६० जना असहायकी अभिभावक दीक्षा
चार–पाँच दिनअगाडि यहाँ एक सदस्य थपिएका छन् । केही महिनाअघि सडकमा अलपत्र रहेकी महिलालाई प्रहरीले यहाँ ल्याएको थियो । परीक्षण गराउँदा महिला गर्भवती भएको थाहा भयो । उनको मानसिक सन्तुलन ठीक छैन ।काठमाडौं, फागुन २८ : नीलो रङको जस्ताको छानो भएको एकतले घर, वरिपरि फलामको तारबारभित्र ठूलो आँगन– निकै रमणीय लाग्छ, बूढानीलकण्ठ नगरपालिका–४ चण्डेश्वरीस्थित ‘पवित्र समाज सेवा नेपाल’, जहाँ असहाय मानिस (विशेषगरी बालबालिका) लाई आश्रय दिइन्छ ।
अघिल्लो मंगलबार, बिहानको खाना तयार थियो । पवित्र समाज सेवाकी सञ्चालिका दीक्षा चापागाईं खाना पस्किँदै दिँदै थिइन् । बालबालिका लाइनमा बसेर खाना लिँदै थिए ।
‘फेसबुक ! छिटोछिटो खाना खाऊ है,’ दीक्षा बोलिन् । तीन–चार वर्षीय एक बालकलाई मायाले फेसबुक नाम राखिएको रहेछ ।
खाना खाइसकेका बालबालिका स्कुल ड्रेसमा सजिएर, किताबको झोला बोकेर भन्दै थिए, ‘ममी गएँ है ।’
दीक्षा खाना खान बोलाउँदै थिइन्– अम्बिका, मनिषा... ।
कोही खाजा ब्यागमा हाल्न, कोही चम्चा खोज्न, कोही कपालमा तेल दल्न, व्यस्त थिए । खाना खाने र विद्यालय जाने क्रम चलिरह्यो । एक–एक गरी गेटबाट बालबालिका बाहिरिँदै थिए ।
बालबालिकापछि दीक्षाले पाका महिलालाई खाना खान बोलाइन् । सुस्त मनस्थिति भएका चार–पाँच महिला आएर पालैपालो खाना लिए ।
लगभग ५० वर्षीया महिलाले उनलाई भनिन्, ‘ममी खाना थपिदिनू ।’
दीक्षाले खाना थपिदिँदै भनिन्, ‘खाना खेर नफाल्नु है ।’
महिलाले टाउको हल्लाइन् । दीक्षाका अनुसार, ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।
त्यत्तिकैमा साधारण पोसाक लगाएकी एक बालिकाले उनलाई आफू निस्किन लागेको जानकारी गराइन् । उनलाई पैसा दिँदै दीक्षाले भनिन्, ‘सबैजना मिलेर खानू ।’
उनीहरू लिंकन कलेज गोंगबुमा पढ्न जान लागेका रहेछन् । यहाँ बस्ने तीनजनाले कलेज पढ्छन् ।
विद्यालय जान ठिक्क परेकी एक बालिकासँग चार वर्षीय आर्यन र तीन वर्षीय आशुतोषले ‘दिदी चाउचाउ दिनु न’ भन्दै थिए । स्वयंसेवी अञ्जना डंगोलले ‘चाउचाउ खान हुन्न’ भन्दै आर्यन र आशुतोषलाई काखमा लिइन् ।
अञ्जना चार वर्षदेखि यस संस्थामा आश्रय लिएर बसेकी छन् । उनले सहयोगीका रूपमा काम पनि गर्छिन् । ‘हरेक काममा सहयोग गर्छु,’ उनले भनिन्, ‘आफ्नो कहीँ जाने ठाउँ छैन । यही मेरो घर हो ।’ असहाय रुपमा सडकमा रहेकी अञ्जनालाई दीक्षाले ल्याएकी हुन् ।
उस्तै–उस्तै उमेर समूहका भएकाले आशुतोष र आर्यन खुबै मिल्दा रहेछन् । ‘आशुतोषलाई अनामनगरका नगर प्रहरीले यहाँ ल्याएका हुन्,’ दीक्षाले भनिन्, ‘आर्यन बलात्कार भएकी महिलाबाट जन्मिएका हुन् ।’
चार–पाँच दिनअगाडि यहाँ एक सदस्य थपिएका छन् । केही महिनाअघि सडकमा अलपत्र रहेकी महिलालाई प्रहरीले यहाँ ल्याएको थियो । परीक्षण गराउँदा ती महिला गर्भवती भएको थाहा भयो । ‘चार–पाँच दिनअगाडि मात्र उनी सुत्केरी भइन् । उनको मानसिक सन्तुलन ठीक छैन, बच्चा देख्नासाथ फाल्छिन्,’ दीक्षाले नजिकै कोक्रोमा सुताइएको बच्चालाई देखाउँदै भनिन्, ‘उसलाई गाईको दूध खुवाइरहेका छौँ ।’
पवित्र समाज सेवाको भवनमा पुग्दा एउटा सिंगो गाउँमा पुगेको आभास हुन्छ, जहाँ हरेकका आ–आफ्नै कथा छन् । ती अनेक कथाका पात्रलाई एउटै छानाभित्र ओत दिने काम दीक्षाले गरेकी छन् ।
एउटा सडक बालकलाई उठाएपछि...
