Kathmandu Press

पूर्ण खोप लगाएका मानिसलाई मास्क अनिवार्य छ कि छैन?

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोभिड-१९ को विषयमा बनाएको आफ्नो मापदण्डमा सुधार गरेको छ। कोरोनाविरुद्ध खोपको मात्रा पूर्ण गरेका...
पूर्ण खोप लगाएका मानिसलाई मास्क अनिवार्य छ कि छैन?
Hardik ivfHardik ivf

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोभिड-१९ को विषयमा बनाएको आफ्नो मापदण्डमा सुधार गरेको छ। कोरोनाविरुद्ध खोपको मात्रा पूर्ण गरेका मानिसले घरभित्र मास्क लगाउनु नपर्ने वा अरूबाट भौतिक दूरी कायम गर्नु नपर्ने सीडीसीको भनाइ छ।

‘पूर्ण खोप लगाएका जोकोहीले मास्क र शारीरिक दूरी कायम नगरी ठूला वा सानो, भित्री वा बाहिरी गतिविधिमा भाग लिन सक्छन्। यदि तपाईंले पूर्ण खोप लगाइसक्नुभएको छ भने महामारीको कारणले तपाईंले गर्न छोड्नु भएको कुरा गर्न फेरि सुरु गर्न सक्नुहुन्छ,’ सीडीसीकी निर्देशक रोसेल वालेन्स्कीले भनिन्।

सीडीसीले मास्क अर्डरलाई केही हदसम्म खुकुलो बनाएको छ। गत मार्चमा पूर्ण खोप लगाएका व्यक्तिले अन्य खोप लगाएका व्यक्तिसँग घरभित्र मास्क नलगाई बस्न सक्ने मापदण्ड सीडीसीले लागू गरेको थियो।

उक्त मापदण्ड संशोधन गर्दै सीडीसीले पूर्ण खोप लगाएपछि खोप लगाएका वा नलगाएका जोकोहीसँग घरभित्र र बाहिर मास्क नलगाई बस्न सक्ने र भेला हुनसक्ने बताएको छ। नयाँ नियम हेर्दा अमेरिकी सरकार फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनका खोपबाट अलि बढी नै आश्वस्त भएझैँ लाग्छ। तथापि, पूर्ण खोप लगाएका मानिसलाई पनि कोरोनाका नयाँ भेरियन्ट र म्युटेन्ट प्रसार भइरहेका छन्। त्यसैले यो नियम त्यति उपयोग मानिएको छैन।

के हो पूर्ण खोप?

एक व्यक्तिलाई फाइजर वा मोडर्नाको दोस्रो डोज खोप दिएको दुई सातापछि वा जोनसन एन्ड जोनसन खोपको एक खुराक लगाएको दुई सातापछि पूर्ण खोप लगाएको मानिन्छ।

सीडीसीका अनुसार हालसम्म अमेरिकी जनसंख्याको ३५ प्रतिशत वा ११ करोड ७६ लाख ४७ हजार चार सय ३९ लाई पूर्ण खोप दिइएको छ।

मास्क साथमै राख्नूस्

यो नयाँ मापदण्ड तपाईंका लागि मास्क फाल्ने बहाना भने होइन। मास्क प्रयोग गर्ने नियम अझै पनि अधिकांश व्यावसायिक संस्थाले कायमै राखेका छन्। कसले खोप लगाएको छ र कसले छैन भनेर निर्धारण गर्न उनीहरूलाई कडा दबाब दिइनेछ, खासगरी ती राज्यहरूमा जसले ‘खोप राहदानी’ आदेश लागू गर्न अस्वीकार गरेका छन्। खोप कार्डलाई खोप लगाएको प्रमाण मानिन्छ।

पूर्ण खोप नलगाएका व्यक्तिले आफू र अरूलाई कोभिड–१९ बाट बचाउन मास्कको प्रयोग गर्नुपर्छ। खासगरी भित्र बस्दा कोरोना भाइरसको संक्रमण हावाबाट फैलिन सक्छ। त्यस्ता स्थानमा अरूसँग भौतिक दूरी कायम गर्ने सम्भावना कम हुन्छ।

अमेरिकी सरकारले धेरै मानिसलाई डिसेम्बर २०२० मै खोपको पहिलो डोज दिएको थियो। त्यसयता अमेरिकी स्वाथ्य अधिकारीहरूले कोरोनाका नयाँ भेरियन्टहरूको तीव्र प्रसारलाई पनि नजिकबाट नियालिरहेका छन्।

यो विषम परिस्थिति भएको र कोरोना संक्रमण पुनः देखापरेमा यो नियम फेरि परिवर्तन हुन सक्ने सीडीसीकी निर्देशक रोसेल वालेन्स्कीले बताइन्। खोपले कति लामो समय कोभिड–१९ को प्रतिरोध गर्छ भन्ने अस्पष्ट छ। तर, वैज्ञानिकहरू खोपलाई नै यो भाइरसबाट बच्ने उपायका रूपमा चित्रित गरिरहेका छन्।

(बिजनेस इन्साइडरबाट)
 

प्रकाशित मिति: ०६:१८ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्