कोभिड खोप कूटनीति : कोरोनाविरुद्ध ‘ब्लिजक्रिग’मा जुटौँ

विश्व कोभिड–१९ महामारीको दोस्रो वर्षमा प्रवेश गर्दा प्रत्येक राष्ट्र आफ्नै बुतामा उभिन सक्ने कुरामा सन्देह बढ्दो छ। खोप अभियानलाई तीव्रता दिएका मुलुकहरू यात्रा प्रतिबन्ध पनि कायम राख्न विवश छन्। यस महामारीले उग्र राष्ट्रवादलाई बढावा दिएको छ। अनि भूराजनीतिक तनाव अझ गहिरो बनाएको छ।

तथापि, महामारीबीच आशा जीवित राख्न हामीलाई इतिहासले सिकाएको छ। ‘खोप कूटनीति’को लामो अभ्यासले यस्ता महामारीका कारण मुलुकहरूबीचको सम्बन्धमा दरार ल्याउन सक्दैन भन्ने तथ्यलाई पुष्टि गर्छ। वास्तवमा, रोगविरुद्धको लडाईंले मुलुकहरूबीच शिष्टाचार र भाइचारा पनि बढाउँछ।

खोप कूटनीतिको कथा ‘बिमिरा राक्षस’ बिफरबाट सुरु हुन्छ। शताब्दीयौँदेखि यो रोगले मानवतालाई पीडित बनाएको थियो। र, २० देखि ६० प्रतिशत संख्याका बिरामीको ज्यान लिएको थियो। यस रोगबाट बाँचेकाहरूको शरीरलाई पनि कुरूप बनाइदियो। अनि कतिपयको नेत्रज्योति नै बन्द गराइदियो।

अठारौँ शताब्दीमा बेलायतका चिकित्सक एडवार्ड जेनर यसविरुद्धको लडाईंमा सामेल भए। र, ‘काउपक्स’ नामक रोग लागेका मानिसलाई बिफर विरलै लाग्ने पत्ता लगाए। ‘काउपक्स’ भएका केहीलाई बिफर लागेको थियो। तर, त्यो त्यति हानीकारक थिएन। यसैले ‘काउपक्स’ सारिदिँदा बिफरबाट जोगाउन सकिने निष्कर्षमा डा. जेनर पुगे।

जेनर सही थिए। उनले यस खोप विधिलाई ‘भाक्का’ नाम दिए, जसको अर्थ ल्याटिन भाषामा गाई हुन्छ। जेनरलाई धेरैले गिज्याए। तर, बेलायतभर उनले प्रशस्त प्रशंसक बटुले। र, १९ औँ शताब्दीको सुरुको दशकमा विश्वभर उनको कामले परिणाम दियो।

इतिहासकार माइकल बेनेटको हालै प्रकाशित पुस्तक ‘वार एगन्स्ट स्मलपक्सः एडवार्ड जेनर एन्ड दी स्प्रिड अफ भ्याक्सिनेसन’मा यो असाधारण खोप अभियानबारे उल्लेख छ। यो त्यस्तो समयमा चलेको अभियान थियो, जतिबेला बेलायत र फ्रान्स सघन युद्धमा थिए। अनि संसारभर अशान्ति थियो। तर, जेनर निरुत्साहित भएनन्। नेपोलियोनिक युद्ध चलिरहेको समयमा उनले आफ्ना फ्रान्सेली सहकर्मीहरूलाई आश्वस्त पारे, ‘विज्ञान कहिल्यै लडाईंमा हुँदैन’।

उनीहरूले आफ्नो निष्कपट प्रयास जारी राखे। जेनर र उनका विश्वभरका सहयोगीहरूको सञ्जाल तयार हुँदै गयो। र, त्यो सञ्जालले युद्धमै रहेका देशमा पनि खोप ढुवानी गर्न थाले। र, परिणामस्वरूप राष्ट्रिय द्वन्द्वभन्दा सार्वजनिक स्वास्थ्यको प्राथमिकताले अग्रगति प्राप्त ग¥यो।