दीक्षाको जन्म ताप्लेजुङ फूलबारी– २ मा भएको हो । उनको बाल्यकाल सुखद बित्यो । गाउँबाटै एसएलसी उत्तीर्ण गरेर उनी दुई दशकअगाडि काठमाडौं आएकी हुन् । उतिबेला काठमाडौं आउन उनको घरदेखि एक दिन हिँडेर पाँचथरको फिदिम आउनुपथ्र्यो । फिदिम आएर उनले जीवनमै पहिलोपटक बस चढिन् र काठमाडौं ओर्लिन् ।
उनको पहिलो रहर थियो, कम्प्युटर सिक्ने । भक्तपुरस्थित आफन्तकहाँ बसेर उनी कम्प्युटर सिक्न बागबजार आउँथिन् । यो ०५३÷५४ सालतिरको कुरा हो । त्यतिबेला सडक किनारामा फालिएका फोहोरका खाना असहाय बालबालिका तथा वृद्धवृद्धाले खाइरहेको उनले देख्थिन् । त्यो देखेर उनलाई लाग्थ्यो– यी असहाय चिसो हुँदा कहाँ जान्छन्, भोक लाग्दा के खान्छन्?
दिन उसरी नै बितिरहेका थिए । सन् २००१ मा दीक्षालाई भेट्न गाउँदेखि उनका बुवा आए । बुवालाई घर पठाउन उनी बसपार्कसम्म पुगिन् । फर्कंदा उनले बसको झ्यालबाट देखिन्, नयाँ बजार फोहोरको थुप्रोमा एक बालकले हाँस्दै खानेकुरा टिपेर खाँदै गरेको । ‘बस अगाडि बढिरहेको थियो,’ उनले भनिन्, ‘मनले भन्दै थियो– जा गएर त्यो बच्चालाई उठाएर लिएर आइज । बच्चालाई त्यहीँ छाडेर जान मन लागेन । तत्काल बस रोक्न लगाएर बसबाट झरेर बालकलाई लिएर फर्किएँ । बच्चालाई विभिन्न नामले बोलाएँ, बच्चा हाँसी मात्रै रहन्थ्यो । भोलिपल्ट वीर अस्पताल जँचाउन लग्दा थाहा पाएँ, बच्चा बोल्न नसक्ने रैछ । त्यही बालकबाट मेरो समाजसेवा सुरु भयो ।’
बच्चा लिएर आफन्तकहाँ बस्न अप्ठेरो भयो । कम्प्युटर कोर्स पूरा गरेर उनले कम्प्युटर सिक्ने ठाउँमै जागिर सुरु गरेकी थिइन्, मासिक १५ सय रुपैयाँ तलबमा । उनले लाजिम्पाटमा कोठा लिइन् । भाडा थियो, मासिक ६ सय रुपैयाँ । बाँकी नौ सय रुपैयाँले खाना पु¥याउनुपथ्र्यो ।
‘छुट्टै कोठामा बस्न थालेपछि सडकका बालबालिका तथा जोकोहीलाई साथमा राख्न थालेँ । एउटा कोठामा त चार–पाँच जनासम्म भुइँमा सुतेका छौँ,’ दीक्षा भन्छिन्, ‘सधैँ यस्ता फोहोर बालबालिका तथा महिला ल्याउँछे भनेर घरबेटीले कोठाबाट निकालिदिन्थे ।’
उनको हिम्मत र हृदयलाई मान्नैपर्छ, आफ्नो घर छैन, कमाइ पनि त्यति राम्रो छैन, तर उनले असहाय बालबालिका र महिलालाई जम्मा गर्दै गइन् । असहायको संख्या बढ्दै गएपछि उनलाई अन्य व्यक्तिले सल्लाह दिए, संस्थागत रूपमा राख्दा सहयोग पाउँछ्यौँ । यसरी उनले सन् २००२ मा ‘पवित्र समाजसेवा नेपाल’ दर्ता गराइन्।
लाजिम्पाट, धापासी हुँदै चार वर्षअगाडि उनले चण्डेश्वरीमा आश्रम राखेकी हुन् । आश्रम बनाउन अनुमानित दुई करोड रुपैयाँ लाग्यो । दीक्षा भन्छिन्, ‘व्यक्ति–व्यक्तिको सहयोगमा भवन बनाइएको हो।’
अहिले यहाँ भर्खरै जन्मेको पाँच दिनको बच्चादेखि ५० वर्षसम्मकाले आश्रय पाएका छन् । एक बालकबाट सुरु गरिएको आश्रममा अहिले ६० छन् । पहिलो बोल्न नसक्ने बालकको भने केही वर्षअगाडि उपचारका क्रममा मृत्यु भयो, यसमा दीक्षालाई ठूलो दुःख छ।
यहाँ बस्ने ३५ बालबालिकाले स्कुल पढ्छन् । पढ्नेहरूलाई विभिन्न व्यक्ति तथा विद्यालयले पनि सक्ने सहयोग गर्दै आएको छ । अहिलेसम्म उनलाई सहयोग गर्ने नेपाली मनकारी नै हुन्।
आश्रम बनाउन ५ रोपनी जग्गा बूढानीलकण्ठ नगरपालिकाले उपलब्ध गराएको हो । आश्रमको भवनमा बालबालिका, छात्र, छात्रा र महिला बस्ने छुट्टाछुट्टै कोठा व्यवस्था गरिएको छ।
