‘कानुनी क्षेत्रमा पुरुषकै हालिमुहाली देखेर न्यायका लागि लड्न र बुझ्न कानुन पढेँ’

रुकमणी महर्जन नेपाल ल क्याम्पसमा उप–प्राध्यापक छन् । नेपाल ल क्याम्पसबाटै एलएलबी र एलएलएम उत्तीर्ण गरेकी महर्जनले युनिभर्सिटी अफ एसेक्स बेलायतबाट समेत दोहोर्‍याएर एलएलएम गरेकी छन् ।

अधिवक्तासमेत रहेकी महर्जन समाज र साहित्य अध्ययनमा पनि रुचि राख्छिन् । कतिपय कानुनका विद्यार्थीका लागि उनी प्रेरणाकी स्रोत हुन् ।

प्रस्तुत छ, पछिल्लो समय महिला अधिकारका क्षेत्रमा आवाज उठाउँदै आएकी महर्जनसँग कानुन विषयको अध्ययनमा महिलाको अवस्थाबारे काठमान्डुप्रेसकर्मी सरिशा अछामीले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंलाई कानुन विषय पढ्ने सोच कसरी आयो ? 

सुरुमा कानुन विषय पढ्ने योजना थिएन । स्कुलमा हुँदा हाम्रो रहर भिन्नभिन्न हुन्छ । फ्लोरेन्स नाइटिंगेलबारे सुन्दा नर्स बन्न मनलाग्ने, पारिजातका पुस्तक पढ्दा लेखक बन्न मन लाग्ने, पासाङ ल्यामु शेर्पाको बारेमा पढ्दा हिमाल चढ्न मन लाग्ने हुन्थ्यो । 

प्लस टु पढ्ने समयसम्म गणित र विज्ञान विषय राम्रो भएका कारण इन्जिनियर पढ्छु भन्ने सोचेकी थिएँ । त्रिचन्द्र क्याम्पसमा अंग्रेजी र फिलोसफी विषय लिएर स्नातक पढ्दै गर्दा कानुन पढ्यो भने समाजमा सहयोग पुर्‍याउन सकिन्छ भन्ने लाग्यो । अंग्रेजी साहित्य र दर्शन विषयले पनि समाजमा केही गर्नुपर्छ प्रेरणा मिल्थ्यो ।

त्यतिबेला पनि पत्रपत्रिकामा अहिलेजस्तै बेथिति, भ्रष्टाचार, महिलाहिंसा र बलात्कारका समाचार आउँथ्यो, त्यो देख्दा मन आत्तिन्थ्यो । विधिको शासन हुन, सबैले स्वतन्त्र भएर बाँच्न र विभेद वा हिंसामा परेका महिला वा जोकोहीलाई न्याय दिन कानुन बलियो हुनुपर्छ, सबैले कानुन बुझ्नुपर्छ भन्ने लाग्यो । कानुनसम्बन्धी केही पुस्तक पढेँ, कानुनका विज्ञका अन्तर्वार्ता, लेख पढ्न थालेँ । यी सबैले मलाई कानुन पढ्न प्रेरित गर्‍यो । र, नेपाल ल क्याम्पसमा एलएलबीमा भर्ना भएँ ।

महिलाले कानुन किन पढ्नुपर्छ ?

महिला सशक्तीकरणका लागि कानुन पढ्न वा बुझ्न आवश्यक छ । देशमा लामो समयदेखि कानुनी क्षेत्रमा पुरुषकै हालिमुहाली छ । समाज पुरुषवादी भएकाले समाजमा महिलामाथि विभेद पनि छ । त्यसैले न्यायका लागि लड्न, बुझ्न र आफू सचेत हुन महिलाले कानुन पढ्नुपर्छ । कानुनी पेसालाई सम्मानका साथ हेरिन्छ ।

तपाईंले पढ्ने बेला कानुन विषय अध्ययन गर्ने कति थिए ?

२०६१÷६२ सालमा नेपाल ल क्याम्पसमा करिब पाँच सय जति भर्ना भएका थिए । एलएलबीको कक्षामा एक सयजना जति दैनिक आउँथेँ, जसमा १० जना मात्र महिला थियौँ । पछि एलएलएमका लागि पाँचजना महिलाको नाम निस्कियो । जसमा दैनिक आउने चारजना मात्र हुन्थ्यौँ । त्यो बेला महिलाको सहभागिमा न्यून नै देखिन्थ्यो । 
 
उच्च तहमा कानुन विषय अध्ययन गर्ने महिलाको सहभागिता र क्षमता कस्तो पाउनुभएको छ ? 

