के अझै भारतीय उड्डयन उद्योग विश्वको तेस्रो ठूलो बन्ने दौडमा छ ?

कोभिड–१९ महामारी सुरु भएपछि ठप्प भएको भारतको उड्डयन उद्योगले संकटपूर्ण एक वर्ष बिताएको छ । विश्वभरको अर्थतन्त्रसँगै भारतीय उड्डयन उद्योगले पनि यसबीचमा महामारीको संकटपूर्ण घडी गुजार्‍यो । वर्षदिनमा यात्रुवाहक हवाई यातायातको माग अभूतपूर्व रूपमा खस्कियो ।

विश्लेषकहरूको भनाइ छ– कोभिड–१९ विरुद्ध संसारभर धमाधम लगाइँदै गरेको खोप र व्यापक बनाइँदै गरेको परीक्षणको दायराका बावजुद हवाई यातायातलाई पुरानै लयमा फर्किन सहज छैन । सन् २०१९ कै जस्तो अवस्थामा फर्किन कम्तिमा सन् २०२४ सम्म पर्खिनुपर्ने उनीहरूको विश्लेषण छ ।

संसारको कुनै क्षेत्र र मुलुक छैनन्, जो महामारीको संकटबाट नपिल्सिएका हुन् । र, ती सबै अर्को मुलुक र क्षेत्रभन्दा राम्रो र छिटो लयमा फर्किन प्रयासरत छन् ।

तथापि, भारत सरकारको स्वामित्त्व रहेको इन्डिया ब्रान्ड इक्विटी फन्ड (आईबीईएफ)को दाबी छ– कोभिड–१९ महामारीका बावजुद भारत सन् २०२४ सम्ममा संसारको तेस्रो ठूलो उड्डयन बजार बन्नेछ ।

हवाई यात्राको बढ्दो माग, मुलुकका विमानस्थलहरूमा भित्रिइरहेको निजी क्षेत्रको लगानी र नयाँ क्षेत्रीय विमानस्थलहरूको धमाधम निर्माण अगाडि बढ्दा कोभिड–१९ महामारी सुरु हुन अघिसम्म भारतीय उड्डयन उद्योगले ठूलो आकार ग्रहण गर्दै थियो । र, उड्डयन उद्योगको विकास तीव्र गतिमा थियो । सन् २०१९ भारतीय उड्डयन उद्योगमा आशातीत भविष्यको रेखा कोर्दै विदा भएको थियो । तर, कोभिड–१९ महामारी सुरु भएपछि २३ र २५ मार्च २०२० देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए । त्यसबाट पूरै उड्डयन व्यापारमा अन्धकार छायो ।

भारतीय नागरिक उड्डयन मन्त्रालयले मे २०२० देखि आन्तरिक उडान खुला गर्‍यो । सुरुमा ३३ प्रतिशत उडान सुरु गर्ने सरकारी अनुमति थियो । सन् २०२० को अन्त्यसम्ममा विस्तारै त्यसलाई ८० प्रतिशतमा पुर्‍याइयो ।

‘इन्डियन रेटिङ एजेन्सी’ (इक्रा)का अनुसार यात्रा प्रतिबन्ध कायम रहँदा सन् २०२० का पाँच महिना (मे, जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा करिब एक करोड १० लाखले मात्र हवाई यात्रा गरे । जब कि, सन् २०१९ का तिनै पाँच महिनामा यात्री संख्या सात करोड थियो ।

आईबीईएफको अनुमान छ– कोभिड–१९ महामारीको दीर्घकालीन प्रभाव आन्तरिकको तुलनामा अन्तर्राष्ट्रिय उडानमा पर्ने देखिएको छ । र, त्यो देशभरका अन्तर्राष्ट्रिय विमानस्थल र एयरलाइन्सहरूले बेहोर्नुपर्नेछ । भारतभर अन्तर्राष्ट्रिय उडान हुने ३४ वटा विमानस्थल छन् ।

