Kathmandu Press

महन्थ-राजेन्द्र समूहलाई झड्का- लुम्बिनीका जसपा सांसदलाई केन्द्रीय कार्यकारिणीको बहुमतबाट कारवाही

संघीय संसदको चौथो ठूलो दल जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई झड्का पुग्नेगरी केन्द्रीय कार्यकारिणीको बहुमतबाट लुम्बिनी प्रदेश सरकार जोगाउन भूमिका वहन गरेका चार सांसदलाई पदबाट हटाउन पत्र पठाउने निर्णय मंगलबार नै भएको थियो।
महन्थ-राजेन्द्र समूहलाई झड्का- लुम्बिनीका जसपा सांसदलाई केन्द्रीय कार्यकारिणीको बहुमतबाट कारवाही
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १६ : संघीय संसदको चौथो ठूलो दल जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई झड्का पुग्नेगरी केन्द्रीय कार्यकारिणीको बहुमतबाट लुम्बिनी प्रदेश सरकार जोगाउन भूमिका वहन गरेका चार सांसदलाई पदबाट हटाउन पत्र पठाउने  निर्णय मंगलबार नै भएको थियो।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ६ वैशाखमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव अगाडि बढाएका थिए। तर, प्रस्ताव दर्ता भएको केहीबेरमै जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश सरकारको मन्त्रीको सपथ लिएका थिए।

सोही दिन जसपा प्रदेशसभा संसदीय दलले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको थियो। मंगलबार ललितपुर बालकुमारीमा सम्पन्न उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको बैठकबाट बहुमतका आधारमा उनीहरूलाई सांसदबाट हटाउन प्रदेशसभामा पत्र पठाउने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

उनका अनुसार केन्द्रीय कार्यकारिणीका ५१ मध्ये ३२ जनाको बहुमतबाट चार सांसदलाई पदबाट हटाउन प्रदेशसभामा पत्र पठाउने निर्णय भएको थियो।

ठाकुर र महतो झस्किने गरी यो निर्णय भएको अर्का एक नेताले बताए। ‘यस निर्णयबाट अब पार्टी लाइन फलो गर्ने कि फुटाउनतिर लाग्ने भन्ने सकसमा महन्थ र राजेन्द्र परेका छन्,’ ती नेताले भने, ‘यो निर्णयको अर्थ अब प्रधानमन्त्री केपी ओलीको सरकार टिकाउन लागिपरेर राजनीतिक रूपमा सहिद हुने कि पार्टी लाइन फलो गर्ने भन्ने समस्यामा उहाँहरूलाई पारेको छ।’

आफ्नै पार्टीभित्र माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने जोखिममा रहेको ओली सरकारलाई टिकाउन जसपा अनिर्णयको बन्दी बन्न नहुने लाइनमा मंगलबारको निर्णय आएको उनको भनाइ छ। ‘केन्द्रीय कार्यकारिणीको बहुमतले लुम्बिनीका चार सांसदलाई कारवाही गर्ने निर्णय गर्‍यो, अब पार्टी प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको हकमा अगाडि बढ्यो,’ उनले भने।

१-२ दिनभित्रै जसपा केन्द्रीय कार्यकारिणीको बैठक बस्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लिएर जाने बहुमतका आधारमा निर्णय गर्ने सम्भावना देखिएको छ। अध्यक्ष यादवले ओली सरकारलाई हटाएर वैकल्पिक सरकार गठन हुनुपर्ने राजनीतिक प्रस्ताव अगाडि सारेका छन्। उक्त प्रस्ताव पारित गर्ने विषयमा अध्यक्ष ठाकुर र महतोले आनाकानी गर्दै आएका छन्।

जसपा शीर्ष नेताहरू मंगलबार केन्द्रीय कार्यालयमा अपराह्न १ बजे भेला भएका थिए। तर, त्यसबाट कुनै निर्णय भएको थिएन। त्यसलगत्तै अलग्गै बैठक बसेर लुम्बिनी प्रदेशका चार सांसदलाई हटाउने निर्णय भएको हो। केन्द्रीय कार्यकारिणीमा यादव र डा. बाबुराम भट्टराई पक्षधर २५ सदस्य छन्। बैठकमा शरतसिंह भण्डारी, महेन्द्रप्रसाद यादवलगायत नेता पनि उपस्थित भएको ती नेताहरूको दाबी छ । उनीहरू हालसम्म महन्थ-राजेन्द्र समूहमा रहेको मानिँदै आएको थियो।

जसपाको मागबमोजिम सरकारले बुधबार मात्र १५ वटा मुद्दामा दोषी बनाइएका एक सय २० जनाको मुद्दा खारेज गर्ने निर्णय भएको सार्वजनिक गरेको थियो। त्यसबाट ठाकुर-महतो पक्ष उत्साहित देखिएको थियो। तर, बिहीबार एकाएक लुम्बिनी प्रदेशसभा सचिवालयले चारै सांसद पदमुक्त भएको सूचना टाँसेपछि ठाकुर-महतो आत्तिएका छन्। महतोले त यो फर्जी काम भएको दाबी नै गरेका छन्।
 

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्