महिला क्षमतावान् छन् । पहिला पहिला एलएलएमको परीक्षामा महिलाको टप १० मा नाम आउँदैनथ्यो । अहिले टप १० मा महिला छन् । त्यसकारण महिलामा क्षमता र सीप बढिरहेको देखिन्छ । महिलाहरूमा उत्साह पनि देखिन्छ । फौजधारी कानुन, जटिल कानुन, मुद्दा मामिला, परिवार कानुन, जग्गा कानुन सबै क्षेत्रमा महिला सक्रिय भएको पाइन्छ ।

अहिले कानुन व्यवसायमा कति महिला छन् ? 

देशभर करिब २३ हजारले कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरेका छन् । जसमा करिब तीन हजारको हाराहारीमा मात्र महिला छौँ । तीन हजारमध्ये २६ जना मात्र वरिष्ठ अधिवक्ता महिला छन् । पछिल्लो समय न्यायिक सेवामा महिला प्रवेश गरेका छन् । 

कानुन व्यवसाय गर्न महिलालाई कत्तिको सहज छ ? 

कानुनी क्षेत्र फराकिलो भएको छ । महिलाले कानुन पढ्नेबित्तिकै मुद्दा–मामिलामा मात्र काम गर्नुपर्छ भन्ने छैन । कानुनी क्षेत्रसँग जोडिएर थुपै्र काम गर्ने अवसर छन् । न्याय सेवामा जान सकिन्छ, सरकारी सेवा, अनुसन्धान, अध्यापन गराउने, परार्मश दाता लगायत धेरै अवसर छन् ।

कानुनी क्षेत्रमा धेरै रोजगार सिर्जना भएको छ । कानुन पढेर बेरोजगार भएको सुनेकी छैन । अध्ययन गरेर रोजगारी पाउनु सबैका लागि महत्वपूर्ण पक्ष हो। 

महिला अधिवक्तालाई सेवाग्राहीले कसरी लिन्छन् ? 

अझै पनि समाजमा महिलालाई हेर्ने सोच परम्परागत नै पाइन्छ । कानुनी व्यवसायीमा महिलाले भन्दा पुरुषले राम्रोसँग बहस गर्छन् भन्ने भ्रम फैलिएकोे छ । महिलाले मुद्दाका लागि समय दिँदैनन् र पुरुष अधिवक्ताले समय दिन्छन् भन्ने मानसिकता बनाएको पनि पाइन्छ। 

महिला घर व्यवहार सम्हाल्ने व्यक्ति हुन्, मुद्दालाई धेरै समय दिँदैनन् भनेर सेवाग्राहीले विश्वास नगरेको धेरै सुनिन्छ । यसर्थ, लैंगिक रूपमा विभेद छ र महिलालाई चुनौती छ । महिलाले व्यक्तिगत जिम्मेवारी र पेसागत जिम्मेवारी कायम गरिराख्न कठिन भएको देखिन्छ।

कानुन व्यवसायी महिलाले कस्ता समस्या झेल्नुपर्छ ?

कलेजमा पढेको कुरा र अभ्यासमा आउने कुरा फरक हुन्छ । मुद्दा कसरी लेख्ने, कसरी दायर गर्ने, कसरी बहस गर्ने भन्ने सीपका कुरा हुन् । अभ्यास जति गर्न सक्यो, त्यति नै धेरै निखारिँदै जाने कुरा हो । अभ्यास, दक्षता अनुभव उमेरले आउँछ । सोही कुरा नयाँ कानुन व्यवसायीमा नहुँदा समस्या पर्छ ।

अहिलेका ऐन–कानुनले महिलालाई कानुन व्यवसायी बन्न कतिको सहज बनाएको छ ? 

नेपालको ऐन–नियम कानुन बिस्तारै प्रगतिशील भएका छन् । हामी समानतामा विश्वास राख्छौँ । संविधानको धारा १८ मा समानताको हक र धारा ३८ मा महिलाको हक छ । विभेद कहाँ छ भने नागरिकता सार्वजनिक क्षेत्रमा छ ।  

कानुनहरू बिस्तारै परिवर्तन भइरहेका छन् । अदालतको फैसलाले पनि सहयोग गरिरहेका छन् । लैंगिक समानता कायम गर्नेतर्फ अग्रसर छौँ । तर, पूर्णरूपमा लैंगिक समानता छैन । मानव विकास सुचांक २०२० ( ह्युमन डिभलोपमेन्ट इन्डेक्स २०२०) अनुसार नेपालमा लैंगिक असमानता ०.४४६ रहेको छ।

कस्तो कानुन बनाउँदा महिला सहभागिता बढ्छन् ? 

