कांग्रेसको भोटबाट चुनाव जितेका ठाकुर किन मधेश मुद्दामा सधैँ अनुदार ओलीसँग लस्किए?

काठमाडौं, वैशाख २८ : प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधिसभाको विश्वास गुमाएपछि नयाँ सत्ता गठबन्धनको अभ्यास जारी छ । प्रमुख विपक्षी कांग्रेससहित तेस्रो ठूलो दल माओवादी केन्द्र र चौथो जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूह नयाँ सरकार गठनको अभ्यासमा छन्। तर, त्यो गठबन्धन बन्न नदिन अहिले प्रधानमन्त्री ओलीभन्दा बढी दौडधुपमा छन्, जसपा अध्यक्ष महन्थ ठाकुर। कांग्रेसमै लामो समय राजनीति गरेका ठाकुर किन मधेश-फ्रेन्डली कांग्रेस छोडेर मधेशको मुद्दामा सधैँ अनुदार रहेका ओलीसँग किन अप्राकृतिक निकटता देखिएको छ भन्ने चासो धेरैले देखाएका छन्।

कतिपयले गत चुनावमा कांग्रेसले उम्मेदवारी नदिएर ठाकुरलाई जिताएकाले पनि नैतिक र राजनीतिक रूपमा उनी कांग्रेसको गठबन्धनमा हुनुपर्ने बताएका छन्। तर, ठाकुर ती कांग्रेसीहरूको भोटलाई बेवास्ता गर्दै अहिले मधेश मुद्दामा सधैँ अनुदार नै हुँदै आएका ओलीको एक्ला समर्थक भएर निस्किएका छन्। ओलीको शासनकालमा कोराना रोकथाम र नियन्त्रणमा पूरै बेवास्ता गरेर जनता उपचार नपाएर मर्नुपर्ने अवस्थामा छन्, शासन प्रशासनमा ऐन, कानून र पद्धति सबै मिचिएको छ, सबै तप्का र समूहका मानिस ओलीको बर्हिगमन खोजिरहेका छन्। तर, यस्तो बेला ठाकुरले ओलीलाई काँध थाप्नुपर्ने बाध्यता वा इच्छा के हो भन्ने आम मानिसले प्रश्न गरेका छन्। मधेशी दलहरूले माग गरेअनुसारको संविधान संशोधन प्रस्ताव यही संसद्‍मा ओली र उनको दलको असहयोगकै कारण पारित हुन सकेको थिएन। तर, संविधान संशोधनको माग गर्दै आएका ठाकुरलाई अब मधेशका मुद्दाभन्दा पनि ओलीसँगको राजनीतिक दाउपेच प्यारो लागेको देखिएको छ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाउन जसपाका चार सांसद मन्त्री बन्न गएको सन्दर्भमा पूर्वमन्त्री जयप्रकाश गुप्ताले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस घटनाक्रममा जसपाको प्रवेशले मुलुकमा ‘संघीयता नै खराब’ हो भन्ने गलत ‘डिस्कोर्स’लाई बल दिन थाल्यो। विगत ०५१ देखि ०६९ सम्ममा मुलुकको राजनीतिलाई जसरी तत्कालीन राप्रपा र सद्‍भावना पार्टीले अस्थिर गराएका थिए, अहिले सोही भूमिकामा जसपा अवतरित भएको छ।’

संघीयता नै नरहे जसपाको औचित्य नहुने विश्लेषण गर्दै गुप्ताले भनेका थिए, ‘यो अवस्था जसपाका लागि सर्वाधिक प्रत्युत्पादक हुनेछ, जहाँ जसपा अभिमुख हुँदैछ। अहिलेको यो चलखेलले त्यसैगरी संघीयता नै खराब हो भन्ने नियोजित बहसलाई हौस्याउँदै छ। यदि अबको राजनीतिक ‘डिस्कोर्स’ यसतर्फ गयो भने अरूलाई खासै फरक नपर्ला। तर, जसपा भने दुई अर्थमा सकिन्छः पहिलो, सबैभन्दा ठूलो स्टेक होल्डरको रूपमा संघीयताको रक्षा गर्न नसकेको अर्थमा र दोस्रो, जसपा एक पार्टीको रूपमा औचित्यहीन तथा असान्दर्भिक भएर ।’