‘अभिभावक नभएका बालबालिकाको अभिभावक बन्न पाउँदा खुसी मिल्छ,’ उनले भनिन्, ‘६० जनाको अभिभावक बन्न पाउनु सामान्य खुसी होइन ।’
असहायको सेवा र हेरचाह गर्दागर्दै दीक्षाले विवाह गर्नेबारे सोच्ने फुर्सदै पाइनन् । दीक्षा तीन दिदीबहिनी र दुई दाजुभाइमध्ये जेठी हुन् । आफूलाई यस काममा सुरुवाती दिनदेखि नै घर–परिवारले सहयोग गर्दै आएको उनी बताउँछिन् ।
बालगृहका लागि बजेट ल्याउने योजना : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाभित्र एक सयभन्दा बढी बालगृह छन् । महानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी अधिकृत भवानी कपालीका अनुसार, नवीकरणका लागि भने वार्षिक २०/२२ वटा मात्र आउने गर्छन् । ‘दुई वर्षसम्म नवीकरण नगरे नवीकरणका लागि अनुमति नै दिँदैनौँ,’ उनले भनिन्, ‘तर, कसरी सञ्चालन गरिरहेका छन्, थाहा छैन।’
बालबालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि अहिलेसम्म बालगृहका लागि महानगरले कुनै कार्य थालेको छैन । अधिकृत कपाली भन्छिन्, ‘आगामी वर्षमा महानगरले बालगृहका लागि बजेट ल्याउने योजना बनाउँदै छ ।’
सडक बालबालिका हटाउने योजनामा काम भइरहेकाले बजेट ल्याएर काम गर्ने योजना रहेको उनले बताइन्।
बालगृह घटाउँदै जाने तयारी : राष्ट्रिय बालअधिकार परिषद्
राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दका अनुसार, बालगृह (बाल आश्रम) घटाउँदै जाने काम भइरहेको बताउँछन्।
बालबालिकालाई घरमै राख्न पहल गर्ने, आफन्तकहाँ राखेर सरकारले आंशिक सहयोग गर्ने योजना बनाई आश्रमको संख्या घटाउन खोजिएको हो । ‘बालबालिकालाई आफ्नो घरजस्तो अन्य कुनै स्थान हुँदैन,’ चन्दले भने, ‘त्यसैले अभिभावक नभएका बालबालिकालाई आमा र बुवा दुवै पक्षको आफन्तलाई जानकारी गराई कसैले राख्न नमाने मात्र बालआश्रममा राख्न अनुमति दिइन्छ।’
उनका अनुसार, गत वर्षसम्म नेपालभर पाँच सयभन्दा बढी बालगृह थिए । हाल चार सय ८९ बालगृह छन् । जसमा नेपालभर ११ हजार तीन सय ४० बालबालिका (पाँच हजार एक सय ८४ बालक र ६ हजार एक सय ५६ बालिका) आश्रित रहेको परिषद्को तथ्यांक छ । यी बालगृह विभिन्न व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आइरहेका छन् ।
‘अंपागता भएका र सुस्त मनस्थिति भएकालाई राखिएको दुई बालगृहलाई मात्र वार्षिक पाँच–पाँच लाख रुपैयाँ बजेट दिन्छौँ,’ सूचना अधिकारी चन्द भन्छन्, ‘अन्य बालगृहलाई बजेट दिने नियम छैन।’
बालबालिकासम्बन्धी ऐन–२०४८ ले बालकल्याण गृह खोल्ने व्यवस्था गरेको थियो । उक्त ऐन अनुसार बालगृह खुल्दै गए । नियमनका लागि ‘बालगृह सञ्चालनको न्यूनतम मापदण्ड– २०६०’ बन्यो, अहिले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ अनुसार बालगृह सञ्चालन भइरहेका छन् । बालबालिकाको अभिभावक कोही नहुँदा पालनपोषणका लागि बालगृहमा राख्ने उल्लेख छ।
अहिले बालबालिकासम्बन्धी ऐन २०७५ आइसकेको छ । जसमा अन्तिम विकल्पको रूपमा मात्र बालबालिकालाई बालगृहमा राख्ने उल्लेख छ।
बालगृहलाई सेवाको रूपमा होइन, विकल्पको रूपमा मात्र प्रयोग गरून् भनेर बालगृह घटाउँदै लैजान खोजिएको उनले बताए।