Kathmandu Press

जहाँ २० प्रतिशत अविवाहितले गर्भपतन गराउँछन् 

उपत्यकामा पछिल्लो तीन वर्षमा २८,८४९ गर्भवतीले अनुमति प्राप्त संस्थाबाट गर्भपतन गराए । स्वास्थ्य कार्यालयमा दर्ता भई गर्भपतन गराउन मिल्ने मेडिकल तथा अस्पतालले गराएको गर्भपतनको मात्र तथ्यांक हुन्छ । यसबाहेक औषधि खाएर वा निजी क्लिनिकबाट गर्भपतन गराउनेको कुनै तथ्यांक छैन ।
जहाँ २० प्रतिशत अविवाहितले गर्भपतन गराउँछन् 

काठमाडौं, फागुन १५ : गत साता धादिङकी एक १५ वर्षीया किशोरी गर्भपतन गराउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृहको नामले पनि चिनिन्छ) पुगिन् । एक पुरुष (जसलाई उनले अंकल भनेकी थिइन्)सँग आएकी उनले अस्पतालको सुरक्षित गर्भपतन तथा परिवार नियोजनसम्बन्धी शाखामा गई आफू १४ हप्तादेखि गर्भवती भएको र गर्भपतन गराउन आएको बताइन् । उनीसँग स्पष्ट परिचय खुल्ने कागजात थिएन, त्यसैले आफ्नो परिचयपत्र लिएर आउन भन्दै अस्पतालले फर्काइदियो । अर्को दिन उनी विद्यालयको परिचयपत्र लिएर अस्पताल पुगिन् । 

त्यसपछि उनलाई सुरक्षित गर्भपतन गराएर पठाएको अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् । अधिकारीका अनुसार, गर्भपतन गराउन आउनेहरूले आफ्नो उमेर ढाँटेका हुन्छन्, नक्कली आफन्त लिएर आएका हुन्छन्, जोखिमलाई पनि ख्याल गरेर परिचयपत्र मागिएको हो, जसमा उमेर र ठेगाना खुलेको हुन्छ ।

अघिल्लो साता कपिलवस्तुबाट १३ वर्षीया किशोरी गर्भपतनका लागि ल्याइएको थियो । कपिलवस्तुको सुरक्षित गर्भपतन तथा परिवार नियोजन शाखाले उनलाई थापाथली रेफर गरेछ । उनको अवस्था निकै नाजुक देखिन्थ्यो । उनले भने, ‘उनको बलात्कार भएको रहेछ । बायाँ आँखा र योनिमा चोट लागेको थियो ।’ 

Hardik ivf

बलात्कारको सिकार बनी गर्भवती भएका युवती तथा महिलालाई प्रहरी तथा अभिभावक आफैँले गर्भपतन गराउन ल्याउँछन् । बलात्कारबाट गर्भ रहेका वार्षिक १५ देखि २० गर्भवती गर्भपतन गराउन थापाथली अस्पताल आउने उनी बताउँछन् । 

गत साता नुवाकोट घर भएकी १६ वर्षीया किशोरी गर्भपतन गराउन पे्रमीसँग यहाँ आइन् । उनले आफू १६ वर्ष पुगेको प्रमाणमा नागरिकता देखाइन् । 

प्रसूति गृहका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारी ।

त्यसपछि उनको गर्भपतन गराइयो । कानुनअनुसार, बलपूर्वक (करकाप गरी, धम्की दिई, ललाइफकाई गरी, प्रलोभनमा पारी आदि गरी) गर्भपतन गराउन पाइँदैन । तर, २०७५ मा आएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन’मा उल्लेख छ, ‘१८ वर्षभन्दा कम उमेरकी गर्भवतीको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्नेछ ।’

उपनिर्देशक डा. अधिकारी अनुसार वार्षिक रूपमा यहाँ एक हजार पाँच सयदेखि दुई हजारसम्म गर्भवती गर्भपतन गराउन आउँछन् । ‘जसमा २० प्रतिशत अविवाहित युवती हुन्छन्,’ उनले भने, ‘दुई प्रतिशत जति बलात्कारको सिकार बनी गर्भवती भएका आउँछन् ।’ 
उनका अनुसार, गर्भपतन शतप्रतिशत सुरक्षित हुँदैन । गर्भपतन आफैँमा एक जोखिम हो । गर्भपतनको जोखिम कति हप्ताको गर्भ हो भन्ने कुरामा भर पर्छ । ‘महिनावारी रोकिएको तीन हप्तादेखि बच्चाको संरचना बन्न थाल्छ । गर्भ बसेको १८ हप्तासम्म गर्भपतन गर्न मेडिकल तथा सर्जिकलमध्ये एक विकल्प रोज्न सकिन्छ,’ उनी भन्छन्, ‘१८ देखि २२ हप्तासम्मको गर्भमा धेरै जोखिम हुन्छ ।’ 

