तीघ्रामा पनि लगाउन सकिन्छ कोभिड खोप

पाखुराको माथिल्लो भागमा कोभिड–१९ विरुद्ध खोप दिइन्छ भन्ने सामान्य विषय हो । तर, धेरै कमलाई जानकारी छ– खोप लगाउन अनुमोदित शरीरको अर्को अंग तीघ्रा पनि हो ।

तर, तीघ्रामा खोप विरलै लगाइन्छ । केही यस्ता समूह पनि छन्, जसले कोभिड–१९ खोप तीघ्रामै दिनुपर्ने ठान्छन् । र, स्वास्थ्यकर्मीसँग यसबारे खोप लिन व्यक्तिले कुरा गर्नुपर्ने बताउँछन् ।

कसले तीघ्रामा खोप लगाउने ?

(१) दुवै पाखुरामा लिम्फडिमाको समस्या भएका व्यक्ति

लिम्पडिमा एक पुरानो र पीडादायी स्वास्थ्य समस्या हो, जसले शरीरका विभिन्न अंग सुन्निने जटिलता उत्पन्न गराउँछ । यो स्तन क्यान्सर भएका बिरामीमा बढी देखापर्छ । त्यस्तो समस्या भएका व्यक्तिको पाखुराबाट शल्यक्रिया गरी लिम्फ ग्रन्थीहरू निकाल्नुपर्छ । ग्रन्थीहरू हटाउँदा लिम्फको प्रवाहमा बाधा पुग्छ, स्नायुबाट आउने अतिरिक्त तरल पदार्थ लिम्फेटिक प्रणालीमार्फत रक्त प्रवाहमा मिसिन्छ । यसले तरल पदार्थलाई रोक्छ र शरीरका विभिन्न अंग सुन्निने समस्या देखापर्छ ।

मोडर्ना र फाइजर–बायोन्टेकको क्लिनिकल परीक्षणमा सहभागी केहीमा खोप लगाएको दुईदेखि चार दिनसम्म काखीका लिम्फ ग्रन्थी वा गर्धन सुन्निने समस्या देखिएको थियो । पाखुराको त्यही पाटोमा खोप लगाइएको थियो । यो छोटो अवधिको सामान्य साइड इफेक्ट थियो, जसको अर्थ शरीरले खोपप्रति प्रतिक्रिया जनाइरहेको थियो । मोडर्ना खोप लगाएपछि सुन्निने समस्या एकदेखि दुई दिनसम्म देखिएको थियो । तर, फाइजर–बायोन्टेक खोप लगाएका मानिसमा यो समस्या १० दिनसम्म देखियो ।

यदि कसैका दुवै पाखुरामा लिम्फडिमा छ वा बिरामीलाई दुवैतर्फमा लिम्फडिमा हुने जोखिम छ भने यस्ता बिरामीलाई कोभिड–१९ विरुद्धको खोप तीघ्रामा लगाउन सकिने चिकित्सकको छ । किनकि, लिम्फेटिक समस्या भएको पाखुरामा खोप लगाउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो नहुन सक्छ ।

‘लिम्फ भेसल्स हाम्रा सबै स्नायुबाट बाहिर तरल पदार्थ निकाल्न जिम्मेवार हुन्छ । त्यसैले यदि तपाईंको लिम्फेटिक निकास राम्रो छैन भने स्नायु सुन्निन्छ,’ युनिर्भसिटी अफ मिनेसोटा मेडिकल स्कुलका सेन्टर फर इम्युनोलोजीका निर्देशक मार्क जेन्किन्सले भने ।

बोस्टनस्थित म्यासाचुसेट्स जनरल हस्पिटलका लिम्फडिमा रिसर्च प्रोग्रामकी सहायक निर्देशक चेरिल बु्रनेलको सुझाव छ– एउटा पाखुराबाट लिम्फ ग्रन्थी निकालेका बिरामीले तीघ्राको सट्टा अर्को पाखुरामा पनि खोप लगाउन सक्छन् ।

(२) स्तन क्यान्सरको समस्या भएका मानिस

काखीका ग्रन्थी सुन्निने समस्या स्तन क्यान्सरको लक्षण हो । स्तन क्यान्सरको इतिहास भएको कसैलाई फाइजर–बायोन्टेक वा मोडर्ना खोपका कारण लिम्फ ग्रन्थी सुनिने समस्या देखिनु जोखिमपूर्ण भएको ब्रुनेल बताउँछिन् ।

सम्भावित जोखिम कम गर्न स्तन क्यान्सरको इतिहास भएका महिलाले इच्छा गरेमा पाखुराको साटो तीघ्रामा खोप लगाउन सक्ने उनको सुझाव छ ।

(३) खोप लगाएको ६ साताभित्र म्यामोग्राम एक्सरे

कोरोनाविरुद्ध खोप लगाएपछि काखी वा घाँटीको हड्डीनजिकै लिम्फ ग्रन्थी सुन्निन्छ भने स्तन क्यान्सरको लक्षण भएको भान पनि पर्न सक्छ । त्यसैले चिकित्सकहरूले खोप लगाएको ६ साताभित्र म्यामोग्राम एक्सरे गर्न सुझाएका छन् ।

