इजरायलमा पानी कम, सिँचाइ पर्याप्त, नेपालमा पानी नै पानी, सिँचाइ कमजोर

काठमाडाैं, माघ २६ : नेपालका लागि इजरायलका राजदूत खनान गोडेर नेपालप्रेमी कूटनीतिज्ञ हुन्। नेपालमा दोहोर्‍याएर राजदूतको भूमिकामा आउने उनी सम्भवतः पहिलो कूटनीतिक हुन्। राजदूत गोडेरले सन् २०११ देखि २०१४ सम्म इजरायलको नेपाल मिसनको नेतृत्व गरेका थिए। नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। र, मार्च १९६१ मा काठमाडौंमा इजरायली दूतावास खुलेको हो। १८औँ राजदूतका रूपमा उनी गत १८ मंसिरदेखि इजरायलको काठमाडौं मिसन प्रमुख छन्।

नेपालको प्राकृतिक सौन्दर्यसँग मोहित नहुने त कोही नभेटिएला। तर, राजदूत गोडेरको नेपाल मोह त्यसभन्दा फराकिलो छ। उनी कृषिमा आबद्ध करिब ५६ प्रतिशत जनसंख्याको मिहिनेत र परिश्रमसँग मोहित छन्। जहाँ पुग्छन्, कृषि र कृषकसँगै रमाउँछन्। प्रशस्त पानीलाई सिँचाइमा प्रयोग गर्ने तरिका सिकाउँछन्। कृषिलाई पेसा र कृषकलाई निर्यातकर्ता बनाउन प्रेरित छन्। उनै राजदूत गोडेरसँग इजरायलमा पानीको पुनर्प्रयोग, मरुभूमिमा खेती गरेर कृषि उपज विकसित मुलुकमा निर्यात गर्ने इजरायली शैली, नेपालमा त्यसको सम्भावनालगायत विषयमा आधारित भएर काठमाडौं प्रेसका लागि उपेन्द्र पोखरेलले गरेको कुराकानी :

इजरायलमा पानीको पुनर्प्रयोग संसारमै उत्कृष्‍ट मानिन्छ। कसरी व्यवस्थापन गरिएको छ पानी?

इजरायलले पानीको सदुपयोगमा धेरै प्रगति गरेको छ। इजरायल सानो देश हो, जसको क्षेत्रफल भूटानको भन्दा आधा छ। आकारमा धेरै सानो देश इजरायलको आधा भूभाग मरुभूमि हो। इजरायलको मरुभूमिमा बर्सेनि ५० देखि ९० मिलिमिटरसम्म वर्षा हुन्छ। नेपालमा बर्सेनि अधिकांश स्थानमा एक हजार मिलिमिटर वर्षा हुन्छ। केही भूभागमा त त्यसभन्दा अधिक हुने वर्षा हुन्छ।

वर्षा कम हुनु नै इजरायलको एक ठूलो र गाह्रो समस्या हो। नेपालमा एउटै मात्र मरुभूमि छ( मुस्ताङ। धेरै सुख्खा भइकन पनि मुस्ताङमा बर्सेनि दुई सय देखि तीन सय मिलिमिटर वर्षा हुन्छ। यस तथ्यांकबाट पनि इजरायलमा पानी अभाव कस्तो छ भन्‍ने बुझ्‍न सकिन्छ।

पानी अभावमै इजरायलका नागरिकले खेती गर्नुपर्छ। खेती गर्नैपर्छ किनकि यो हाम्रो जीवनको अभिन्‍न अंग हो। मानिसले खानुपर्छ, त्यसैले कृषिउपज उत्पादन धेरै महत्त्वपूर्ण छ।

पानी पुनर्प्रयोगको अवधारणा के हो ? एकपटक धारामा झरेको पानी कतिपटकसम्म प्रयोग गरेर बाहिर पठाउन सकिने रहेछ?

