९मा फैलिएको स्वाइन फ्लूको महामारी पनि सुरुमा सामान्य रूपमा देखिएको र दोस्रो लहरमा अझ बढी प्रभाव पारेको डा. कोइराला बताउँछन्। भन्छन्, ‘स्पेनिस फ्लूजस्तै यो पनि तेस्रो वर्षदेखि भने कम प्रभावकारी बन्यो तर अहिलेसम्म पनि यसको प्रकोप छँदैछ।’
कोरोनाको प्रभाव भने तेस्रो लहरपछि मात्र क्रमशः कम हुँदै जानसक्ने सम्भावना रहेको उनी बताउँछन्। ‘धेरै मानिस संक्रमित भइसकेपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भइसकेको हुन्छ। सोहीकारण पनि तेस्रो लहरमा संक्रमण र मृत्युदर कम हुने सम्भावना छ,’ उनी भन्छन्।
डा. कोइरालाका अनुसार सन् २००२ तिर ‘सार्स कोभ वान्’ नाम दिइएको कोरोना भाइरसको एक प्रजाति देखिएको थियो। उक्त प्रजातिको कोराना भाइरस दुई वर्ष लगातार देखियो र तेस्रो वर्षमा हरायो। ‘त्यतिबेला चीन, हङकङ, क्यानाडालगायत आठवटा देशका केही सहरमा मात्र फैलिएकाले उनीहरूले कडा नियम बनाएर नियन्त्रणमा राखे तर अहिले नियन्त्रण गर्न सकिएन,’ उनी भन्छन्।
कोरोनाको तेस्रो लहर कहिले सुरु होला? डा. कोइरालाको बुझाइमा सम्भवतः आगामी जाडो महिनामा। दशैँ तिहारजस्ता चाडपर्वमा मानिसको आवतजावत बाक्लो हुने भएकाले त्यस्तो मानवीय गतिविधि कोरोनाको तेस्रो लहरको कारक बन्न सक्ने उनको आकलन छ।