सुरक्षित मातृत्व ऐनमा ‘जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ’लाई सुरक्षित गर्भपतन गर्न पाउने उल्लेख छ ।

१८ हप्ताभन्दा बढीको गर्भलाई गर्भपतन गराउन बढी नै जोखिम हुने उपनिर्देशक अधिकारी बताउँछन् । १८ देखि २२ हप्ताको गर्भलाई गर्भपतन गर्न औषधि र औजार दुवै प्रयोग गरिने उनी बताउँछन् । उनी भन्छन्, ‘औषधि खाएर टुक्रा–टुक्रा रगत जान्छ, बाँकी अंश छ कि छैन भनेर पुनः औजारले सफा गर्छौं ।’ 

उनका अनुसार गर्भपतन गराउँदा रगतको टुक्रा गर्भमा रहने, योनि च्यातिने, रगत बग्ने, पाठेघरमा समस्या आउने, योनिमा इन्फेक्सन, बाँझोपन आउने लगायत समस्या देखापर्न सक्छन् । हाल गर्भनिरोधक साधनका रूपमा गर्भपतन मान्न थालिएको छ । अधिकारी भन्छन्, ‘यो चिन्ताजनक विषय हो ।’ 

 ०००

थापाथलीस्थित प्रसूति गृह छिर्नेबित्तिकै विशेषतः जोडीहरूको बाक्लो उपस्थिति देखिन्छ । कोही श्रीमतीलाई हात समातेर अस्पतालभित्र प्रवेश गर्दै त कोही बाहिर निस्किँदै थिए । 

यहाँ कोही गर्भवती अवस्था चेकजाँच गराउन आउँछन्, कोही प्रजननसम्बन्धी बुझ्न । कोही बच्चा जन्माउन आउँछन्, कोही गर्भपतन गराउन ।

यसको गेटबाट प्रवेश गर्नेबित्तिकै दायाँतर्फ छ– सुरक्षित गर्भपतन तथा परिवार नियोजन सम्बन्धी परामर्श र सेवा शाखा । त्यसको भित्ताभरि विभिन्न सूचनामूलक चित्र वा पोस्टर टाँसिएका छन् । एउटा पोस्टर छ, ‘बच्चा र आमाको राम्रो स्वास्थ्यका लागि गर्भवती कहिले हुने ?’ शीर्षकमा । पोस्टरमा तीनवटा चित्रसहित यस प्रश्नको जवाफ वा जानकारी छ– १) किशोरीले २० वर्ष पूरा भएपछि मात्र । २) एउटा बच्चा जन्मेपछि अर्काे बच्चा चाहनेले २ वर्षपछि मात्र । ३) गर्भ खेर गएमा ५ महिनापछि मात्र ।

त्यस्तै, भित्तामा ‘गर्भपतनको अधिकार’, ‘महिला बन्ध्याकरण’, ‘पुरुष बन्ध्याकरण’, ‘क्यालेन्डर विधि’ शीर्षकका पोस्टर पनि छन् । 
गर्भपतन शाखाको एउटा कोठामा नर्सले एक महिलालाई ‘केही हुँदैन नआत्तिनू’ भन्दै हौसला दिँदै थिइन् । ढोकामा लेखिएको थियो– अनुमतिविना प्रवेश निषेध । त्यहाँदेखि केहीअगाडि एक कोठामा सिन्धुपाल्चोककी ३४ वर्षीया महिला आराम गर्दै थिइन् । नर्सका अनुसार, ती महिलाको भर्खरै सर्जिकल गर्भपतन गरिएको थियो । नर्सले ती महिलालाई भेट्ने अनुमति दिइन्, नाम गोग्य राख्ने सर्तमा ।

‘अहिले कतिको गाह्रो भइरहेको छ, दिदी ?’ मैले सोधेँ ।

उनले पीडा भएकै भावमा भनिन्, ‘दुखिरहेको छ ।’ 

‘किन गर्भपतन गराउनुभयो ? 