यो अस्थिरताको नयाँ नायकको रूपमा देखापरेका छन् तीनै ठाकुर।

संघीयताको कुरा गर्दा समकालीन राजनीतिकर्मीहरूमध्ये प्रधानमन्त्री ओली नै संघीयताका स्पष्ट विरोधीका रूपमा चिनिँदै आएका छन्। उनले आफूलाई जतिसुकै संघीयता पक्षधर प्रमाणित गर्ने प्रयत्न गरे पनि मुल रूपमा कसैले पत्याएको देखिँदैन। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’लाई शब्दावली छोट्याउँदै ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय गराएर ओलीले त्यही संघीयताविरोधी छवि व्यवहारमा पनि देखाएका छन्। तर, संघीय शासन व्यवस्थाका लागि संघर्ष गरेको बताउने जसपा अध्यक्ष ठाकुर उनै ओलीलाई सत्ताबाट ओर्लिन नदिन काँध थाप्न दौडधुपमा देखिन्छन्।

र, जसपा अध्यक्ष ठाकुर अहिले प्रधानमन्त्री ओलीका एक मात्र सहारा देखिएका छन्। एमालेभित्र नेपाल-खनालको बलियो समूह आफ्ना क्रियाकलापविरुद्ध सक्रिय रहेको, पार्टी एकता नै भएको माओवादी केन्द्र तत्काल मिलन हुनै नसक्ने गरी टाढिएको, जसपाकै उपेन्द्र-बाबुराम समूह निरन्तर आफ्नो विरोधमा रहेको र प्रमुख विपक्षी कांग्रेसले नयाँ सरकारको अभ्यास गरिरहेको सन्दर्भमा ओली चौतर्फी रूपमा एक्लिएका छन्। त्यस एक्लोपनामा साथ दिएका छन्, ठाकुरले। यसबीचमा ठाकुरले पटक-पटक बालुवाटार र शीतलनिवासको फेरो मारिसकेका छन्। राष्ट्रपतिलाई नयाँ सत्ता गठबन्धनमा ‘कन्फ्युजन’मा राख्न जसपाका तर्फबाट पत्र नै पठाएर आफ्नो पार्टी त्यसमा सहभागी नरहेको जानकारी दिएका छन्। अनि, बालुवाटार निकटस्थ मानिएका ‘न्युज पोर्टल’हरूमा भ्रामक सूचना टिपाउँदै जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको भ्रम छरिरहेका छन्।

ठाकुरका कटु आलोचक देखिँदै आएका उनको गृहजिल्ला महोत्तरीका माओवादी केन्द्रका नेता रामकुमार शर्माले उनीप्रति कवितात्मक शैलीमा व्यंग्य कसेका छन्, ‘देख मधेशी तेरा मसिहा का है बडा बुरा हाल, सुवह जाता है, बुढानीलकण्ठ और साममे बालुवाटार। बाहर-बाहर शासक कहके करता है बदनाम, सुवह-सबेरे घर-घर जाकर करता है सलाम। सन्त, महन्त हुँ कहकर मधेशीको भरमाता है, मौका मिलतेही सम्धी-सम्धिनी को सांसद, मन्त्री और प्रदेश प्रमुख बनाता है।’

र, २७ वैशाखमा ठाकुरको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै शर्माले भनेका छन्, ‘उहाँको भूमिकाबाट मधेशविरोधी र विदेशी खुशी भएको हुनुपर्छ, मलाई विश्वास छ उचित समयमा महन्थजीलाई देशभक्त मधेशीले ठूलो सजाय दिनेछन्।’