त्यसैबीचमा जेनरले बेलायत र फ्रान्सबीच अनौपचारिक कूटनीतिज्ञको रूपमा काम गर्ने मौका पाए। उनलाई दुवै मुलुकले विश्वास गरे। खोप अभियानले विश्वव्यापी कूटनीतिक सम्बन्धको परिभाषा नै बदलिदियो। जेनरले खोप अभियान सञ्चालन गर्नुअघिसम्म मुलुकहरूले रोगविरुद्ध लड्न आपसी सहायताको पाटोमा सोचेका पनि थिएनन्। परम्परागत चिकित्सा बेकार सावित भइसकेको थियो। र, विश्वभरको पैसा पनि बिफरविरुद्ध बेकम्मा सावित भएको थियो। तर, यो खोपले महामारी अन्त्य गर्न सक्ने देखेपछि सबै मुलुकले धमाधम खरिद गर्न थाले।

अब राष्ट्रिय स्वार्थ परोपकारमा बदलिएको थियो। वास्तवमा, जेनर र अन्य बेलायती अधिकारीले देशको बढ्दो साम्राज्यको व्यवस्थापनका लागि खोपलाई अभिन्न अंग बनाउने आशा राखेका थिए। जेनरले घरमै बनाइरहेको चिकित्सकीय पूर्वाधारको तुलनामा उनले छिट्टै ‘बेलायती साम्राज्यभर बिफर उन्मुलन भएको समाज देखापर्ने’ आशा गरेका थिए।

अन्य मुलुकले पनि यसमा ध्यान दिन थाले। सन् १८०१ को सुरुवातमै अमेरिकाले भारतीय मुलका मानिसलाई बिफरविरुद्ध खोप दिन थाल्यो। राष्ट्रपति थोमस जेफरसनले प्रसिद्ध लुइस र क्लार्क अभियानको साथ पश्चिमा मुलुकतिर पनि खोप पठाएका थिए। तर, ती खोप प्रयोग गर्नुअघि नै बिग्रिएका थिए।

फ्रान्सले खोप कूटनीतिलाई अन्य मुलुकभन्दा धेरै अगाडि लग्यो। माइक्रोबायोलोजिस्ट लुई पास्चरले रेबिजको संक्रमण रोक्न एउटा खोप विकास गरे। फ्रान्स सरकारले यो खोपलाई व्यापक मात्रामा जनस्तरमा प्रयोग गर्न आफ्नो सम्पूर्ण उपनिवेशमा प्रयोगशालाहरू निर्माण गर्न आदेश दियो।

तथापि, सम्राटको स्वरुचिको आदेश लेख्न जति सहज थियो, व्यवहारमा उतार्न उति नै कठिन। तर, वैज्ञानिकहरूले खोप अभियानले राष्ट्रिय मतभेदहरू पनि पार गर्न सक्ने उद्घोष गरे। पास्चरले घोषणा नै गरे, ‘विज्ञानलाई कुनै देश थाहा छैन’।

यस्तै, शीतयुद्धको चरम अवस्थामा अमेरिका र तत्कालीन सोभियत संघ धेरैपटक आणविक युद्धको नजिक पुगेका थिए। तर, दुवै राष्ट्रले पोलियो खोपका लागि आपसी सहकार्य गरेका थिए। र, संसारभरका बालबालिकालाई पक्षघात र मृत्युसम्म डो¥याइरहेको पोलियो उन्मुलनका लागि यो अत्यावश्यक थियो।

सन् १९५० मा अमेरिकाले जोनास साल्कद्वारा विकसित पोलियो खोप दिन सुरु ग¥यो। यी खोप निश्क्रिय भाइरसमार्फत तयार भएका थिए, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्थे। तर, यस विधिमा महत्त्वपूर्ण कमजोरी थिए– बहु खोप र तिनलाई प्रभावकारी बनाउन बद्र्धक तत्त्वको प्रयोग। त्यसभन्दा दुःखदायी थियो, एक खराब ब्याचको खोपबाट उल्टै पोलियो संक्रमण भएको पत्ता लागेपछि अभिभावकले आफ्ना बालबालिकालाई खोप दिन बन्देज लगाए।

साल्कको दृष्टिकोणसँग भाइरोलोजिस्ट अल्बर्ट सबिन असहमत थिए। उनले भाइरसको सक्रिय तर कमजोर संस्करणको प्रयोग गर्न सल्लाह दिइरहेका थिए। दुर्भाग्यवस, अमेरिकी बलाबालिकामा यो खोप परीक्षण गर्ने इच्छा थिएन, न त प्रयोगको कुनै तरिका पत्ता लागेको थियो। धेरैले साल्कको खोप लगाइसकेका थिए र अरू अभिभावक यसको प्रयोगका लागि तयार थिएनन्।