‘धेरै जन्माएर के गर्नु ? पढाउन सकिँदैन । एक छोरा र एक छोरी भइसकेका छन् । अहिले बच्चा जन्माउने योजना थिएन, बसेछ (गर्भ),’ उनले आफ्नो श्रीमानतिर संकेत गर्दै भनिन्, ‘बुढाबुढीको  सल्लाह भएर गर्भपतन गराउन आएको हुँ ।’ 

उनी श्रीमानसँग काठमाडौंमा बस्छिन् । उनका श्रीमानले निजी कम्पनीमा सुरक्षागार्डको जागिर गर्छन् भने उनले ज्याला–मजदुरी गर्छिन् ।

परिवार नियोजनको अस्थायी साधनमा उनीहरूले विशेषतः कन्डोमको प्रयोग गर्छन् । अब कस्तो (अस्थायी वा स्थायी) परिवार नियोजनका साधन अपनाउने भन्नेबारे डाक्टरसँग सल्लाह लिने उनका श्रीमानले बताए । 

परामर्श र सेवा शाखाकी इन्चार्ज डा. जयन्ती छत्यालका अनुसार, यहाँ १३ वर्षका किशोरीदेखि ४० वर्ष उमेर समूहका महिला गर्भपतन गराउन आउँछन् । ‘२० देखि ४० वर्ष उमेरका धेरै हुन्छन्,’ उनले भनिन्, ‘१३ देखि २० वर्षका भने कमै हुन्छन् ।’ उनका अनुसार, यहाँ विवाहित र अविवाहित दुवै गरी दैनिक दुईदेखि चारजनासम्म गर्भपतन गराउन आइरहन्छन् । गर्भपतनका लागि अविवाहितहरू मासिक १० देखि १५ जनासम्म आउने उनले बताइन् । 

‘१६ वर्षमाथिका आए उनीहरूको इच्छा अनुसार, औषधि प्रयोग तथा सर्जिकल (औजार) प्रयोग गरी गर्भपतन गराइदिन्छौँ,’ उनले भनिन्, ‘१६ वर्षमुनिका किशोरी आए परिचयपत्र तथा परिवारको सदस्य लिएर आउन भन्छौँ ।’

तीन वर्षमा उपत्यकामा २८,८४९ गर्भपतन

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा पछिल्लो तीन वर्षमा २८ हजार ८ सय ४९ जनाले अनुमति प्राप्त संस्थाबाट गर्भपतन गराएको तथ्यांक छ । 

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार, काठमाडौं जिल्लाभित्र पछिल्लो तीन वर्षमा २४ हजार ६६ जनाले सुरक्षित गर्भपतन गराए । कार्यालयकी सूचना अधिकारी पार्वती विष्टका अनुसार, यो संख्या गर्भपतन गराउन पाउने संस्थाबाट उपलब्ध भएको हो ।

स्वास्थ्य कार्यालयमा दर्ता भई गर्भपतन गराउन मिल्ने मेडिकल तथा अस्पतालले गराएको गर्भपतनको मात्र तथ्यांक हुन्छ । सूचीकृत नभई गर्भपतन गराउने अस्पताल तथा मेडिकलको तथ्यांक नहुने उनले बताइन् । उनले भनिन्, ‘लुकेर गर्भपतन गराउने संस्थालाई अनुगमन गर्दा थाहा पाएमा चेतावनी दिएर छाड्छौँ ।’ कार्यालयलाई अस्पताल बन्द गराउने तथा अन्य कारबाही गर्ने अनुमति छैन । 

काठमाडौं जिल्लाका विभिन्न मेडिकलबाट गोप्य तरिकाले औषधि खाई गर्भपतन गराउने वास्तविक तथ्यांक छैन । औषधि खाएर स्वास्थ्यमा समस्या आइसकेपछि सुरक्षित गर्भपतन सेवा दिने अस्पतालमा भर्ना भएका ६ सय १८ गर्भवती छन् । उनी भन्छिन्, ‘फार्मेसीबाट औषधि लगेर खाने जोखिम भएपछि अस्पताल आउने गर्छन् ।’

चालू आर्थिक वर्षको पुसको अन्त्यसम्म काठमाडौंमा २० वर्षभन्दा कम उमेरका एक सय ५५ गर्भवतीले मेडिकल र एक सय ९५ जनाले सर्जिकल गर्भपतन गराएका छन् । त्यस्तै, २० वर्षभन्दा माथिका नौ सय ४२ जनाले मेडिकल र आठ सय ३४ जनाले सर्जिकल गर्भपतन गराए । 

