Kathmandu Press

रोल्पामा लागुऔषध ओसारपसारमा महिलाको प्रयोग बढ्दो

रोल्पा, २ जेठ : जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले...
रोल्पामा लागुऔषध ओसारपसारमा महिलाको प्रयोग बढ्दो
Hardik ivfHardik ivf

रोल्पा, २ जेठ : जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो। यस अवधिमा लागुऔषध ओसारपसारका चार घटनामा पक्राउ परेका १० मध्ये छ महिला नै थिए।

प्रहरीले २०७७ साल असोज ५ गते रोल्पा थवाङ गाउँपालिका–२ छेर्लोवाङबाट सोही गाउँपालिका–२ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विनज्योति रोकामगरलाई पक्राउ गर्यो। चेकजाँचका क्रममा मुली झाँक्रीमगरले बोकेको झोलाबाट चार किलो ९३५ ग्राम र रोकामगरको साथबाट चार किलो ८८५ ग्राम अफिम बरामद गर्यो। पक्राउ परेका उनीहरु २०७७ मङ्सिर १४ को रोल्पा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भए।  

विसं २०७७ असोज १७ गते रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं २ खुग्रीस्थित प्रहरी चौकीले दाङ जाँदै गरेको एक स्कार्पियो गाडीको जाँच गर्ने क्रममा लागुऔषध (अफिम) फेला पा¥यो। वा १५ च ३७७६ नम्वरको गाडीको डिक्कीमा लुकाइएको अवस्थामा चार किलो ३०० ग्राम कालो रङ्को लागुऔषध फेला पारेको हो। सो गाडीमा सवार दाङ गढवा गाउँपालिका वडा नं ६ बस्ने ३० वर्षीया निसा पुन र घोराही उपमहानगरपालिका ६ हापुर वस्ने ४५ वर्षीया दिलप्रभा वुढामगरको मिलोमतोमा सो पदार्थ ल्याइएको प्रहरी अनुसन्धानबाट खुल्यो। 

सोही गाडीमा सवार रुकुमपूर्व भूमे गाउँपालिका वडा नं. ६ की ३७ वर्षीया ज्योती घर्तीमगर पनि सोही घटनामा पक्राउ परिन्। रोल्पा जिल्ला अदालतमा पेश गरेको सो मद्दामा  विसं २०७७ मङ्सिर २४ मा भएको अदालतको आदेशमा दिलप्रभा रु १ लाख ५० हजार धरौटीमा छुटे पनि निसा र ज्योती  पुर्पक्षका लागि कारागार चलान भएका थिए।

विसं २०७८ वैशाख १२ गते रोल्पा त्रिवेणी गाउँपालिका– ७ भित्रिखोलाका ४० वर्षीय रतन बुढाको तीन रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी चौकी जुँगारबाट खटिई गएको प्रहरी टोलीले नष्ट गर्यो। उक्त खेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी वुढा पक्राउ परिन्। वुढाकोे मुद्दा जारी रहेको प्रहरीको भनाई छ।

‘महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिएका पनि छन्,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा बढी मात्रामा महिला प्रयोग गरेको पाइएको छ ।’ नेपालको सामाजिक सुरक्षाका दृष्टिकोणले यो पक्षलाई दुःखद रुपमा लिनुपर्ने पनि उनले बताए।  

प्रहरीका अनुसार रोल्पाबाट वसाइँसराईँ गरी दाङ, नेपालगञ्ज, बुटवल जस्ता शहरी क्षेत्रमा वसोवास गरेकाहरुले समेत संलग्न भई उत्पादन र ओसारपसारको काम भइरहेको छ। रोल्पाको भूगोल, रहनसहन तथा चालचलन थाहा पाएका उनीहरु आएर ग्रामीण क्षेत्रका सोझा महिलाहरु प्रयोग गरेको प्रहरीको दावि छ। ‘गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभलालचामा फसाएर यस्तो अपराधमा संलग्न गराएको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक सुवेदीले भने।

