उपप्रमुख भवानीलाई श्रीमानले भन्छन्– ‘धेरैभन्दा धेरै समय कार्यालयलाई दिनू’ 

काठमाडौं, फागुन १८ : बुधबार दिउँसो धर्मस्थलीस्थित तारकेश्वर नगरपालिकामा सेवाग्राहीको भीड थियो । उनीहरू घरेलुहिंसाकाे मुद्दामा छलफल गर्न उपप्रमुखलाई पर्खिरहेका रहेछन् । नगरपालिकाको मुख्य गेटबाट प्रवेश गर्नेबित्तिकै सुरक्षा कर्मचारीले हामीलाई सोधिन्, ‘कसलाई भेट्न आउनुभएको ?’ 

‘उप–प्रमुख (भवानी डोटेल, धिताल) लाई ।’ 

‘उहाँ ५ नम्बर वडामा कार्यक्रमका लागि जानुभएको छ । केहीबेर पर्खिनुहोला,’ उनले हातले माथिल्लो तलातर्फ देखाउँदै भनिन्, ‘उपप्रमुखको कक्ष त्यही हो । त्यहीँ बस्दै गर्नुस् ।’ 

त्यही बेला ६/७ महिला तथा पुरुषको समूह गेटबाट प्रवेश ग¥यो । उनीहरूलाई पनि सुरक्षा कर्मचारीले हामीलाई जस्तै सोधिन् । उनीहरू उपप्रमुखलाई भेट्न आएका रहेछन्, घरेलु हिंंसाको मुद्दा लिएर । 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ ले उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकारको पहिलो बुँदामै व्यवस्था गरेको छ– न्यायिक समितिको संयोजक भई कार्य गर्ने । न्यायिक समितिमा महिला प्रतिनिधि भएकाले अधिकांश महिलाले सहज अनुभव गरेका रहेछन् । 

के मुद्दा होला ? हामीलाई चासो भयो । तर, कसैको घरायसी कुरा भएकाले उनीहरू यसबारे त्यति खुल्न चाहेनन् । एउटी ४५ हाराहारीकी देखिने महिलाले अप्ठेरो–अप्ठेरो मानेर भनिन्, ‘श्रीमान्ले कुटपिट गरेको कुरा हो !’ 

उनका अनुसार एक पुरुषले कान्छी श्रीमती ल्याएर जेठीमाथि हेलाहोँचो तथा दुव्र्यवहार गरेका रहेछन् । यही मुद्दामा लिएर उनीहरु नगरपालिका पुगेका रहेछन्, उपप्रमुखले उनीहलाई ‘१२ बजे आउनू’ भनेकी रहिछन् । 

त्यसको लगभग एक घन्टापछि उपप्रमुख डोटेल कार्यालय आइपुगिन् । उनले पहिले हामीलाई समय दिइन् । रातो कुर्ता–सुरुवालमाथि घिउ कलरको स्वेटर उनलाई खुबै सुहाएको थियो । उनले सुरुमै हाँस्दै भनिन्, ‘धेरै समय पर्खाएँ है !’ 

हामीबीच भेटघाटको उद्देश्य वा विषय अगाडि नै तय भएको थियो– काठमाडौं प्रेसको ‘महिला जनप्रतिनिधि’ शृंखलामा संघर्षको कथा सुनाउने । 

विषय पुनः प्रस्ट्याएपछि उनले भनिन्, ‘महिलालाई राजनीतिमा लाग्न त्यति सहज छैन । अनेक लाञ्छनासँगै गाली सुन्नुपर्छ ।’ 