सोसाइटी अफ ब्रेस्ट इमेजिङको सिफारिस छ– ‘नियमित म्यामोग्राम गर्ने तालिकालाई कोभिड–१९ खोप लगाउनुअघि वा दोस्रो खोप लगाएको कम्तिमा एक महिनापछि परीक्षण गर्नुपर्छ । विकल्पका रूपमा पाखुराको साटो तीघ्रामा खोप लगाउन सकिन्छ ।’

म्यासाचुसेट्स जनरल हस्पिटलको ब्रेस्ट इमेजिङ विभाग प्रमुख डा. कन्स्टेन्स डी. लेहम्यानले भने, ‘तीघ्रामा लगाइने खोपका कारण काखी सुन्निने ग्रन्थीको समस्या एकदमै न्यून हुन्छ ।’

पाखुरामा खोप लगाउन तयार भएका व्यक्तिले म्यामोग्राम परीक्षणका लागि समय लिइसकेको भए म्यामोग्राम र खोप लगाउने तालिका दुवै स्थगित गर्नुपर्ने चिकित्सकको सुझाव छ । र, आफूले एक्सरे गर्ने गरेको बे्रस्ट इमेजिङ सेन्टरलाई आफ्नो खोप तालिका बताउनु आवश्यक रहेको उनीहरू बताउँछन् ।

यस्ता बिरामीले ६ साताअघि कोभिडविरुद्ध खोप लगाएका छन् भने रेडियोलोजिस्टले खोप लिएको भागमा लिम्फ ग्रन्थी सुन्निने शंका गर्छन् । बु्रनेलले भनिन्, ‘सुन्निने समस्या ६ साताभन्दा बढी कायम रह्यो वा अन्य क्लिनिकल समस्या छन् भने त्यसबारे थप परीक्षण आवश्यक हुन्छ । र, रेडियोलोजिस्टले आवश्यकताअनुसार अधिक तस्बिर लिन्छन् ।’

(४) यसकारण तीघ्रामा खोप

कोभिड–१९ खोप संसारभरि पाखुरामा दिइन्छ । यो विधि छिटो र प्रभावकारी छ अनि खोप लगाउने उद्देश्यले कपडा खोल्न कुनै गोप्य कोठा आवश्यक हुँदैन । सोही कारण सबैलाई पाखुरामै खोप दिने गरिएको हो । कतिपय खोप केन्द्रका स्वास्थ्यकर्मीलाई तीघ्रामा खोप दिन तालिम नदिइएको पनि हुन सक्छ ।

पाखुरामा खोप लगाउँदा समस्या हुने बिरामीले खोप केन्द्र वा फार्मेसीमा आफ्नो समस्या स्पष्ट रूपमा बताउनुपर्ने ब्रुनेलले सल्लाह छ । ‘स्वास्थ्यकर्मीले तीघ्रामा खोप दिन नसकिने बताएमा मोडर्ना र फाइजरलाई तीघ्रामा खोप दिन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको निर्देशिका देखाउनोस्, जसमा तीघ्रालाई पनि खोप दिने अंगको सूचीमा राखिएको छ,’ उनी भन्छिन् ।

(५) पाखुरामा खोप लगाइसकेका व्यक्तिले चिन्ता गर्नुपर्दैन

स्तन क्यान्सर भएको या लिम्फ ग्रन्थीको समस्या भएको भागमा खोप लगाइसकेको छ भने पनि चिन्ता नलिन चिकित्सकको सुझाव छ । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा खोप लगाउनु हो,’ म्यासाचुसेट्स जनरल हस्पिटलको लिम्फडिमा रिसर्च प्रोग्राम निर्देशक डा. अल्फान्ज तागियानले भने, ‘खोप लगाइसकेका महिलालाई हामी त्रसित नबन्न सुझाव दिन्छौँ । किनकि, कुनै जटिल समस्या नआउन सक्छ ।’

(६) खोप किन पाखुरामै ?

कोभिड–१९ खोपहरू मांसपेशीमै लगाउनका लागि डिजाइन गरिएको छ । र, पाखुराको माथिल्लो भागको मांसपेशीमा खोप लगाउने गरिएको छ । पाखुरामा शरीरको अन्य भागभन्दा कम पीडा हुने सोच देखिन्छ ।

मांसपेशीमा खोप लगाउन सकिन्छ । अझ लिम्फ ग्रन्थीनजिकका मांसपेशीमा खोप लगाउँदा प्रभावकारी हुने विश्वास छ । तीघ्राको माथिल्लो भागमा धेरै लिम्फ ग्रन्थी हुन्छन् र तीघ्रामा खोप लगाउँदा प्रभावकारी प्रतिरक्षा प्रणाली उत्पन्न हुन्छ ।

दशकौँअघि खोपहरू प्रायः नितम्बमा लगाइन्थ्यो । तर, मानिसको नितम्बमा हुने अनगिन्ती फ्याट सेलको तहले मांसपेशी र लिम्फमा सजिलो पहुँचलाई अवरुद्ध बनाउने र प्रतिरक्षा प्रणालीलाई मजबुत नबनाउने निष्कर्षमा वैज्ञानिकहरू पुगे । नितम्बका नशामा चोट पुगेको देखिएका कारण पनि शरीरका अन्य भागमा खोप लगाउन थालिएको हो ।

- न्युयोर्क टाइम्सबाट

 Published Date: Sunday, 2nd May 2021 6:36:00 am