सरकारी कर्मचारी विक्रम विश्वकर्मा भन्छन्– बेड नपाउँदा स्वास्थ्य अवस्था गम्भीर बन्यो

काठमाडाैं, जेठ १० : नीलकण्ठ नगरपालिका–७ धादिङका स्थायी बासिन्दा विक्रम विश्वकर्माले वैशाख १७ गते कारोना विरुद्धको चाइनिज भेरोसेल खोप लगाएका थिए। खोप लगाएको तीन दिनपछि उनी बिरामी परे। वैशाख २२ मा उनलाई कोरोना पजेटिभ देखियो।

सरकारी कर्मचारी उनी धादिङ अस्पतालको सूचना अधिकारी तथा अस्थायी कोभिड–१९ अस्पताल धादिङको फोकल पर्सन हुन्। वैशाख १५ गते धादिङमा अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गर्ने निर्णय भएसँगै उनी त्यसको व्यवस्थापनमा खटिएका थिए। त्यस्तै, आफूसँगै खोप छुटेका २५ स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालय नुवाकोटसँग समन्वय गरेर खोप लगाउने व्यवस्था पनि उनैले मिलाएका थिए। तर, खोप लगाएको तीन दिनमै उनी बिरामी परे।

आफूलाई कोरोना देखिएपछि वैशाख २२ देखि २७ गतेसम्म उनले धादिङको अस्थायी कोभिड–१९ अस्पतालमै उपचार गराए। २७ गते उनलाई निमोनिया देखियो। डा. त्रिभुवन चन्द्र झा र अध्यक्ष महेन्द्र धमलाको पहलमा वैशाख २७ को साँझ उनलाई त्रिशूली अस्पताल नुवाकोटमा आइसियुमा उपचारका लागि रिफर गरियो। तर, उनले त्यहाँ आइसियु बेड पाउन सकेनन्।

कोरोना र निमोनियाले ग्रस्त पारेकाले तुरुन्तै अन्य अस्पतालमा जाने सम्भावना थिएन, त्यसैले उनी आइसियुबिनै त्यहाँ भर्ना भएका थिए। वैशाख २८ गते उनको स्वास्थ्य अवस्था नाजुक हुन पुग्यो। त्रिशुली अस्पतालका डा. दीपेन्द्र पाण्डेले विक्रमलाई राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरे। डा. पाण्डेले ट्रमाका डा. नवीन पोखरेललाई उपचारमा उचित समन्वय गरिदिन आग्रह गरेका थिए।

‘मेरा आफन्त र  डा. नवीन पोखरेलले आइसियु बेडका लागि धेरे पहल गर्नुभयो,’ विक्रमले काठमाडौं प्रेसलाई फोनमा भने, ‘ट्रमा सेन्टरमा पनि आइसियु बेड पाउन सकिनँ। बेड पाउने आशमा बस्दा स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै जान थाल्यो।’

ट्रमामा बेड नपाएपछि बेड पाउने आशामा उनलाई आफन्तले टिचिङ अस्पताल पु¥याए। टिचिङ अस्पतालका एमडी रेडियोलोजिस्ट डा. विष्णु खतिवडाले उनका लागि बेडको पहल गरे, तर बिरामीका चापका कारण मिलाउन सकेनन्।  छिटै जनरल बेड पाउने आशामा उनलाई अस्पतालको बाहिर प्यासेजमा राखिएको थियो, जहाँ थुप्रै बिरामी थिए। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले जनरल बेड खालि हुनासाथ उनलाई राखिने भनिएको थियो, त्यो पनि सम्भव  भएन। ‘व्यावहारिक हिसाबमा मेरोभन्दा सामान्य स्वास्थ्य अवस्था भएका अन्य ५–७ बिरामीलाई जनरल बेडमा सारियो,’ विक्रम भन्छन्, ‘तर, मलाई २४ घन्टासम्म चिसो प्यासेजमा राखियो।’

कोभिडसँगै निमोनिया भएकाले उनलाई तत्काल बेडको जरुरी थियो। वैशाख २९ गते साँझ उनको स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुन पुग्यो। त्यसपछि तुरुन्तै टिचिङ अस्पतालले कागजमा हस्ताक्षर गरायो– मृत्यु भएमा अस्पताल जिम्मेवार हुनेछैन, स्वयंको परिवार जिम्मेवार हुनेछ...।

अस्पतालले त्यस्तो हस्ताक्षर गराएपछि उनका आफन्त र साथीहरूबीच रुवाबासी चल्न थाल्यो। त्यसपछि उनका आफन्त र साथीभाइ बेड भएको अस्पताल खोज्न जोडतोडले लागे। अन्ततः वैशाख २९ गते साँझ उनले थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय  अस्पतालमा आइसियु बेड पाउन सफल भए, डा. विप्लव सापकोटाको सहयोगमा। ‘नर्भिक अस्पतालको आइसियुमा जेठ ३ गतेसम्म उपचार गराएँ, धन्न बाँचियो,’ विक्रम भन्छन्, ‘अहिले न्यून वर्गको व्यक्ति कोभिडबाट गम्भीर हुन पुगे उपचार पाउन निकै कठिन रहेछ।’  

जेठ ३ मा नर्भिकबाट डिस्चार्ज भएर अहिले उनी धादिङ अस्पतालको क्वार्टरमा बसेर थप उपचार गरिरहेका छन्। उनको स्वास्थ्य अवस्थामा लगभग ९० प्रतिशत सुधार भइसकेको बताउँछन्। ‘अब शरीरमा शक्ति आउन र निमोनियाको संक्रमण ठीक हुन बाँकी छ,’ विक्रमले भने, ‘लगभग एक महिना जतिमा पूर्ण रूपमा स्वस्थ हुन्छु भन्ने आशा छ।’

नर्भिक अस्पतालमा बेड पाएपछि उनका परिवार र आफन्तलाई राहत मिल्यो। धादिङ अस्पताल, त्रिशुली अस्पताल नुवाकोट, ट्रमा सेन्टर, टिचिङ अस्पताल र नर्भिकसम्म आइपुग्दा आफ्नो चार लाख रुपैयाँ खर्च भएको विक्रम बताउँछन्।

‘सरकारले  सरकारी अस्पतालमा मात्र निःशुल्क उपचार तोकिदिएको छ। तर, सरकारी अस्पतालमा बिरामीले समयमा उपचार पाइरहेका छैनन्,’ उनले भने, ‘सबै वर्गका व्यक्तिलाई ध्यानमा राखेर कोरोना उपचारमा सहज वातावरण बनाउन आवश्यक छ। आर्थिक अवस्था न्यून भएका व्यक्तिले निजी अस्पतालमा गएर उपचार गराउन सक्दैनन्। त्यसैले कोरोना संक्रमितको उपचारमा तहको सरकारले  समन्वयन र पहल गर्न आवश्यक छ।’

 

 Published Date: Monday, 24th May 2021 10:36:00 am