भारतले धेरै मुलुक र तिनका एयरलाइन्सहरूसँग यसअघि नै द्विपक्षीय उडानका लागि सम्झौता गरिसकेको छ । ती सम्झौताले भविष्यमा नियमित उडान सुरु गर्न अनुमति दिन्छन्, जुन महामारीका कारण कार्यान्वयनमा आउन सकेका थिएनन् ।

अफगानिस्तान, बहराइन, बंगलादेश, भुटान, क्यानाडा, इथियोपिया, फ्रान्स, जर्मनी, इराक, जापान, केन्या, कुवेत, माल्दिभ्स, नेपाल, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, कतार, रुस, रुवान्डा, सिचेलस, तान्जानिया, युक्रेन, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र उज्वेकिस्तान यो सूचीमा छन् ।

आईबीईएफको प्रक्षेपणअनुसार सन् २०२१ मा भारतीय उड्डयन उद्योगले चार अर्ब डलर गुमाउने छ । मध्यमवर्गको बढ्दो जनसंख्या र कार्यसमूहको तीव्रतर उदयबाट हवाई यात्राको पोस्ट–कोभिड माग ह्वात्तै बढ्ने आकलन आईबीईएफको देखिन्छ । र, ती दुवै समूहको सहारामा भविष्यको उड्डयन उद्योग निर्भर रहने प्रक्षेपण छ ।

अहिले भारत संसारको तेस्रो ठूलो हवाई बजार हो । तर, आन्तरिक उडानको कुरा गर्दा यो विश्वकै तेस्रो ठूलो बजार हो । नागरिक उड्डयन मन्त्रालयको महत्त्वाकांक्षी योजना छ– सन् २०२४ सम्ममा भारतले बेलायतको उड्डयन उद्योगलाई उछिन्ने छ र तेस्रो ठूलो हवाई बजार बन्नेछ ।

सन् २०१६ देखि २०२० सम्ममा हवाईमार्गबाट सामान ढुवानी पाँच प्रतिशतले बढेर २७ लाख टनबाट ३३ लाख ३० हजार टन पुगेको छ । सन् २०४० सम्ममा त्यो आँकडा एक करोड ७० लाख टन पुग्ने अनुमान छ । त्यसका लागि कार्गो विमानहरूको आउजाउ पनि बाक्लो हुनेछ ।

सन् २०२३ सम्ममा हवाई मार्गबाट कार्गो ढुवानी ४१ लाख टन पुग्ने अनुमान छ । त्यो भनेको सन् २०१६ देखि २०२३ सम्ममा कार्गो ढुवानीको सात दशमलव २७ प्रतिशत वृद्धि हो ।

नेसनल एयर कार्गो पोलिसीको प्रारूपले भारतीय हवाई कार्गो र मालवस्तुको ढुवानी सन् २०३० को अन्त्यसम्ममा विश्वव्यापी रूपमा सबैभन्दा कुशल, लागत र समयमैत्री बन्ने भविष्यवाणी गरेको छ । अहिले भारतको कुल व्यापारको ३० प्रतिशत हिस्सा हवाई ढुवानीको छ ।

हवाई उद्योगको विकासमा प्रोत्साहन दिने उद्देश्यले भारत सरकारले यस क्षेत्रमा एक अर्ब ८३ करोड डलर लगानी गर्ने योजना अगाडि सारेको छ । यो रकम विमानस्थलहरूको पूर्वाधार निर्माण र नेभिगेन सेवामा सन् २०२६ सम्ममा खर्च गर्ने योजना छ । सन् २०२४ सम्ममा भारतभर थप एक सयवटा विमानस्थल निर्माण गर्ने सरकारी योजना छ । तीमध्ये ३० वटा विमानस्थल निर्माणाधीन छन् । सन् २०४० सम्ममा भारतभर विमानस्थलहरूको संख्या एक सय ९० देखि दुई सयसम्म बढ्ने तथ्यांक वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ ।

एरोटाइम डट एरोबाट

 Published Date: Wednesday, 7th April 2021 6:41:00 am