Kathmandu Press

कोरोना संक्रमणले आँखामा ‘म्युकोर्माइकोसिस’ को समस्या ल्याउन सक्छ

म्युकोर्माइकोसिसलाई सामान्य भाषामा कालो ढुसी भन्ने बुझ्ने गरिन्छ। तर यसको रङ भने कालो नहुने डा. प्रिया बताउँछिन्। यसले हाम्रो छालामा कालोपन ल्याउने र शरीरभित्र रहेका केही भागलाई कुहाएर कालो बनाउने भएकाले पनि यसलाई (ब्ल्याक फङ्गज) अर्थात् कालो ढुसी भनिएको उनको भनाइ छ।
कोरोना संक्रमणले आँखामा ‘म्युकोर्माइकोसिस’ को समस्या ल्याउन सक्छ


काठमाडौं, जेठ ७ : कारोनाका अधिकांश बिरामी त्यसमुक्त भइसक्दा पनि विभिन्न स्वास्थ्य समस्याले ग्रसित हुने गरेका छन्।

कोरोना संक्रमणबाट मुक्त भए पनि फोक्सो, मुटु, मस्तिष्कलगायत विभिन्न अंगमा यसले दीर्घकालिन असर पु¥याउने भनी चिकित्सकहरूले बताइरहँदा पछिल्लो समय त्यस्ता व्यक्तिहरूका आँखामा म्युकोर्माइकोसिस (कालो ढुसी) को समस्या देखिन थालेको छ।

म्युकोर्माइकोसिसका कारण भविष्यमा दृष्टिविहीनसमेत हुन सक्ने सम्भावना रहेको नेत्र रोग विशेषज्ञ डा. प्रिया बजगाइँ श्रेष्ठ बताउँछिन्।

Hardik ivf

उनका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा त्यसको असर शरीरका विभिन्न अंगमा देखिन थाल्छ। कसैकसैको आँखामा असर पुग्न सक्छ। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा कोरोनाका कारण आँखामा पनि इन्फेक्सन हुन सक्छ र समयमै त्यसको उपचार नहुँदा त्यसले ढुसीको रूप लिन सक्ने डा. बजगाईंको भनाइ छ।

यो कोरोना भाइरसका कारण मात्र देखिएको नभई पहिलादेखि नै हावा, पानी, माटोमा रहँदै आएको उनले बताइन्। अहिले मानिसमा देखिनुको प्रमुख कारण कोरोनाले गर्दा रोग प्रतिरोधात्मक क्षमतामा कमी आइ शरीर कमजोर बन्नु हो। ‘पहिलो वर्ष मुस्किलले २ देखि ३ जनामा मात्र आँखामा ढुसी परेको समस्या देखिन्थ्यो भने अहिले भारतमा महिनामै ५० जनासम्ममा यस्तो समस्या देखिएको छ। तर नेपालमा भने त्यस किसिमको समस्या एकदम कम देखिएको छ,’ डा. प्रियाले भनिन्।

के हो म्युकोर्माइकोसिस ?

म्युकोर्माइकोसिसलाई सामान्य भाषामा यसलाई कालो ढुसी भन्ने बुझ्ने गरिन्छ। तर यसको रङ भने कालो नहुने डा. प्रिया बताउँछिन्। यसले हाम्रो छालामा कालोपन ल्याउने र शरीरभित्र रहेका केही भागलाई कुहाएर कालो बनाउने भएकाले पनि यसलाई (ब्ल्याक फङ्गज) अर्थात् कालो ढुसी भनिएको उनको भनाइ छ।

आँखामा कस्तो असर पार्छ ?

म्युकोर्माइकोसिस अर्थात् एक प्रकारका खतरनाक ढुसी कुनै पनि तरिकाले शरीरभित्र छिर्ने माध्यमहरू धेरै रहेको तर कोभिडका समयमा भने नाकको माध्यम भएरै शरीरमा छिरेको डा. प्रिया बताउँछिन्। ‘म्युकोर्माइकोसिस नाकको माध्यमबाट छिरिसकेपछि यो बिस्तारै बढ्दै जान्छ। जसले गर्दा आँखा सुन्निने, आँखा वरिपरिका छालामा असर गर्ने, बिस्तारै दृिष्ट कम हुँदै जाने, आँखा अलिकति बाहिरपट्टि फुकेको जस्तो बनाउने, आँखा रातो बनाउने, आँखा धमिलो हुनेलगायत समस्या देखिन्छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘यस्तै समस्या देखिएपछि एकजना बिरामीको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।’

बच्ने उपाय के ?

म्युकोर्माइकोसिसले मधुमेह भएका बिरामीहरूलाई बढी असर गर्छ। त्यसकारण सर्वप्रथम मधुमेह नियन्त्रण गर्नु जरुरी हुन्छ। साथै अहिले जथाभावी क्युरोइड दिने पनि गरिरहेको हुँदा त्यसलाई कम गर्नुपर्ने उनी बताउँछिन्।

यस्तै आँखामा रातोपन देखिने, नाक बन्द हुनु वा पिनास भए तुरुन्तै सम्बन्धित चिकित्सकलाई देखाउनुपर्ने उनी बताउँछिन्। ‘सामान्य रूपमा बुझ्न सफा गर्न नसकिने ठाउँहरूमा ढुसी परेजस्तै हाम्रो शरीरमा पनि त्यस्तै ठाउँमा म्युकोर्माइकोसिस जमेर पछि बिस्तारै बढ्ने र कालो ढुसीको रूप लिने हो,’ डा. प्रियाले भनिन्, ‘यो ढुसीले आँखामा मात्र नभई कान, घाँटी, फोक्सो, छालालगायतलाई पनि असर गर्छ।’

डा. प्रियाका अनुसार अहिले रोग प्रतिरोधात्मक क्षमता बढी भएका युवाहरूलाई समेत यसले असर गरेको देखिएको छ भने कोरोना संक्रमण मुक्त भइसकेका मानिसमा पनि यस्तो समस्या देखिन थालेको छ। म्युकोर्माइकोसिस आज संक्रमण भएर भोलि नै असर देखिने खालको रोग होइन। भित्र सबै असर गरिसकेपछि मात्र यसको असर देखिन थाल्छ।

‘अहिले देखिएको म्युकोर्माइकोसिस पनि पहिला कोरोना संक्रमित भई रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा लागेको र अहिले आँखासम्बन्धी समस्या देखिन थालेको हो,’ उनले भनिन्।

यस्तै यसको उपचारका लागि ‘एन्टी फंगल’ नामक खोप पनि प्रयोग गर्न सकिने उनी बताउँछिन्। त्यसका लागि लगभग ३ हजार भारतीय रुपैयाँसम्म खर्चनुपर्छ। दैनिक एक डोज महिना दिनसम्म लगाउनुपर्ने उनले बताइन्। यस्तै म्युकोर्माइकोसिस मस्तिस्क, फोक्सो, आँखालगायत शरीरको जुनजुन ठाउँमा फैलियो त्यो सबै हटाउनुपर्ने हुँदा यसमा मानिसको बाँच्ने सम्भावना ५० प्रतिशत मात्र रहने उनी बताउँछिन्। त्यसैकारण कुनै पनि लक्षण देखिनेबित्तिकै सम्बन्धित चिकित्सकको परामर्श लिई उपचार गराउन जरुरी रहेको उनी बताउँछिन्।
 

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्