Kathmandu Press

बैतडीमा थपिएको निषेधाज्ञा आजदेखि लागू

बैतडी, जेठ ३ : बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ। थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ। आइतबार प्रमुख जिल्ला अधिकारी...
बैतडीमा थपिएको निषेधाज्ञा आजदेखि लागू

बैतडी, जेठ ३ : बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ। थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ। आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन्।  

यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

Hardik ivf

जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जनाइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा सङ्क्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।  

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ । बैतडीमा कोरोनाका  सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको  छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।  रासस
 

प्रकाशित मिति: १०:२५ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्