भाजपा नेता सुब्रमण्यम स्वामीले नेपाल सन्दर्भ जोडेर गरेको मंगलबारको ट्विट अहिले चर्चामा छ। नयाँदिल्लीमा बसेर स्वामीले प्रधानमन्त्री ओलीलाई भारतको रोजाइ भनेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीन निकटस्थ दाबी गरेका छन्। भारतीय नेता स्वामीको बुझाइको स्तर जस्तोसुकै होस्, सन्त नेताको छवि बनाएका ठाकुरले भने यसबीचमा शीतलनिवास र बालुवाटारको मात्र होइन, लैनचौरको पनि फेरो मार्ने गरेका सूचना बाहिरिएका छन्। ठाकुर पनि स्वामीकै विचारधाराबाट प्रभावित भएझैँ लाग्ने गरी। भारतीय नेता स्वामीले आफूलाई खाँट्टी राष्ट्रवादी बताएर नथाक्ने प्रधानमन्त्री ओलीलाई भारतपरस्त बताएर फसाइदिएका छन्। लाखौँ नेपाली नागरिक आबद्ध रहेका सामाजिक सञ्जालमार्फत बाहिरिएको स्वामीको यो टिप्पणी झुटो सावित गर्न सहज छैन।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विदेशीका लागि ‘कम्फर्टेबल’ नेताका रूपमा चित्रित गर्दै आएका बेला भारतीय नेताले उनैलाई भारतका ‘कम्फर्टेबल नेपाली नेता’का रूपमा चित्रित गरिदिएका छन्। र, ठाकुर उनैलाई टेको दिन दौडधुपमा छन्।

कांग्रेस पृष्ठभूमि, ०६४ पछि क्षेत्रीय राजनीतितिर

अहिलेको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुर शालीन र भद्र राजनीतिकर्मी मानिँदै आएका थिए। महोत्तरी पिपरा गाउँपालिका एकरहियामा जन्मेका उनी लामो समय कांग्रेस राजनीतिमा रहे। ०६४ सालमा कांग्रेस केन्द्रीय कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर उनी क्षेत्रीय राजनीतिमा होमिएका थिए।

सुरुमा कांग्रेस निकट छात्र संघ र त्यसपछि नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका हुन् उनी । १ पुस ०१७ को राजा महेन्द्रको कदमको विरोधमा उत्रिँदा उनीमाथि राजकाज मुद्दा लाग्यो। आफू पढेकै जनकपुर क्याम्पसमा प्राध्यापनसमेत गरे। तर, बहुदलीय व्यवस्था पुनःस्थापनाको आन्दोलनमा लागेको आरोपमा तत्कालीन पञ्चायती सरकारले उनलाई हटायो।

२०३२ सालतिर उनी भारत विहारको सीतामढी पुगे। र, कांग्रेस क्याम्पमा सामेल भए। विहारमै छँदा उनी पक्राउ परे र हातहतियार ओसारपसारको मुद्दा खेपे। स्वर्गीय बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि ठाकुर पनि फर्किए। प्रहरीले पक्रेर उनलाई सर्लाही मलंगवाको जेलमा राख्यो। ०३६ सालमा जनमत संग्रह अगाडि उनी रिहा भए।

सर्लाहीमा उनलाई जेलमा राख्नुको पनि कारण थियो। उनी त्यहाँ कानून व्यवसायी छँदा राजनीतिमा पनि उत्तिकै सक्रिय थिए। वकालत र स्थानीय कलेजमा अध्यापन पनि गराउँथे।

ठाकुर कांग्रेसभित्र त्यागी नेताका रूपमा आम कार्यकर्तामाझ परिचित थिए। आफ्नो सर्लाहीस्थित घर नै पार्टीलाई हस्तान्तरण गरेका थिए।

त्यसैले त हो, उनले कांग्रेसमा कहिल्यै पाखा लाग्नु परेन। ०४८ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जिते। ०४८ त्यसबाट गठित प्रतिनिधिसभामा उपसभामुख बने। ०५१ सालको चुनावमा पनि सर्लाहीबाटै विजयी बने। र, कृषि मन्त्री भए। ०५६ सालको चुनाव जितेपछि कानूनमन्त्री बने।

कांग्रेस नेताहरूको भनाइमा ठाकुरलाई पार्टीभित्र सबैले श्रद्धा गर्थे, उच्च सम्मान थियो उनको। स्वर्गीय गिरिजाप्रसाद कोइरालाका प्रिय व्यक्तित्वका रूपमा केन्द्रीय सदस्यबाट सीधै केन्द्रीय कोषाध्यक्ष बनेका थिए। उनको रोजाइ पार्टी महामन्त्री थियो। कोइरालाले डा. रामवरण यादवलाई महामन्त्री बनाएपछि असन्तुष्ट बनेका उनले लामो कालखण्ड बिताएको पार्टी नै छाडिदिए।

