Kathmandu Press

त्यो धरहरा, यो धरहरा

प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरेसँगै तेस्रोपटक धरहरा उभिएको छ, काठमाडौंको केन्द्रमा।
त्यो धरहरा, यो धरहरा
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरेसँगै तेस्रोपटक धरहरा उभिएको छ, काठमाडौंको केन्द्रमा। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा विसं १८८२ मा पहिलोपटक ११ तलाको धरहरा निर्माण गर्न लगाएका थिए। विसं १९९० को भूकम्पबाट भत्किएपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पुनर्निर्मित धरहरा उद्घाटन गरेका थिए। १२ वैशाख ०७२ को भूकम्पबाट भत्किएको धरहराको भग्नावशेष १० मिटरनजिकमा कायम राखेर शनिबार २२ तलाको अर्को धरहरा उद्घाटन गरिएको हो।

धरहरा स्थापनादेखि हालसम्म आइपुग्दा यसको संरचना फरक बन्दै आएको छ। हाल निर्माण गरिएको धरहरा नयाँ शैलीमा भूकम्प प्रतिरोधी बनाइएको राष्ट्रिय प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए। उनका अनुसार पुरानो संरचनामा केही थप गरिएको छ।

पुरानो धरहरा

१२ वैशाख ०७२ सम्म धरहरा क्षेत्रले साढे चार रोपनी क्षेत्रफल ओगटेको थियो, जसको सातौँ तल्लामा बार्दली थियो। त्यो धरहराको उचाइ ६३ दशमलव ८ मिटर थियो।

तस्बिर : सुजल बज्राचार्य/काठमाडौं प्रेस

‘भूकम्पले भत्काएको धरहराभित्र २१३ र बाहिर २५ सिँढी थिए,’ इन्जिनियर मानन्धरले भने, ‘धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो।’

पुरानो धरहराको नवौँ तलामा शिवलिंग राखिएको थियो भने टुप्पोमा गजुर थियो। उक्त धरहरा गोलाकार थियो। गोलाकार आयतन आठ मिटर थियो।

पुरानो धरहरामा इँटा, बज्र (सुर्की, चुना, मास र चाकुको मिश्रण)बाट बनाइएको थियो। उक्त धरहरा भूकम्प प्रतिरोधी भने थिएन। धरहरा प्रवेशपछि स-साना खाजा पसल थिए।

नयाँ धरहरा

१२ पुस ०७५ मा दिन प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए।

नयाँ धरहरा निर्माणका लागि जीआईईटीसी-रमन जेभीले ठेक्का पाएको थियो। सोही कन्स्ट्रक्सनले काम गरिरहेको छ। ‘नयाँ र पुरानो धरहरामा फरक छ,’ इन्जिनियर मानन्धरले भने, ‘अहिलेको धरहरा भूकम्प प्रतिरोधी बनाइएको छ।’

उनका अनुसार अहिलेको धरहरा ४२ रोपनी क्षेत्रफलमा छ र ८२ मिटर अग्लो छ।  गोलाकारको आयतन १४ दशमलव २ मिटर छ। पुनर्निर्मित धरहरा कुल २५ तलाको छ।

पहिला धरहरा मात्रै थियो। अहिले गाडी पार्किङका लागि ३ तला छुट्याइएको छ। दुईवटा संग्रहालय हुनेछन्। भूकम्प र मीन (सिक्का बनाउने) संग्रहालय हुनेछन्।

पर्यटकीय गतव्य बनाउने हिसाबबाट धरहरा पुनर्निर्माण गरिएको छ, जसमा दुईवटा लिफ्ट र एउटा भर्‍याङ राखिएको छ। २२ औँ तलामा शिवलिंग स्थापना गरिएको छ, जुन ८ वैशाख ८ मा प्रतिस्थापन गरिएको हो।

धरहरा पुनर्निर्माणका लागि ३०८ करोड रुपैयाँमा निर्माण व्यावसायीसँग सम्झौता भएको छ। त्यसमध्ये करिब २१० करोड रुपैयाँ खर्च भइसकेको इन्जिनियर मानन्धरले जानकारी दिए।

धरहराबाहेक वरिपरिका ६५ प्रतिशत संरचना तयार भएका छन्। पार्किङ, बगैँचा, संग्रहालय, बाटो निर्माण बाँकी छ। आगामी १० पुससम्ममा सबै काम सक्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार तत्काल धरहरा आगन्तुकका लागि खुला हुने छैन। वरिपरिका सबै संरचना तयार भएपछि मात्र आगन्तुकका लागि खुला गरिने मानन्धरले जानकारी दिए। उनले भने, ‘मंसिर अन्तिमदेखि मात्र पर्यटकका लागि खुला हुन्छ।’

इन्जिनियर मानन्धरका अनुसार भर्‍याङ राख्‍न बाँकी छ। १९ र २० औं तलामा भर्‍याङ राखिसकिएको छ। अन्य तल्लामा भर्‍याङ राख्‍ने काम भइरहेको छ।

दुई तह अन्डरग्राउन्ड छ भने तेस्रो तला ग्राउन्ड फ्लोर हो। ग्राउन्ड फ्लोरभन्दा माथि २२ वटा तला छन्। अन्डरग्राउन्डसहित गरेर २५ तलाको धरहरा बनेको मानन्धरले जानकारी दिए।

तीनवटा तलामा पार्किङ रहने छ, जसमा  तीन सय ४७ वटा गाडी अट्ने छन् भने सात सयभन्दा बढी मोटरसाइकल राख्‍न सकिनेछ। यस्तै, खिचापोखरीदेखि टुँडिखेल जाने एउटा बाटो बनाउन बाँकी छ।
 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्