इजरायलमा वर्षा याममा बर्सेनि दुई अर्ब घनमिटर पानी प्राप्त हुन्छ। नेपालमा वर्षाबाट प्राप्त हुने पानी इजरायलभन्दा १० गुणा होइन, एक सय गुणाभन्दा ज्यादा छ।  नेपालमा धेरै सम्भावना छ। त्यसो भए हामी इजरायलमा के गरिरहेका छौँ रु हामी सबै ढल संकलन गर्दै छौँ, त्यो फोहोर पानी उद्योग, कलकारखाना र घरहरूबाट निस्किन्छ। त्यसलाई ढलमार्फत संकलन गरिन्छ र प्रशोधन गरिन्छ।

वर्षा कम हुनु नै इजरायलको एक ठूलो र गाह्रो समस्या हो। नेपालमा एउटै मात्र मरुभूमि छ– मुस्ताङ। धेरै सुख्खा भइकन पनि मुस्ताङमा बर्सेनि दुई सयदेखि तीन सय मिलिमिटर वर्षा हुन्छ। यस तथ्यांकबाट पनि इजरायलमा पानी अभाव कस्तो छ भन्‍ने बुझ्‍न सकिन्छ।

इजरायलमा ८० प्रतिशतभन्दा बढी पानी पुनर्प्रयोग गरिन्छ। रिसाइकल गरेर पानीलाई शुद्ध गर्ने लामो प्रक्रिया छ। ढलको फोहोर पानीलाई शुद्ध बनाएर पुनर्प्रयोगका लागि योग्य बनाइन्छ। तर, रिसाइकल गरिएको पानी हामी पिउँदैनौँ। त्यसलाई कृषिका लागि प्रयोग गर्छौँ। त्यसबाट हामी रुखहरू रोप्छौँ, बगैंचा बनाउँछौँ।

रिसाइकल पानी प्रयोग गर्न इजरायलमा एक विशेष प्रणाली छ। वास्तवमा घरबाट निकासा हुने फोहोर पानी लिइन्छ, रिसाइकल गरिन्छ र त्यसलाई फेरि पाइपमा राखेर कृषिका लागि सिँचाइमा प्रयोग गरिन्छ। सैद्धान्तिक रूपमा पानीलाई पटक–पटक प्रयोग गर्न सकिन्छ।

इजरायलमा पिउने पानी व्यवस्थापन कसरी गरिन्छ?

वर्षायाममा प्राप्त हुने करिब दुई अर्ब घनमिटर पानीलाई पिउनका लागि प्रयोग गर्छौँ। हामी देशको उत्तरी भेगबाट पानी निकाल्छौँ, जहाँ बढी पानी छ र दक्षिणमा पठाउँछौँ जहाँ कम पानी छ। तर, जनसंख्या बढ्दै जाँदा त्यो अपर्याप्त हुन थाल्यो।

त्यसैले अहिले हामी भूमध्यसागरको पानीलाई पनि प्रशोधन गरिरहेका छौं। हामी समुद्रको पानी लिन्छौँ, प्रशोधन गर्छौँ, पानीबाट नुनको मात्रा निकाल्छौँ र पिउने पानी तयार पार्छौं। समुद्री किनारमा प्रशोधन केन्द्रहरू छन् छन्। इजरायलले अहिले समुद्रको पानी प्रशोधन गर्ने प्रविधि पनि अन्य मुलुकमा निर्यात गरिरहेको छ।

सरकारले कहिलेदेखि पानी पुनर्प्रयोगको योजना ल्यायो अनि कसरी कार्यान्वयन गर्‍यो?