परिवारमै राजनीतिक माहोल 

भवानी डोटेलको जन्म काभ्रेपलाञ्चोक जिल्लाको देउपुरमा भएको हो, १५ असार २०४२ मा । उनी एक वर्षकी हुँदा उनको परिवार चितवन बसाइँ स¥यो । उनका बुवा कृष्णप्रसाद डोटेल कानुन व्यवसायी हुन् । देउपुरमा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा आदिको अभाव थियो । कृष्णप्रसाद केही सुगम ठाउँ खोज्दै चितवन झरे । उपप्रमुख डोटेल भन्छिन्, ‘खासमा हामीलाई पढाउन सहज होस् भनेरै बुवा त्यहाँ बसाइँ सर्नुभएको थियो । त्यतिबेला चितवनलाई केही विकसित मानिन्थ्यो ।’ 

चितवनमा पनि उनको घरनजिकै माथिल्लो तहको विद्यालय थिएन । त्यसैले ५ कक्षा भन्दामाथि पढ्न उनले घरदेखि १५ किलोमिटर साइकलमा जानुपथ्र्यो । 

भवानी तीन छोरी र एक छोरामध्ये माइली हुन् । उनका बुवाले छोराछोरीलाई एक–एकवटा साइकल किनिदिएका थिए ।’

घरमा पढ्ने वातावरण थियो । उनकी दिदी (लक्ष्मी) पढाइमा तेज थिइन् । दिदीले उनलाई पढ्न प्रेरित गरिरहन्थिन् । 

उनले नेपाल राष्ट्र माध्यमिक विद्यालयबाट पहिलो श्रेणीमा एसएसली गरिन्, ०५८ मा । त्यसपछि  सहिद स्मृति बहुमुखी कलेज, टाँडीबाट आइकम र बिबिएस गरिन् । ०६३ उनी थप अध्ययनका लागि काठमाडौं आइन् । उनी भन्छिन्, ‘पढ्नका लागि सोच्नुपर्ने दिन आएन । बाआमाले मलाई पढ्न कहिले बाधा पुर्याउनुभएन, सकेको सहयोग गरिरहनुभयो ।’ 

तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (धिताल) । तस्बिर : सुजल बज्राचार्य

उनका बुवा कानुन व्यवसायी भएकाले उनलाई कानुन पढाउन चाहन्थे । त्यसैले काठमाडौं आएर उनले एलएलबी सुरु गरिन् । सँगसँगै शंकरदेवबाट मास्टर गरिन् । 

मास्टर र एलएलबी गरिसकेपछि ०६८ सालदेखि उनले पाँच वर्ष पृथ्वीनारायण स्कुल गोलढंगामा पढाइन् । पढाउनका लागि एकवर्षे बिएड पनि गरिन् ।

त्यसपछि कपन बहुमुखी कलेज र नेपाल राष्ट्रिय कलेजमा पनि पढाइन् । ‘कानुन पढेकाले केही समय अनामनगरस्थित ल फर्ममा पनि काम गरेँ,’ उपप्रमुख डोटेल भन्छिन्, ‘अहिले पनि राष्ट्रिय कलेजमा अध्ययन गराइरहेकी छु ।’ 

भवानीका बुवाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आस्था राख्थे, अप्रत्यक्ष रूपमा पार्टीमा सक्रिय पनि थिए । कम्युनिस्ट पार्टीबारे उनको घरमा चर्चा भइरहन्थ्यो । त्यसैले राजनीतिमा लाग्न उनलाई घरबाटै सहयोग थियो । चितवनमा कलेज पढ्ने समयदेखि नै उनी राजनीतिक गतिविधिमा सक्रिय थिइन् ।

‘काठमाडौं आएपछि अझ राजनीतिमा सक्रिय हुन थालेँ,’ उनले भनिन्, ‘शंकरदेव कलेजमा पढ्दा राजनीतिमा सक्रिय हुने मौका मिल्यो । अनेरास्ववियुको सदस्य, क्षेत्रीय कमिटीको सदस्य, नगर कमिटीको सदस्य हुँदै राजनीतिमा सक्रिय भएँ ।’ 