कानुन  सबैले जानेका हुन्छन् भन्ने मान्यता रहेपनि लागुऔषधको बारेमा ग्रामीण भेगमा चेतना पाईंदैन अधिवक्ता श्रीमन पोख्रेलको भनाई छ । ‘लागुऔषधको उत्पादन,  ओसारपसार र  बिक्री वितरणको पनि कसुर र संवेदनशीलताअनुसार फरक फरक भएपनि त्यसको जानकारी नहुदा निर्दोषहरु पनि फसेको देखिन्छ,’ पोख्रेलले भने। मलाई थाहा थिएन, झोला त्यहाँसम्म पु¥याइदेउ भनेर यस्तो काम गरेका हुँ भन्नेजस्तो बयान उनीहरुले दिने गरेका पनि अधिवक्ता पोख्रेलले जानकारी दिए। 

त्यस्तै काममा लागेका टाँठोबाठो मान्छेले सोझा र इमान्दार महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ। कानुन जानेको थिएन भनेर अपराध छुट नहुने उनको भनाई छ। त्यसैले पनि यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु जरुरी देखिएको पोख्रेलको अनुभव छ। 

महिलाहरुले ओसारपसार गर्दा प्रहरीले निगरानी र चेकजाँच गर्दैन भन्ने गलत मान्यताका कारण पनि महिलाहरु बढी मात्रामा प्रयोग भएका हुनसक्ने महिला अधिकारकर्मी श्रीकुमारी  रोकाको वुझाई छ। कतिपय गाउँमा लागुऔषध खरिदको काम पनि महिलाले गरेको देखिएको र उनीहरु नै आफुले खरिद गरेको लागुऔषध ठूला व्यापारी भएको ठाउँसम्म पु¥याउने जिम्मा लिएका हुन्छन। 

अफिम विरुद्ध अप्रेशन नै चलाएको रोल्पा प्रहरीले चालू आर्थिक वर्षमा रोल्पाका विभिन्न भागमा अफिमको खेती नष्ट गरेको छ । अफिम खेती भइरहेको स्थानीय नागरिकको सूचनाका आधारमा प्रहरीले जिल्लामा ठूलो क्षेत्रफलमा लगाएको खेती नष्ट गरी उत्पादनमा संलग्नहरुलाई सचेत गराउने काम गरेको थियो । यस्तो खेती निजी जग्गा, ऐलानी तथा जंगलको बीच भागमा पनि हुने गरेको प्रहरीको भनाई छ । ऐलानी जग्गा तथा जंगल बीचमा सो खेती  कसले गरेको भन्ने प्रहरीलाई बुझ्न समस्या परेको देखियो ।

इलाका प्रहरी कार्यालय थवाङको टोलीले विसं २०७७ चैतमा थवाङ गाउँपालिका– १ याङचवाङमा ऐलानी दुई कठ्ठामा लगाइएको अफिम खेती नष्ट गरेको थियो । सोही प्रहरी टोलीले विसं २०७७ चैत १० मा थवाङ गाउँपालिका वडा नंं १ थाङ्चिनस्थित जंगलको बीचभागमा अन्दाजी तीन कठ्ठा ऐलानी जग्गामा लगाएको अफिम खेती पनि नष्ट ग¥यो । त्यस्तै २०७८ वैशाख १२ मा थवाङ गाउँपालिका वडा नं। २ सिस्याखानाको जंगलमा अन्दाजी दुई कठ्ठा जग्गामा लगाई राखेको अफिम खेती नष्ट ग¥यो। तीनै स्थानमा लगाएको सो खेती कसले गरेको भन्ने खुल्न नआएको प्रहरीको भनाइ छ। 

लागुऔषध जस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसारपसारमा भन्दा उत्पादन हुन नदिने तर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ। सङ्गठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ। रासस
 

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्