कानुनी सुधारभन्दा पनि समाजमा सचेतना आवश्यक देखिन्छ । महिलाका लागि महिलामैत्री अवसर सिर्जना गर्न सके महिलाको अझै आकर्षण बढ्छ । किनभने, महिलाहरू अध्ययन गर्छन्, तर उनीहरू कहाँ जान्छन् भन्ने थाहा छैन । अध्ययन गरेपछि महिला सक्रिय भएको देखिनुपर्‍यो । त्यसैले महिलामैत्री अवसर सिर्जना सके महिलाको सहभागिता बढ्छ । 

महिलालाई कानुन विषयको अध्ययनमा आकर्षित गर्न के गर्नुपर्ला ?

महिलाहरू आकर्षित छन् । कानुन अध्ययन गरेपछि महिलाले उपलब्धि गर्न सक्छन् भन्ने उदाहरण धेरै छन् । जस्तैः सपना प्रधान मल्ल, मिरा ढुगाना, सुशीला कार्की उदाहरणीय व्यक्ति हुन् । कानुन पढ्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सकिन्छ । सामाजिक आर्थिक, राजनीतिक रूपमा सशक्तीकरण हुन सकिन्छ भन्ने उदाहरण धेरै भएकाले आकर्षण बढ्दो छ । अबको १० वर्षमा धेरै कुरामा महिलाको उपस्थिति बाक्लो हुन सक्छ । 

कानुन पढ्न सहज वा असहज के छ ? 

कानुन पढ्न सहरी क्षेत्रमा सहज छ, ग्रामीण क्षेत्रमा केही कठिन छ । दुर्गम क्षेत्रमा कानुनका क्याम्पस छैनन् । अर्कोतिर पुस्तकको पनि अभाव हुन्छ । काठमाडौं र नेटको पहुँच भएको क्षेत्रमा पुस्तकै नभए पनि पढ्न सकिन्छ । पुस्तकका लागि हामी भारतमा निर्भर छौँ । 

अहिले सम्रगमा कानुनमा कतिको आकर्षण छ ? 

पछिल्लो समय कर्पाेरेट कानुनमा अलि धेरै रुचि राखेको पाइन्छ । मानव अधिकारको विषय, अपराधको कानुन लगायत रुचि देखाएको पाइन्छ । अर्कोतिर, देशको पछिल्लो राजनीतिक परिवर्तन, संविधानसँगै कानुन निर्माणले पनि युवाहरु कानुन पढ्नतर्फ आकर्षित छन् । 

संविधानसभाका बेला कस्तो प्रावधान राख्ने भनेर घर–घर, टोलटोल, गाउँगाउँमा छलफल भयो । त्यसपछि मानिसहरूले कानुन पनि एक क्षेत्र रहेछ भनेर बुझ्न थालेका छन् । आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियरजस्तै कानुन पनि अध्ययन गराउन सकिने रहेछ भन्ने परेको छ । गत वर्षहरूलाई हेर्दा नेपाल ल क्याम्पसमा एलएलबीमा ११ हजारसम्म भर्ना हुन्थे । अहिले ६ सय जनाको मात्र भर्ना लिइन्छ । 

एलएलबी ३ वर्षको हुन्छ । जुनसुकै विषयमा स्नातक पास गरेकाले पढ्न पाउँछन् । त्यसैगरी बिए एलएलबी ५ वर्षको हुन्छ । जसमा प्लस टु पास गरेकाले पढ्न पाउँछन् । एलएलएम स्नाकोत्तर हो । यसमा महिलाको संख्या अत्यधिक पाइन्छ । पहिला महिला कम हुन्थे । अहिले केटा कम महिला धेरै अध्ययन गर्न थालेको देखिन्छ । कुनै कुनै कक्षामा ७५ प्रतिशतसम्म महिला छन् । पछिल्लो समय महिलाको संख्या ह्वातै बढेको छ ।  
 

 Published Date: Saturday, 17th April 2021 11:18:00 am