०६२/६३ को आन्दोलन हुँदा उनी विद्यार्थी राजनीतिबाटै सक्रिय थिइन् । 

०६७ सालमा ल क्याम्पसमा अध्ययन गरिरहँदा उनको भेट तारकेश्वर नगरपालिकाका अर्जुन धितालसँग भयो । यी दुईको भेट प्रेम हुँदै विवाहसम्म पुग्यो । उनीहरुले परिवारको सहमतिमा १२ वैशाख २०६८ मा विवाह गरे । 

अर्जुनको परिवार पनि राजनीतिमा संलग्न थियो । २०५४ सालमा अर्जुनका बुवा साविक गोलढंगा गाविसका अध्यक्ष थिए । यही पारिवारिक पृष्ठभूमिका कारण भवानी राजनीतिमा सक्रिय भइरहिन् । ‘विवाहपछि शिक्षण र राजनीति दुवैमा सक्रिय थिएँ,’ उनी भन्छिन्, ‘श्रीमानले पनि राजनीतिमा लाग्न थप प्रेरणा दिइरहनुहुन्थ्यो ।’ 

उनका श्रीमान् अर्जुन धिताल पनि शिक्षण पेसामै आबद्ध छन्, सँगसँगै आफ्नै सहकारी पनि सञ्चालन गरिरहेका छन् । आफूले श्रीमतीलाई कार्यालयमा बढी समय दिन प्रेरित गरिरहेको उनी बताउँछन् । ‘उनलाई धेरैभन्दा धेरै समय कार्यालयका लागि दिनू भन्ने गरेको छु,’ अर्जुन भन्छन्, ‘प्रतिनिधि भइसकेपछि नगरवासीको भावना जान्नुपर्छ । नगरवासीलाई बुझ्न घर–घर जानुपर्छ ।’ 

आफूले मात्र नभई परिवारमा सबैले भवानीलाई सहयोग गरिरहेको अर्जुन बताउँछन् । 

‘हरेक निर्णय प्रमुख र उपप्रमुखको सल्लाहमा हुन्छ’ 

०७४ मा पहिलोपल्ट स्थानीय तहको चुनाव हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले उनलाई टिकट दियो । उनी तारकेश्वर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख एउटै पार्टीबाट छन् । 

प्रमुखले आफूलाई सुरुमै ‘सरकारले तोकिदिएकोे काम समाल्नू’ भनेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘प्रमुखले कहिल्यै मेरो काममा अवरोध पु¥याउनुभएको छैन । हरेक निर्णय प्रमुख र उपप्रमुखको सल्लाहमा हुन्छ ।’

स्थानीय तहमा पुरुष प्रमुखले महिला उपप्रमुखलाई विभेद गरेको सुन्नमा आउँछ, भवानीको हकमा त्यस्तो केही छ कि ! ‘कार्यालयभित्र लैंगिक विभेद छैन । आ–आफ्नो काम गरिन्छ,’ उपप्रमुख डोटेल भन्छिन्, ‘कार्यालयभित्र लैंगिक विभेद छैन, पार्टीभित्र भने छ ।’ 

पार्टीभित्र महिलाले अवसर नपाउने, अवसर नदिइने, महिलाका मागलाई नजरअन्दाज गर्ने प्रवृत्ति रहेको र आफूले त्यस्ता विभेद भोग्दै आएको उनी बताउँछिन् । 

उद्यमशीलतामा जोड 

भवानीको बुझाइमा महिलाहरू उद्यमशीलसँगै आत्मनिर्भर हुने हो भने महिला र पुरुषबीचको असमानता हट्दै जान्छ । त्यसैले नगरपालिकाका महिला  र पुरुषलाई रोजगारीमूलक तालिम दिइएको उनी बताउँछिन् । महिलालाई बाख्रापालन, जुत्ता बनाउने, अचार बनाउने, च्याउ उत्पादन गर्ने, खाजा तथा खानाको परिकार बनाउने लगायत तालिम दिएको उनको भनाइ छ । 

