Kathmandu Press

सडकमा खटिएका ट्राफिक प्रहरी : ‘दुश्मन नठान्नुस्, हामी जनताकै सेवामा छौँ’  

कोरोनाको दोस्रो लहरमा नेपालभरि पाँच सय प्रहरी संक्रमित भएका छन् भने दुईको मृत्यु भएको छ । 
सडकमा खटिएका ट्राफिक प्रहरी : ‘दुश्मन नठान्नुस्, हामी जनताकै सेवामा छौँ’  

काठमाडौं, जेठ ४ : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएदेखि सुरक्षाकर्मी बढी सक्रिय हुनुपरेको छ । 

निषेधाज्ञाको सुरुदेखि काठमाडौं उपत्यकाका सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी, सशस्त्र प्र्रहरी र फाट्टफुट्ट सेना डुलिरहेको देखिन्छ । कतै ट्राफिक प्रहरीे पिपिई लगाएर सडकमा बसेका छन् भने कतिपय प्रहरी मास्क र पन्जा लगाएर बसिरहेका हुन्छन् ।

सबै प्रहरीलाई पिपिइको व्यवस्थापन गर्न नसकिने र  पिपिईबाहेक अन्य स्वास्थ्य साम्रगी प्रयोग गरिरहेको महानगरीय ट्राफिक कार्यालयको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार, कोरोनाको सुरुवाती दिनभन्दा अहिले सुरक्षा सामग्री उपलब्ध भएका छन् । साथै नियमपूर्वक सबैले स्वास्थ्य मापदण्ड पालना गरेका छन् । 

उनी भन्छन्, ‘सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकाले सबै ट्राफिकलाई लापरबाही नगरी सुरक्षा मापदण्ड कायम गर्न भनिरहेका छौँ ।’ 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सुनीलजंग शाहका अनुसार, जनतालाई कोरोनाबाट सुरक्षित राख्न ट्राफिक प्रहरी दैनिक सात घन्टा खटिएका छन् । ‘दैनिक सडकमा बिनाकाम हिँड्ने यात्रु र बिनापास सञ्चालन भएका सवारीसाधनलाई सचेत गराउन पहल गरिएको छ । जोखिम बढ्ने भएकाले हामीले सकेसम्म यात्रुलाई बिनाकाम बाहिर नहिँड्न आग्रह गरिरहेका छौंँ,’ उनले भने ।

सरकारले निर्णय गरेको निषेधाज्ञा कार्यान्वयन गराउन सर्वसाधारणसामु कडा रुपमा प्रस्तुत भएका हौँ तर सर्वसाधरणले दुश्मन सोचिरहेको उनी गुनासो पोख्छन् । ‘हामीले यात्रुको समस्या नबुझेको सोचिन्छ  तर हामी जनताकै सेवामा छौंँ,’ उनले भने, ‘आज (सोमबार) पनि म अनुगमनको क्रममा सडकमै छु।’ 

ट्राफिक प्रहरीलाई अहिले स्वास्थ्य साम्रगीको अभाव छैन । अहिले ट्राफिकलाई मास्स, पन्जा, सेनिटाइजर, फेससिल्ड स्वास्थ्य साम्रगी कार्यालयबाटै उपलब्ध गराइएको उनले जानकारी दिए । ‘कार्यालयबाहेक निजी निवास तथा कोठा भाडामा बस्ने ट्राफिकलाई उनीहरू बसोबास गर्ने ठाउँनजिकै डियुटी दिइएको छ । आवतजावत कम होस् र ट्राफिक प्रहरी सुरक्षित रहनु भनेर नजिकै डियुटी दिइएको हो,’ एसपी शाहले भने । 

अहिले सवारीसाधन सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन भएका छन् कि छैन भनेर जाँच गरिएको उनको भनाइ छ । ‘बिनापास हिँडेका र अति आवश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई सोधपुछ र आवश्यक कारबाही गरिन्छ,’ उनले भने, ‘जरिवानामा एक हजारदेखि पाँच हजारसम्म छ भने कारबाहीमा सवारीसाधन होल्ड गराएर राखिन्छ ।’ 

धेरैजसो सवारी साधनलाई जरिवाना भन्दा पनि होल्ड गराएर राख्ने गरिन्छ । होल्ड गराएको सवारीसाधन साँझ ७ बजेपछि मात्र छाडिने गरेको उनले बताए। 

उनका अनुसार, उपत्यकाका विभिन्न स्थानमा निषेधाज्ञा अवज्ञा गरी चलाएका दैनिक एक हजारभन्दा बढी सवारीसाधनलाई होल्ड गराउनुपरेको छ । 

प्रवक्ता एसपी अधिकारीका अनुसार मंगलबार साँझ ५ बजेसम्म ९५४ सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गराएका थिए।

सर्वसाधारण बिनाकाम, बिना मास्क बाहिर हिँडडुल गरेका छन् भने होल्ड गराउने, कोभिड जोखिमबारे सचेत गराउने गरिएको उनको भनाइ छ । 

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा मातहतका इकाई बौद्धका प्रहरी निरीक्षक नवीनकुमार अधिकारीका अनुसार, ट्राफिक प्रहरीलाई पनि कोरोना जोखिम छ । ‘सर्वसाधारणले ट्राफिक प्रहरी आफ्नो रहरले सडकमा डुलिरहेको जस्तो व्यवहार गर्छन्,’ उनले भने । 

सुरुवाती दिनमा ट्राफिक प्रहरीलाई स्वास्थ्य साम्रगी अभाव भए पनि अहिले त्यस्तो समस्या छैन । कोभिडको कुनै लक्षण देखापरेमा कार्यालयले परीक्षण र उपचार गरिदिने उनले बताए । 

५०० प्रहरीमा कोरोना संक्रमित, २ को मृत्यु 

कोरोनाको दोस्रो लहरमा नेपालभरि पाँच सय प्रहरी संक्रमित भएका छन् भने दुईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । 

प्रहरी प्रधान कार्यालय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार, प्रहरी कोरोना संक्रमित भएका छन् तर कोही पनि उच्च जोखिममा छैनन् । ‘भेन्टिलेटरमा थोरै संख्यामा सिभिल प्रहरी छन्, अन्य प्रहरी होम आइसोलेसनमा छन्,’ उनले भने । 

प्रहरीलाई सुरक्षा मापदण्ड पालना गर्न, सामाजिक दूरी कायम गर्न, मास्क, सेनिटाइजर लगायत स्वास्थ्य साम्रगी प्रयोग गर्न पटकपटक भनिरहेको र स्वास्थ्य सामग्री उपलब्ध गराइएको एसएसपी कुँवरको भनाइ छ ।
 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्