सन् १९४८ मा स्थापना हुँदा इजरायलको जनसंख्या १० लाख थियो। त्यतिबेला पानीको अभाव थिएन। तर, बर्सेनि जनसंख्या वृद्धि हुँदै गयो। त्यससँगै पानी र कृषिको माग पनि बढ्दै गयो। र, सन् १९६० मा हामीले पानी अभाव महसुस गर्न थाल्यौँ।

जब जनसंख्या बढेर २० लाख पुग्यो, हामीले भविष्‍यको बारेमा सोच्‍न थाल्यौँ। किनकि, केहीभित्रै पानीको चरम अभाव हुने देखियो। त्यसपछि पानी आपूर्तिका लागि सुरुङ बनाउन थालियो। तर, सुरुङमार्फत हुने पानी आपूर्ति पनि ५० लाख जनसंख्या पुगुन्जेलसम्म मात्र पर्याप्त हुने थियो। त्यसो त, सुरुङहरू तयार पार्नै ६–७ वर्ष लाग्यो।

पाइपहरूबाट वितरित पानी चुहावटको समस्या देखियो। पाइप परिवर्तन गर्न सकिन्छ। तर, पाइप जोडिएको ठाउँबाट हुने चुहावट रोक्न गाह्रो थियो। तपाईंलाई जानकारी हुनुपर्छ, काठमाडौंमा पनि पाइपमा परेका प्वालबाट ३० देखि ४० प्रतिशत पानी गुमाइरहेका छौँ। पाइपका प्वालहरू राम्रोसँग बन्द नगरेका कारण ४० प्रतिशत पानी पाइप लाइनमै खेर जान्छ।

पाइपलाइनबाट हुने चुहावट रोकथाम एउटा समाधान भयो तर त्यतिले मात्र पुग्दैन। दोस्रो समाधान भनेको जनचेतना हो। टेलिभिजन र रेडियोमार्फत प्रधानमन्त्री, मन्त्रीहरू नै अग्रसर भएर पानी खेर नफाल्न नागरिकमा चेतना जगाउन सकिन्छ। यस अभियानले मद्दत गर्छ र पानीको उपभोग तीनदेखि चार चार प्रतिशतले कम हुन्छ।

पानी पर्याप्त प्रयोग गर्न त्यतिले मात्र पुग्दैन। अर्को उपाय भनेको मूल्यवृद्धि हो। तपाईंले नेपालमा पानीको मूल्य कति तिर्नुहुन्छ र पानी घनमिटरमा कसरी मापन गर्नुहुन्छ रु सरकारले ल्याएको नियमअनुसार पाइपमा एक घनमिटर पानीको यजरायलमा दुई डलर तिर्नुपर्छ। त्यो भनेको नेपाली दुई सय ५० रुपैयाँबराबर हो।

धेरै महँगो भएकै कारण प्रयोग कम हुन थाल्छ। तर, यो पनि पर्याप्त छैन। मैले पानी पिउनैपर्छ। तपाईंले पिउने चियामा पनि पानी प्रयोग हुन्छ। त्यसैले समाधान केही पनि छैन र प्रशस्त पानी हुनुपर्छ। हो यही कारणले इजरायलमा पानी प्रशोधन गरिरहेका छौँ र त्यहाँ पानी प्रशोधनको सुरु भएको २० वर्ष पूरा भइसक्यो।

काठमाडौंमा पनि पाइपमा परेका प्वालबाट ३० देखि ४० प्रतिशत पानी गुमाइरहेका छौँ। पाइपका प्वालहरू राम्रोसँग बन्द नगरेका कारण ४० प्रतिशत पानी पाइप लाइनमै खेर जान्छ।

भनिन्छ, इजरायलमा रिभर बेसिन कम छन्, फेरि पनि त्यहीँ पानीको उपलब्धता राम्रो छ। यो कसरी सम्भव हुने रहेछ रु
इजरायलको दक्षिणी भाग धेरै सुक्खा छ। दक्षिणी भाग पूरै मरुभूमि हो। तर, उत्तरमा हामीसँग एउटा नदी छ, जसको नाम जोर्डन हो। यो नदी ठूलो छैन, धेरै सानो छ। त्यसैले गालीलको समुद्रबाट पानी ल्याउँछौँ र त्यसलाई ठूलो सुरुङमा पठाउँछौँ। यसलाई राष्‍ट्रिय सुरुङ भनिन्छ। त्यसले पानीलाई उत्तरबाट दक्षिणतिर लैजान्छ, जहाँ मानिसले पानी पिउँछन् अनि कृषि र उद्योगका लागि प्रयोग गर्छन्। हामीसँग एउटा ताल पनि छ।

मरुभूमिमा पनि तरकारी, फलफूल उत्पादन गरेर विदेश निर्यात गरिरहेको छ इजरायलले। प्रशस्त कृषि उपज उत्पादन गरेर विकसित मुलुकमा निर्यात गरिरहेको छ। कसरी सम्भव भयो यो?