नगरपालिकाले दिएको तालिमका कारण धेरै महिलाले रोजगारी पाएको पनि उनले बताइन् । ‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत काम त भएकै छन् । हामीले महिलाको जनजीवन उकास्न उद्यमशील महिला उत्पादन गर्न विशेष जोड दिएका छौँ,’ उनले भनिन्, ‘तालिम लिएका केहीले मात्र आफ्नो सीपलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । आगामी दिनमा अनुदान स्वरुप रकम दिई व्यवसायमा जोड दिने योजनामा छौँ ।’ 

जग्गा विवादसम्बन्धी मुद्दा 

उपप्रमुखलाई न्यायिक समितिको संयोजक भएर काम गर्ने ऐनले जुन व्यवस्था गरेको छ, त्यसमा उपप्रमुख डोटेलले के कस्ता काम गरिन् त ?

नगरपालिकामा सबैभन्दा धेरै जग्गा विवाद र सार्वजनिक जग्गा, बाटोसम्बन्धी मुद्दा आउने गरेको उपप्रमुख बताउँछिन् । 

ताकेश्वर नगरपालिकाको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा, ०७४÷७५ मा न्यायिक समितिमा ५४ वटा उजुरी परेका थिए । जसमा जग्गा विवादसम्बन्धी २६, सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी १७, सिमाना (चार किल्ला खुलेको सिमाना) विवादसम्बन्धी ६, सम्बन्ध विच्छेदसम्बन्धी २ र महिला तथा बालबालिका हिंसासम्मबन्धी तीन उजुरी परेका थिए । 

त्यस्तै, ०७५÷७६ मा ८१ वटा उजुरी परे । जसमा जग्गा विवादसम्बन्धी २८, सिमाना विवादसम्बन्धी १९, सार्वजनिक जग्गा तथा बाटो सम्बन्धी ९, सम्बन्ध विच्छेद सम्बन्धी २, महिला तथा बालबालिका हिंसासम्बन्धी १ र अन्यमा २२ मुद्दा दर्ता भएका थिए । 

०७६/७७ मा ९६ मुद्दा दर्ता भए । जसमा सबैभन्दा बढी जग्गा विवाद २४, सार्वजनिक जग्गा तथा बाटो सम्बन्धी २०, सिमाना विवाद ४, महिला तथा बालबालिका ३ र अन्य ४५ मुद्दा छन् । 

चालू आर्थिक वर्षको फागुन ६ गतेसम्म १३४ मुद्दा दर्ता भएका छन् । जसमा जग्गा विवादसम्बन्धी १८, सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी १८, सिमाना विवादसम्बन्धी ७, महिला तथा बालबालिका हिंसाका ३ र अन्य ८८ मुद्दा उजुरी आएका छन् । 

यी अधिकांश मुद्दा छलफलबाटै टुंग्याइएको उनले बताइन् । 

(नोट : काठमाडौं प्रेसको महिला जनप्रतिनिधि शृंखलाले महिला जनप्रतिनिधिको संघर्षको कथा प्रस्तुत गर्छ । कोही कुनै पनि राजनीतिक वा प्रशासनिक पदमा पुग्न धेरधोर व्यक्तिगत संघर्ष आवश्यक हुन्छ ।  त्यो संघर्षको कथालाई वर्ग, लिंग, भाषा, भूगोल, धर्म–संस्कृतिसँगै राजनीतिक र सामाजिक व्यवस्था आदिले प्रभावमा पारेको हुन्छ । अझ पुरुषवादी समाजमा महिलाको संघर्षमा धेरै कुराले प्रभाव पार्छन् । एउटी महिला राजनीतिमा आउनुको कथामा धेरै पाटा हुन सक्छन्, जुन एकातिर कतिपय महिलाका लागि ऊर्जा हुन सक्छ भने, अर्कोतिर सामाजिक र राजनीतिक अवस्था–व्यवस्थाको जानकारी पनि हुन सक्छ । यही उद्देश्यमा यो शृंखला जारी छ । यहाँको सकारात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा छ— प्रधानसम्पादक ।)

 Published Date: Tuesday, 2nd March 2021 1:46:00 pm