Kathmandu Press

अक्सिजन अभावमा बिरामीको मृत्यु भएमा अस्पतालले जिम्मा नलिने, मन्जुरीनामामा आफन्तको हस्ताक्षर

अस्पतालहरूले आफन्तसँग उपचार क्रममा बिरामीको निधन भएमा अस्पताल प्रशासन, चिकित्सक र कर्मचारीहरू जवाफदेही नहुने बेहोराको ‘मन्जुरीनामा’मा हस्ताक्षर गराउन थालेका छन् । 
अक्सिजन अभावमा बिरामीको मृत्यु भएमा अस्पतालले जिम्मा नलिने, मन्जुरीनामामा आफन्तको हस्ताक्षर
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ३० : कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा अक्सिजन अभाव देखिएको छ । अक्सिजन अभावमा बिरामीको मृत्यु हुने क्रम पनि बढेको छ ।

अक्सिजन अभाव भएपछि उपत्यकाका कतिपय अस्पतालहरूले विज्ञप्ति निल्कादै कोराना संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् ।

अस्पतालहरूले आफन्तसँग उपचार क्रममा बिरामीको निधन भएमा अस्पताल प्रशासन, चिकित्सक र कर्मचारीहरू जवाफदेही नहुने बेहोराको ‘मन्जुरीनामा’मा हस्ताक्षर गराउन थालेका छन् । कोरोना संक्रमतिको चापसँगै अक्सिजन अभाव खेपिरहेको भक्तपुर अस्पतालले पनि बिरामीका आफन्तसँग यस्तै ‘मन्जुरीनामा’ गरेर मात्र संक्रमितको उपचार गर्न थालेको छ । 

‘म/मेरा बिरामीलाई भक्तपुर अस्पतालमा भर्ना गरिएको, तर कोराना संक्रमितका लागि अत्यधिक अक्सिजनको आवश्यकता परेको छ । यस विषम परिस्थितिमा राज्यले पनि प्रशस्त अक्सिजनको व्यवस्था गर्न नसकेकाले अहिले अस्पतालमा अक्सिजनको चरम अभाव छ,’ कोरोना संक्रमित जीवनराज गिरीका आफन्तसँग बुधबार भक्तपुर अस्पताले गरेको ‘अति संवेदनशील मन्जुरीनामा’ मा भनिएको छ, ‘अस्पताल आफैँले पर्याप्त मात्रामा अक्सिजन व्यवस्था गर्न सकेको छैन । इमर्जेन्सी वार्डमै रहेका बिरामीलाई पनि चाहिने मात्रामा अक्सिजन पुर्‍याउन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यानमा तलमाथि भएमा अस्पताल तथा कर्मचारी जवाफदेही नहुने र जेजस्तो सुविधा छन्, त्यहीमा उपचार गर्न तयार छु भनी मन्जुरीनामामा सही छाप गर्न मन्जुर छु ।’

संक्रमितको उपचारअघि मन्जुरीनामा गराउनुपर्ने अवस्था आउनुमा सरकार दोषी रहेको संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पाको भनाइ छ । ‘संक्रमितको उपचारका लागि आवश्यक समान र अक्जिसन पर्याप्त उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी हो,’ उनी भन्छिन् । 

कारणवश बिरामीको मृत्यु भए आफन्तले आक्रोशमा अस्पतालको भौतिक संरचनामा क्षति पुर्‍याउन सक्ने हुनाले अस्पतालले आफ्नो सुरक्षाका लागि पनि मन्जुरीनामा गराएको उनी बताउँछिन् । भन्छिन्, ‘कोही व्यक्ति बिरामी हुँदा चिकित्सकले वास्ता गरेन, छोएन, उपचार गरेन भने अस्पतालको गल्ती हो । तर, औषधि उपचारको लागि सामान र अक्सिजन नै छैन भने त्यसको जिम्मेवार अस्पताल कसरी हुन्छ ?’

अक्सिजनको चरम अभाव रहेकाले ‘पछि कुनै समस्या नआओस्’ भनेर मन्जुरीनामामा हस्ताक्षर गराएर मात्र संक्रमितको उपचार गराउन अस्पताल बाध्य भएको अस्पतालकी मेसु डा. सुमित्रा गौतमले बताइन् ।

‘अस्पतालमा अहिले ७० जना संक्रमित उपचाररत छन्। सरकारले ५० वटा अक्सिजन सिलिन्डर मात्र दिएको छ । यसले पाँचवटा आईसीयूमा मात्र धान्न सकिन्छ’, डा. गौतम भन्छिन्, ‘त्यसमाथि पनि दैनिक बिरामीहरू थपिइरहेका छन् । हामीसँग बेड त छ तर अक्सिजन छैन। अक्सिजन अभावमा कसरी बिरामीलाई बचाउन सकिन्छ ?’

‘उपचारका क्रममा बिरामीको मृत्यु भएमा आफन्तलाई मृत्यु भएको कुरा मात्र थाहा हुन्छ, त्यसले पछि समस्या आउन सक्छ । त्यसैले उहाँहरूलाई पहिल्यै सबै कुराको जानकारी गराउन मन्जुरीनामा गराउन थालेका हौँ,’ उनले थपिन् ।

डा.शेर्पा सरकारले मानिसको जीवनसँग खेलबाड गरिरहेको बताउँछिन् । भन्छिन्,  ‘अहिलेको अवस्थामा संक्रमितको उपचारमा सबैभन्दा पहिला अक्सिजन नै चाहिन्छ, तर हामीसँग पर्याप्त अक्सिजन छैन । अक्सिजन अभावमा धेरै संक्रमतिले ज्यान गुमाइसकेका छन् । यस्तोबेला अक्सिजनको अभाव हुनु भनेको जनताको जीवनसँग खेलबाड गर्नु हो, जिम्मेवारीबाट पन्छिनु हो ।’
 
अहिलेजस्तो अवस्था सिर्जना भएको छ, त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने डा. शेर्पाले बताइन् । उनले यस विषयमा सबैतिरबाट सरकारलाई दबाब दिनुपर्ने पनि उल्लेख गरिन् । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि मन्जुरीनामामा आफन्तलाई हस्ताक्षर गराउनु सही भएको संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा बताउँछिन् । 
 

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्