Kathmandu Press

सरकारलाई दिएको समर्थनबारे माओवादी अनिर्णीत, भोलि पुनः बैठक बस्ने

काठमाडौं, वैशाख ७ : प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा...
सरकारलाई दिएको समर्थनबारे माओवादी अनिर्णीत, भोलि पुनः बैठक बस्ने

काठमाडौं, वैशाख ७ : प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा पुग्न सकेको छैन।

माओवादीका नेताले मौखिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गरिरहे पनि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न सकेको छैन। वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि उक्त छलफलले आकार लिन सकेको छैन। कांग्रेसले केन्द्रीय कार्य समितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीले आफूलाई स्पष्ट पार्न सकेको छैन।

Hardik ivf

सरकारलाई दिएको समर्थनलगायत कार्यसूचीमा छलफल गर्न आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठक उक्त विषयमा निष्कर्षमा पुग्न सकेन। सोही विषयमा छलफल गर्न बुधबार माओवादीको स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताउँदै प्रवक्ता श्रेष्ठ वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको र औपचारिक रूपमा फिर्ता लिन मात्रै बाँकी रहेको बताए। 'यो सरकारलाई हाम्रो समर्थन छैन, हाम्रो गतिविधिले पनि त्यो देखाइरहेको छ,' बैठकपछि सञ्चारकर्मीसँग उनले भने, 'औपचारिकरूपमा समर्थन नरहेको लेखेर दिन मात्र बाँकी छ।'

माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने विषयलाई निष्कर्षमा पु¥याउने निर्णयसमेत गरेको छ। 'वर्तमान सरकारलाई हटाएर प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने, संविधान र लोकतन्त्र पक्षधर शक्तिको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्तालाई तीव्ररूपमा अगाडि बढाउने र छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ,' प्रवक्ता श्रेष्ठले भने।

माओवादीले सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य गरिनु दुःखद् भएको जनाएको छ। उनले भने, 'संसद् बैठकको मिति र समय निश्चित भएको तथा अधिवेशनलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने काम गर्‍यो । यो कदमलाई पार्टीले विरोध गरेको छ।'

बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न कार्य क्षेत्रमा रहेका स्थायी समिति सदस्यले ‘रिपोर्टिङ’ गरेका थिए।

माओवादीले मुलुकमा कोरोना भाइरसको दोस्रो लहर देखिन थालेको भन्दै नियन्त्रणका लागि उचित निर्णय लिन सरकारलाई आग्रह गरेको छ।  माओवादीले आफैंले बनाएको आचरणको पालना गर्न सरकारलाई आह्वान गरेको छ।

स्थायी कमिटी बैठक भोलि अपराह्न पुनः १ बस्नेछ। त्यसमा पनि सरकारलाई दिएको समर्थनबारे निर्णय हुनसक्ने जनाएको छ।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्