तीन वर्षको तथ्यांक हेर्दा ०७६/७७ मा २० वर्षभन्दा कम उमेरका तीन सय ९३ गर्भवतीले मेडिकल र चार सय २० गर्भवतीले सर्जिकल गर्भपतन गराएका थिए । त्यस्तै, २० वर्षमाथि उमेर पुगेका एक हजार ६ सय ६७ जनाले मेडिकल र दुई हजार दुई सय ७३ गर्भवतीले सर्जिकल गर्भपतन गराएको देखिन्छ । 

०७५/७६ मा २० वर्षभन्दा कम उमेरका चार सय ९० गर्भवतीले मेडिकल र पाँच सय ३१ गर्भवतीले सर्जिकल गर्भपतन गराएको देखिन्छ । २० वर्षमाथि उमेरका दुई हजार ४० गर्भवतीले मेडिकल र एक हजार पाँच सय ९७ गर्भवतीले सर्जिकल गर्भपतन गराएको तथ्यांक छ । 
०७४/७५ मा २० वर्षभन्दा कम उमेरका एक हजार दुई सय ७० गर्भवतीले मेडिकल र एक हजार सात सय ७८ गर्भवतीले सर्जिकल गर्भपतन गराएका छन् । त्यस्तै, २० वर्षमाथि उमेरका चार हजार दुई सय ६९ गर्भवतीले मेडिकल र चार हजार चार सय ४९ गर्भवतीले सर्जिकल गर्भपतन गराएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ ।  

ललितपुर : ३,६५७ 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरमा तीन वर्षमा तीन हजार ६ सय ५७ गर्भवतीले गर्भपतन गराएको तथ्यांक छ । स्वास्थ्य कार्यालय ललितपुरका सूचना अधिकारी उपेन्द्र अर्यालका अनुसार कार्यालयले उमेर समूह नछुट्ट्याई तथ्यांक राखेको छ ।  

कार्यालयको तथ्यांक अनुसार, ०७४/७५ मा तीन सय ३६ गर्भवतीले मेडिकल र ६ सय २१ गर्भवतीले सर्जिकल गर्भपर्तन गराएका थिए । त्यस्तै, ०७५/७६ मा ५ पाँच सय ९५ गर्भवतीले मेडिकल र ६ सय ६१ सर्जिकल गर्भपतन गराए । ०७६/७७ मा ६ सय ५० गर्भवतीले मेडिकल र सात सय ९४ गर्भवतीले सर्जिकल गर्भपतन गराएको तथ्यांक छ । 

‘जिल्लाले आधिकारिक रूपमा अनुमति दिएका अस्पतालको तथ्यांक हो,’ अर्याल भन्छन्, ‘गर्भपतन गर्न सामान्य मेडिकलमा समेत औषधि पाउन थालिएको छ । त्यसैले गर्भपतन गराउनेको वास्तविक संख्या भन्न कठिन छ ।’ 

भक्तपुर : १,१२६

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमा तीन वर्षमा एक हजार एक सय २६ गर्भतीले गर्भपतन गराएको तथ्यांक छ । 

भक्तपुरमा ०७५/७६ मा २० वर्षभन्दा कम उमेरका ६६ जनाले मेडिकल र ३१ जनाले सर्जिकल गर्भपतन गराएका थिए । त्यस्तै, यही वर्ष २० वर्षभन्दा बढी उमेरका दुई सय ६९ गर्भवतीले मेडिकल र ८९ गर्भवतीले सर्जिकल गर्भपतन गराए । 

०७६/७७ मा २० वर्षभन्दा कम उमेरका ७ गर्भवतीले मेडिकल र २५ गर्भवतीले सर्जिकल गर्भपतन गराएका थिए । त्यस्तै, २० वर्षमाथि उमेरका तीन सय ६५ गर्भवतीले मेडिकल र एक सय २९ गर्भवतीले सर्जिकल गर्भपतन गराएको तथ्यांक छ ।

०७७/७८ मा पुससम्म २० वर्षभन्दा कम उमेरकी एक गर्भवतीले मेडिकल र पाँच गर्भवतीले सर्जिकल गर्भपतन गराए । त्यस्तै, २० वर्षभन्दा बढी उमेरका एक सय गर्भवतीले मेडिकल र ३९ गर्भवतीले सर्जिकल गर्भपतन गराए । 

स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार, भक्तपुर जिल्लाभरि गर्भपतन गराउन अनुमति दिएका संस्थाबाट प्राप्त भएको तथ्यांक हो यो । उनले भने, ‘सुरक्षित गर्भपतन गराउने अस्पतालले मासिक कतिले सेवा लिए भन्नेबारे तथ्यांक पठाउनुपर्ने नियम छ ।’ 
 

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्