Kathmandu Press

प्यालेस्टाइनी नागरिकको जीवन सुधारमा अमेरिका र पश्चिमा मुलुकको किन जाँदैन ध्यान?

हमासको जासुसी एजेन्सीको सम्पत्ति रहेको दाबी गर्दै इजरायलले गत शनिबार प्यालेस्टाइनको गाजा सहरस्थित १३ तले भवनमा बम विष्फोट गरायो। तर, त्यस भवनमा अल...
प्यालेस्टाइनी नागरिकको जीवन सुधारमा अमेरिका र पश्चिमा मुलुकको किन जाँदैन ध्यान?

हमासको जासुसी एजेन्सीको सम्पत्ति रहेको दाबी गर्दै इजरायलले गत शनिबार प्यालेस्टाइनको गाजा सहरस्थित १३ तले भवनमा बम विष्फोट गरायो। तर, त्यस भवनमा अल जजिरा र एसोसिएटेड प्रेस (एपी)लगायत समाचार संस्थाहरूका कार्यालय थिए।

इजरायली पक्षले एक घण्टाअघि नै उक्त भवनमा रहेका मानिसलाई बाहिर निस्किन चेतावनी दिएको थियो। त्यस घटनालाई लिएर अहिले इजरायल विश्वव्यापी आलोचनाको केन्द्र बनेको छ।

एपीका अध्यक्ष र सीईओ गेरी प्रुइटले भने, ‘हामी स्तब्ध र त्रसित छौँ।’ अल जजिराले विज्ञप्तिमार्फत सञ्चारमाध्यमले इजरायल सरकारलाई त्यसका लागि जिम्मेवार ठहर्‍याएको छ।

पछिल्लो घटना इजरायल र हमासबीचमा बढ्दो द्वन्द्वको परिणति हो। द्वन्द्व कसरी सुरु भयो भन्ने विषयमा दुवै पक्ष आ–आफ्नै तर्कमा अडिग छन्। अन्तर्राष्ट्रिय समुदायलाई राम्रोसँग थाहा छ– द्वन्द्वसम्बन्धी विवरणहरू जटिल भए पनि यसको गहिरो कारण भनेको प्यालेस्टाइनको मुद्दा अझै समाधान नहुनु हो। संयुक्त राष्ट्रसंघद्वारा समर्थित द्विदेशीय समाधानको कार्यदिशा अझै कार्यान्वयन भएको छैन। समाधान हुने आशा पनि कम देखिन्छ। यस परिस्थितिमा त्यस क्षेत्रको स्थिरता अस्थायी मात्र हुन सक्छ। र, यस्तै कुनै घटनाले राजनीतिक तनावका नयाँ शृंखला फेरि सुरु गराउन सक्छन्।

प्यालेस्टाइनको मुद्दा अरब क्षेत्रमै सीमित बन्दैछ। धेरै अरब मुलुकले इजरायलसँग आफ्नो सम्बन्ध सुधार गरेका छन् अनि कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्। प्यालेस्टाइनका लागि ती मुलुकको समर्थन घट्दो छ। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायलको तेलअभिभबाट अमेरिकी दूतावास राजधानी जेरुसलेममा सारेका थिए। अरब क्षेत्रका मुलुकहरू त्यस कदमप्रति सकारात्मक देखिएका थिए। यसबाट आफ्नो अधिकार प्राप्त गर्ने शक्ति प्यालेस्टाइनको शक्ति क्षीण हुँदै गएको संकेत मिल्छ।

तथापि, मानव हृदय नैतिकता र न्यायसँग जोडिएको हुन्छ। प्यालेस्टाइनीहरू त्यस्ता मानिस हुन् जसमाथि अन्याय भइरहेको छ। उनीहरूको अधिकारको हनन भएको छ र धेरै मानिस दयनीय जीवन जिउन विवश छन्। अन्तर्राष्ट्रिय समुदायको यो आधारभूत बुझाइ बदलिएको छैन। त्यसैले हो, विश्व समुदायले प्यालेस्टाइनप्रति सहानुभूति राखेको पनि। यही बुझाइ हो, जसले मध्यपूर्वको मुद्दामा युरोपेलीसहित थोरै मुलुकको मनोवृत्तिलाई प्रभाव पारिरहेको पनि।

