Kathmandu Press

माकुराको जालोको ध्वनीलाई वैज्ञानिकले दिए सांगीतिक रूप

हरेक प्राणीको आफ्नै दुनियाँ हुन्छ । माकुराको त्यस्तै दुनियाँ छ । माकुराको संसार स्पर्शमा निर्भर रहन्छ । तिनीहरूको शरीर र खुट्टा सानो कपालले...
माकुराको जालोको ध्वनीलाई वैज्ञानिकले दिए सांगीतिक रूप
Hardik ivfHardik ivf

हरेक प्राणीको आफ्नै दुनियाँ हुन्छ । माकुराको त्यस्तै दुनियाँ छ । माकुराको संसार स्पर्शमा निर्भर रहन्छ । तिनीहरूको शरीर र खुट्टा सानो कपालले ढाकिएका हुन्छन् । र, ती खुट्टाले विभिन्न प्रकारका कम्पनबीच भिन्नता खुट्याउन सक्छन् ।

माकुराको जालोमा गल्ती साथ प्रवेश गर्ने शिकारले निकाल्ने कम्पनसहितको आवाज माकुराले निकाल्ने आवाजभन्दा भिन्न हुन्छ । जालोका प्रत्येक रेशाले फरक धुन पैदा गर्छन् ।

केही वर्षअघि वैज्ञानिकहरूले कलाकार थोमस सारासेनोसँग मिलेर ‘स्पाइडर क्यानभास’ नामक एक इन्टरएक्टिभ संगीत वाद्ययंत्र तयार पार्न माकुराको जालोको त्रि–आयामिक संरचनालाई संगीतमा ढालेका थिए । अहिले टोलीले त्यो अघिल्लो कामलाई परिष्कृत गर्दै एक ‘इन्टरएक्टिव भर्चुअल रियालिटी’ प्रयोग गरी मानिसलाई जालोमा प्रवेश गर्न र कुराकानी गर्न सहज हुने संगीत तयार पारेको छ ।

यो अनुसन्धानबाट माकुराको जालोको त्रि–आयामिक वनावटलाई राम्रोसँग बुझ्न मात्र मद्दत पुर्‍याउँदैन, हामीलाई माकुराको कम्पनात्मक भाषा पनि सिक्न सहज बनाउँछ ।

‘माकुराको जालो कम्पायमान धागोबाट बनेको हुन्छ,’ एमआईटीका इन्जिनियर मार्कस ब्युलरले भने, ‘माकुराले राम्ररी देख्दैनन्, त्यसैले उनीहरूले संसारलाई कम्पनको माध्यमबाट बुझछन्, जसमा विभिन्न फ्रिक्वेन्सी हुन्छन् ।’

उनका अनुसार मानिसको दिमागमा माकुराको जालो आउँदा त्यसको गोलाकार स्वरूप चित्रित हुन्छ । यो समतल, गोलाकार, चम्किलो हुन्छ । त्यसैमा माकुराले चक्राकार जाल बुन्छन् । सबै माकुराको जालो एकै प्रकारका हुँदैनन् । तर, सबै जालो त्रि–आयामिक हुन्छन् ।

जालोको संरचना अध्ययन गर्न शोधकर्ताले एउटा समकोणीय आकार तयार पारे । र, त्यसमा ‘ट्रपिकल टेन्ट–वेब’ प्रजातिको माकुरालाई त्रिआयामिक जाल बुन्न दिए । त्यसपछि उनीहरूले जालको ‘टु–डी क्रस–सेक्सन’को हाइडेफिनेसन तस्बिर खिच्न सिट लेजरको प्रयोग गरे ।

त्यसपछि एक विशेष एल्गोरिदममा ‘ती टु–डी क्रस–सेक्सन’ जालोकोे ‘थ्री डी’ बनावटलाई सँगै जोडियो । त्यसलाई संगीतमा बदल्न जालोका विभिन्न रेसालाई भिन्न ध्वनी फ्रिक्वेन्सीहरूमा विनियोजित गरियो । यसबाट उत्पन्न भएको सांगीतिक नोटलाई जालोको संरचनाको आधारमा बजाइयो ।

उनीहरूले त्यसलाई स्क्यान गर्दै थिए, जसले हरेक चरणलाई संगीतमा अनुवाद गर्दै थियो । जालोको संरचना परिवर्तनसँगै सांगीतिक नोट पनि परिवर्तित हुँदै थिए । स्रोताले जालो निर्माणको प्रक्रियालाई सुन्न सक्ने पत्ता लाग्यो, यो प्रयोगबाट । यसको अर्थ माकुराहरूले बिनाकुनै आधार ‘थ्री–डी’ जालो बुन्न सक्छन् । यस्तो कौशललाई ‘थ्री–डी’ प्रिन्टिङका लागि उपयोग गर्न सकिन्छ ।

‘भर्चुअल रियलिटी वातावरण वास्तवमै लोभलाग्दो हुन्छ किनकि तपाईंका कानले संरचनात्मक संकेत प्राप्त गरिरहेका हुन्छन्, जुन तपाईंले देख्न हुन्छ तर तुरुन्त पहिचान गर्न सक्नुहुन्न,’ ब्युलरले व्याख्या गरे, ‘यो एकै समयमा सुन्दै र हेर्नुभयो भने तपाईंले माकुरोले बस्ने वातावरणलाई साँच्चिकै बुझ्न थाल्नु हुनेछ ।’

‘रियालिस्टिक वेब फिजिक्स’सहितको यो ‘भीआर’ वातावरणले शोधकर्तालाई जालोका विभिन्न भागलाई अलग गर्दा के हुन्छ भन्ने बुझ्न पनि सहायता पुर्‍यायो । जब जालोको रेसालाई तन्काइन्थ्यो, त्यसको धुन परिवर्तन हुन्थ्यो । तर, जब जालोको एक रेसालाई तोडिन्थ्यो, त्यसले अरू रेसालाई पनि असर गथ्र्यो ।

सबैभन्दा रोचक कुरा यो खोजले टोलीलाई एउटा माकुराको जालोमा उत्पन्न हुने कम्पनका विभिन्न प्रकार पहिचान गर्दै एल्गोरिदम विकास गर्न सहज बनायो । त्यस्तो वातावरणले जालोमा परेको शिकार, निर्माणाधीन जालो र काम वासनाबाट आकर्षित् भएको अर्को माकुरालाई चिन्न सहज बनाउने पत्ता लाग्यो । यस अनुसन्धानले वैज्ञानिकहरूलाई कम्तिमा ‘ट्रपिकल टेन्ट–वेब’ प्रजातिका माकुरासँग संवाद कसरी गर्न सकिन्छ भन्ने सिकाएको छ ।

‘अब हामी मूलतः माकुरोको भाषाका कृत्रिम संकेतहरू उत्पादन गर्न कोशिस गर्दैछौँ,’ ब्युलरले भने, ‘यदि हामीले तिनीहरूलाई ताल वा कम्पनहरूका केही नमूनामा ढाल्न सक्यौँ भने तिनीहरूले गर्ने काम प्रभावित पार्न सक्छौँ ? र, तिनीहरूसँग संवाद अगाडि बढाउन सक्छौँ ? यी वास्तवमै रोमाञ्चक विचारहरू हुन् ।’

- साइन्स अर्लट डट कमबाट
 

प्रकाशित मिति: ०६:३० बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्