तर, यो जोखिम उठाउन सोभियत संघ तयार भयो। सन् १९५६ मा एक सोभियत भाइरोलोजिस्ट दम्पतीले सबिनलाई भेटे र उनीहरूको सहकार्य अगाडि बढ्यो। एफबीआई (अमेरिका) र केजीबी (रुस) का एजेन्टले दुई टोलीमाथि निगरानी गरिरहेका थिए, अमरिकी भाइरोलोजिस्टहरू रुसी बालबालिकामा पोलियोको कमजोर जीवाणु खोपका रूपमा दिने तयारीमा जुटेका थिए।

विश्वभर छद्मयुद्ध लडिरहेका दुवै मुलुकले मानव इतिहासको सबैभन्दा ठूलो खोप परीक्षणमा सहयोग पुर्या‍एका थिए। सोभियत संघ र अन्य वामपन्थी मुलुकहरूले अन्ततः १० करोडभन्दा बढी मानिसलाई खोप दिए, जसमा धेरै बालबालिका थिए। यस अभियानलाई ब्रिटिस मेडिकल जर्नलले ‘पोलियोविरुद्ध ब्लिजक्रिग’ नाम दियो। ब्लिजक्रिग सैन्य अभियानमा प्रयोग हुने शब्द हो।

यसको अर्थ हुन्छ- एयरफोर्सको मद्दतसँगै बख्तरबन्द गाडी र स्थल सेनाबाट आक्रमण, एकसाथ गरिने यस्तो आक्रमणले दुश्मन सेनालाई असन्तुलित गरिदिन्छ र विजय सुनिश्चित हुन्छ। भाइरोलोजिस्ट अल्बर्ट सबिनको यो खोप अभियान पनि पोलियोविरुद्ध ‘ब्लिजक्रिग’ सावित भयो। र, एकसाथ विशाल मात्रामा खोप उत्पादन गरेर एकसाथ विश्वभर अभियान सञ्चालन गर्न सकिने प्रमाणित भयो।

अमेरिका र सोभियत संघ दुवैले संसारभर पोलियो खोप वितरण गर्न थाले। यो शास्त्रीय ढंगको खोप कूटनीति थियो। तथापि, प्रत्येक देशले आधुनिक चिकित्साको चमत्कार प्राप्त गर्दै सद्भावना खरिद गरिरहेका थिए। र, संसारभरका बालबालिकाले पोलियोबाट उन्मुक्ति पाउँदै थिए।

बिफर उन्मुलनको विश्वव्यापी महाअभियानमा पनि अमेरिका र सोभियत संघले सहकार्य गरेका थिए। सोभियत संघले बिफर खोपको ‘फ्रिज–ड्राइड’ संस्करण विकसित गर्यो‍। दुवै देशले मानव इतिहासको सबैभन्दा सफल खोप कार्यक्रममा मिलेर काम गरे र बिफरलाई संसारबाट सधैँका लागि निर्मुल पारे।

यी सफल सहकार्यले आधारभूत तथ्यतर्फ संकेत गर्छन्- भूराजनीतिक प्रतिस्पर्धाले घातक रोगविरुद्ध प्रभावकारी विश्वव्यापी प्रतिक्रिया अवरुद्ध हुँदैन। कोभिड–१९ महामारीको दोस्रो वर्षमा सबै मुलुकले सोच्नैपर्छ, इतिहासका सफmलताले सहकार्यमा जोड दिन्छन्, एकल प्रयासबाट विफलता मात्र हात लाग्छ। फेरि पनि, बिफर र पोलियोविरुद्ध चलाइएका विश्वव्यापी अभियानबाट सिक्ने हो भने सहयोगको त्यही ढाँचा ब्युँताउनु आवश्यक छ। अनि मात्र हामीले यो महामारीलाई सहजै परास्त गर्न सक्नेछौँ।

(ब्लुमबर्ग डट कमबाट)
 

 Published Date: Saturday, 8th May 2021 6:25:00 am