Kathmandu Press

मनाङमा २२ विदेशी पर्यटक अलपत्र

मनाङ, जेठ १ : नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता...
मनाङमा २२ विदेशी पर्यटक अलपत्र

मनाङ, जेठ १ : नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ । 

स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । 

यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् । 

गत मङ्गलबारको पिसिआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना सङ्क्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र सङ्क्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना सङ्क्रमित रहेका छन् । 

मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङगाउँमा एक गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । रासस
 

प्रकाशित मिति: १३:५१ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्