कांग्रेस छाडेपछि उनी ०६४ र ०७० सालका दुई संविधानसभा निर्वाचनमा पराजित भए। कारण- उनले कांग्रेसको साथ पाएनन्। ०७४ सालको आम निर्वाचनमा मात्र उनी गृहजिल्ला महोत्तरीबाट विजयी हुन सके किनकि कांग्रेसले उम्मेदवार नै नदिएर उनलाई सहयोग गरेको थियो। 

मधेश आन्दोलनको राप र तापमा पनि उनले कांग्रेसको सहायताबिना चुनाव जित्न सकेका थिएनन्। जब कि, दोस्रो मधेश आन्दोलनपछि गठित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर नै थिए।

२०७७ सालमा ठाकुर संयोजक रहेको र मधेशकेन्द्रित ६ वटा दल मिलेर गठित राजपा नेपाल तथा समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल (जसपा) खडा भयो। जसपाका अध्यक्षका रूपमा उनी पार्टी विभाजनको डिलमा रहँदा बहिर्गमित प्रधानमन्त्री ओलीका पक्षमा उभिएका छन्। उनकै पार्टीको आधाभन्दा बढी हिस्सा ओलीको विपक्षमा उभिएको छ। उनी भने पार्टी विभाजनप्रति बेवास्ता गर्दै आधा हिस्साको नेता मात्र बनेका छन्।

कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा आयोजित पदाधिकारी बैठकपछि संवाददाताहरूसँग भने, ‘जसपा एकढिक्का भएर नयाँ सत्ता गठबन्धनमा सहभागी हुने सम्भावना छ।’

यदि अहिले जसपा एकढिक्का भएर नयाँ गठबन्धनमा सामेल भयो भने ठाकुरलाई दुईवटा फाइदा हुने देखिन्छ। पहिलो- उनी आफ्नो पार्टीलाई विभाजनबाट रोक्न सफल हुनेछन्। दोस्रो- विभाजन यात्रा तय गरिसकेको एमालेलाई पनि त्यस दुर्भाग्यबाट बचाउन सक्नेछन्। किनकि, सत्ताको राप र तापमा आफैँले किनारामा धकेलेको नेपाल-खनाल समूहलाई पनि समेटेर लैजान प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिएपछि ठण्डा दिमागका साथ सोच्न पाउने छन्। नयाँ सत्ता गठबन्धन निर्माणका लागि मार्गप्रशस्त गर्न नेपाल-खनाल समूहले सांसद पद र पार्टी परित्याग गर्नुपर्ने अवस्था आउने छैन। र, सदनले पनि बलियो प्रतिपक्ष पाउनेछ। अनि, मुलुकले पनि आगामी २२ महिना स्थिर सरकार पाउनेछ।

केहीगरी, राष्ट्रपतिले आह्वान गरेजस्तो संविधानको धारा ७६ (२) को सरकार निर्माण भएन भने निश्चित छ, प्रधानमन्त्री ओली फेरि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने छन्। उनले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ। त्यतिबेला पनि विश्वासको मत पाउने छैनन्। फेरि संविधानको धारा ७६ (५) अनुसारको सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्नेछ। त्यतिबेला पनि फेरि विश्वासको मतको संकट देखिनेछ। र, मुलुक कोभिड-१९ को महामारीबीच निर्वाचनमा धकेलिनेछ।

भारतमा हालै सम्पन्न निर्वाचनको प्रष्ट सन्देश के हो भने महामारीबीच चुनावमा जानु धेरै नागरिकको ज्यान जोखिममा पार्नु हो। त्यसैले त्यो दुर्भाग्य आउनै नदिन यतिबेला जसपा अध्यक्ष ठाकुरको भूमिका निकै महत्त्वपूर्ण देखिएको छ।

 Published Date: Tuesday, 11th May 2021 8:31:00 pm