हुन सक्छ, इजरायल हमास समूहविरुद्ध आक्रमणमा जोड दिन्छ। तर, स्पष्ट छ– इजरायलले जवाफी कारवाहीको हद नाघेको छ। किनकि, इजरायलले हमासलाई सजाय दिँदाको गम्भीर परिणाम प्यालेस्टाइनका नागरिकले भोग्नुपरेको छ। र, यो विवादास्पद सजाय प्यालेस्टाइनी नागरिकलाई त्रसित बनाउन दिइरहेको छ, इजरायलले। संयुक्त राष्ट्रसंघको प्रस्ताव उल्लंघन गर्दै आफूले कब्जा गरेका क्षेत्रमा मनोमानी व्यवहार स्वीकार्न इजरायलले बाध्य पारेको छ।

प्यालेस्टाइनको मुद्दाले मुस्लिम समुदायप्रति अमेरिकाको दृष्टिकोण पनि झल्काउँछ। प्यालेस्टाइन–इजरायल संघर्ष यस्तो क्षेत्रको बीचमा जारी छ, जहाँ पश्चिमा र इस्लामी सभ्यताको इतिहास गाँसिएको छ। र, पूर्वी जेरुसलेममा इजरायलको व्यापक अतिक्रमण इस्लामिक संसारले स्वीकार्ने सम्भावना असम्भव बराबर छ। तथापि, केही इस्लामिक मुलुकले अस्थायी रूपमा यथार्थपरक राजनीतिक विचारका कारण आफ्नो दृष्टिकोणलाई मत्थर बनाएका छन्। तर, इस्लामिक नागरिक समाजमा बहिष्कार जारी छ।

अमेरिकाले प्यालेस्टाइन र इजरायलबीच शान्ति वार्तालाई प्रोत्साहन दिन्छ। तर, जब ती दुईबीच छनोट गर्नुपर्ने प्रश्न आउँछ, अमेरिका जहिल्यै इजरायलको पक्षमा उभिन्छ। हमास र अन्य आतंकवादी संगठनले इजरायललाई लक्षित गरी गर्ने आक्रमणप्रति वासिङ्टनले निन्दा गर्छ। तर, इजरायले असंख्य हताहत हुने गरी प्यालेस्टाइनमा गर्ने ठूला हवाई आक्रमणलाई नजरअन्दाज गर्छ। यो कदमले अमेरिका कति कपटी र ढोंगी छ भन्ने तथ्य उजागर गर्छ।

अमेरिकी अधिकारीहरूले चीनको सिन्जियाङमा मुस्लिम समुदायको मानवअधिकार हनन भएको मनगढन्ते आरोप लगाउने गर्छन्। तर, मध्यपूर्वमा अमेरिकाले नै सुरु गरेको युद्धमा ठूलो संख्यामा समुदायका नागरिकको ज्यान गइरहेको विषयलाई नजरअन्दाज गरिरहेका छन्, उनीहरू। अनि प्यालेस्टाइनी मुस्लिमहरूको हत्या र दमनको मुद्दामा अमेरिकाले इजरायलप्रति देखाएको समर्थन आफैँमा अनौठो छ। यी परिदृष्य नियाल्दा वासिङ्टनको कपट वा छललाई सायदै लुकाउन सकिन्छ।

अमेरिका एक मात्र त्यस्तो मुलुक हो, जसले इजरायललाई साँच्चिकै प्रभाव पार्न वा रोक्न सक्छ। तर, इजरायलको व्यवहार नियन्त्रण गर्न सक्ने अमेरिकाको क्षमताको पर्याप्त प्रयोग इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको दमन र विभेदका सन्दर्भमा भएको छैन। मानवअधिकार उल्लंघन भइरहेका विश्वका धेरैजसो स्थानमा अमेरिका जोडिएको छ। वासिङ्टनले तथाकथित ‘मानव अधिकार’को बारेमा बोल्दै आएको छ तर वास्तवमा अमेरिका त्यो मुलुक हो, जसले विश्वव्यापी रूपमा मानव अधिकारको हनन वा उल्लंघन गरिरहेको छ।

इजरायल र प्यालेस्टाइनमा जारी त्रासदी जतिसक्दो चाँडो अन्त्य होस् अनि हमास समूह र इजरायल दुवैले संयम अपनाउन् र द्वन्द्व अन्त्य गरुन् भन्ने आशा गरौँ। विश्वले प्यालेस्टाइनी नागरिकप्रति ध्यान देओस्। उनीहरूको जीवन पनि त्यत्तिकै मूल्यवान छ भन्ने महसुस होस्। अमेरिका र अन्य पश्चिमा मुलक उनीहरूको जीवनमा सुधार गर्न सक्षम छन् र ती मुलुक प्यालेस्टाइनलाई सहयोग गर्नबाट पर बस्नु वा अलग रहनु हुँदैन।

(ग्लोबल टाइम्स डट सीएनको सम्पादकीय टिप्पणी)
 

प्रकाशित मिति: ०६:१७ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्