Kathmandu Press

फुटउन्मुख एमाले, अध्यक्ष ओलीले नै देखाइदिए विभाजनको बाटो

अध्यक्ष ओली समूहको दशौँ महाधिवेशन आयोजक कमिटीको शुक्रबारको बैठकले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहलाई ‘बाइपास’ गर्दै नयाँ स्थायी समिति घोषणा गरेपछि एकताको सम्भावना लगभग समाप्त भएको छ।
फुटउन्मुख एमाले, अध्यक्ष ओलीले नै देखाइदिए विभाजनको बाटो
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १० : एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार भएका दुईवटा वार्ताबाट पार्टी एकताको झिनो आशा गरेका नेता-कार्यकर्ता शुक्रबार अपराह्नपछि निराश बनेका छन्। अध्यक्ष ओली समूहको दशौँ महाधिवेशन आयोजक कमिटीको शुक्रबारको बैठकले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहलाई ‘बाइपास’ गर्दै नयाँ स्थायी समिति घोषणा गरेपछि एकताको सम्भावना लगभग समाप्त भएको छ।

२८ फागुनमा जसरी ओलीले आफू पक्षका केन्द्रीय सदस्य मात्र सम्मिलित बैठकमार्फत पार्टी पदाधिकारी हटाउने निर्णय गरेका थिए, त्यसरी नै शुक्रबार आफूपक्षीय समूहको बैठकमार्फत स्थायी कमिटी पुनर्गठन गरेका छन्। २८ फागुनको निर्णय फिर्ता भएर २ जेठ ०७५ को अवस्थामा पार्टी नफर्किएसम्म ओली पक्षका कुनै बैठकमा सहभागी नहुने अडानमा नेपाल-खनाल समूह रहिआएको छ। सोही अडानका कारण शुक्रबारको बैठकमा पनि नेपाल-खनाल समूह सहभागी भएको थिएन।

महाधिवेशन आयोजक कमिटी बैठकमा अध्यक्ष ओलीले ‘दुई कदम पछाडि हटेर एक कदम अगाडि बढ्ने’ लेनिनको शैली आफूले अवलम्बन गर्दा पनि ‘कुनै फाइदा हुने संकेत नदेखेको’ बताएका थिए। वरिष्ठ नेता नेपाल र सचिव योगेश भट्टराईसँग भेटेर कुरा गर्दा पनि पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति गर्न नसकेको ओलीले बताएका थिए।

त्यसअघि जनकपुरमा आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता नेपालले नवनिर्मित धरहरा देखाउँदै अध्यक्ष ओलीले त्यसभन्दा अग्लो दम्भ प्रदर्शन गरेको आरोप लगाएका थिए।

‘उहाँको दम्भ धरहराभन्दा अग्लो छ। धरहरा हेरेर दम्भ देखाइरहनुभएको थियो। उहाँ ‘खाए खा, नखाए घिच’ भन्ने शैलीमा देखिनुभयो,’ नेपालले भनेका थिए, ‘पहिलो दिनको भेटले अलिकति आश जागेको थियो।’ दोस्रो वार्तापछि त्यो आशा पनि समाप्त भएको उनले बताएका थिए।

बिहीबार राति अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमसँग ‘डिनर मिटिङ’ गरेका थिए। तर, पार्टी पदाधिकारी हटाउने २८ फागुनको निर्णय फिर्ता लिन अध्यक्ष ओलीले अस्वीकार गरेपछि आधा खाना छाडेर आफू बाहिरिएको दाबी गौतमले गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने आफ्नो फेसबुक पृष्ठमा खाना सकेर गौतम उठ्दै गरेका तस्बिरहरू बिहीबार राति नै पोस्ट गरेका थिए।

नवघोषित स्थायी समितिमा गौतम अटाएका छन्। नेपाल-खनाल समूहका सबै नेतालाई स्थायी समितिबाट हटाइएको छ। नवघोषित स्थायी समितिमा अध्यक्ष ओली, उपाध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा ’बादल’ र उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा छन्। नेपाल र खनालसहितका नेता समेटिएका छैनन्।

यसअघिको २२ सदस्यीय स्थायी समितिमा ओली र नेपाल-खनाल समूहको ‘स्ट्रेन्थ’ आधा-आधा थियो। ओली, नेपाल, खनाल, गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा स्थायी समिति सदस्य थिए। तीमध्ये नेपाल समूहमा नेपाल, खनाल, रावल, शाक्य, ज्ञवाली, भुसाल, आचार्य, बिष्ट, भट्टराई, पाण्डे, न्यौपाने थिए।

‘अब नेपालमा कम्युनिस्ट पार्टीहरू फुट्नु हुँदैन भन्ने जनअपेक्षा मात्र एमालेमा एकताको आधार बाँकी रह्यो,’ एमाले सचिव योगेश भट्टराईले काठमाडौं प्रेससँग भने, ‘तथापि, यस्ता  निर्णयको केही अर्थ छैन। अझै पनि पार्टी एक रहनुपर्छ।’ यसअघिको स्थायी समितिमा रहेका अन्य नेताले ओली पक्षको पछिल्लो निर्णयबारे प्रतिक्रिया दिन मानेनन्।
 

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्