यसमा कुनै जादु छैन। यो केवल कडा परिश्रम र लगानी हो। नेपालमा किसानको जनसंख्या करिब ५६ प्रतिशत छ। इजरायलमा भने दुई प्रतिशत जनसंख्या मात्र कृषिमा आबद्ध छ। यही दुई प्रतिशतले ९८ प्रतिशत जनसंख्यालाई खाना उपलब्ध गराउँछ। तिनै किसानले उत्पादन गरेको कृषि उपज विदेश पनि निर्यात हुन्छ।

त्यसैले बुझ्‍नुपर्छ( कृषि एकदम कठिन छ, तर धेरै उन्‍नत आधुनिक छ। किनकि, यदि एक परम्परागत क्षेत्रबाट नेपालमा एक किलो उत्पादन हुन्छ भने इजरायलमा १० किलो। नेपालमा एउटा टमाटरको बोटले दुईदेखि ६ किलो उत्पादन दिन्छ। इजरायलमा एउटा टमाटरको बोटले ५० किलो टमाटर दिन्छ।

यो कसरी सम्भव छ?

यसको जवाफ पाउन तपाईंले इजरायल पुगेर नेपाल फर्केका कृषकसँग भेट्नुपर्छ। उनीहरूले यसका उपाय सिकेका छन्। र, नेपालमा आएर त्यसलाई व्यवहारमा उतारेका छन्। हामीले सञ्‍चालन गरेको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा धेरै नेपाली कृषक सहभागी भइसकेका छन्। उनीहरूले इजरायलमा एक वर्ष बिताए। तिनीहरूले हेरे, सिके र नेपाल आएर त्यही प्रकारले काम गरे। यो सम्भव छ। कुनै समस्या छैन। किनकि, यो कुनै चमत्कार होइन।

के यो रासायनिक मलका कारण सम्भव भएको हो ? यस प्रकारको उत्पादन कुन तरिकाले गर्न सकिन्छ?

इजरायलमा टनेलमा तरकारी खेती हुन्छ। नेपालमा टनेल खेती हुन्छ तर नेपालमा किसानले सिँचाइ गर्दैनन्। नेपाली किसानको मान्यता छ– इन्द्र देवले पानी बर्साउनुहुन्छ। त्यसैमा नेपाली किसान रमाएको पाइन्छ।

तर, यो पर्याप्त छैन। पर्याप्त सिँचाइबाट मात्र प्रशस्त उत्पादन गर्न सकिन्छ। टनेल खेतीमा पनि इजरायलमा थोपा सिँचाइ प्रविधि विकास गरिएको छ। थोपा सिँचाइ भनेको पाइपको हरेक प्वालबाट झर्ने पानीको अनुपात मिलाइएको हुन्छ।

सामान्य पाइपमा प्रशस्त प्वाल बनाउनुभयो भने पहिलो प्वालले १० थोपा पानी दिन्छ, दोस्रोले आठ, तेस्रोले ६ र क्रमशः चार र दुई थोपा दिन्छ र अन्तिम प्वालसम्म पुग्दा पानी बाँकी हुँदैन।

तर, थोपा सिँचाइमा यदि अन्तिम प्वाल धेरै टाढा हुन्छ। र पनि, पहिलो प्वालबाट झरेबराबर नै पानी अन्तिम प्वालबाट पनि झर्छ। यो धेरै महत्त्वपूर्ण छ। थोपा सिँचाइमा यसले जति टाढा भए पनि फरक पार्दैन। कारण– हरेक प्वालबाट समान मात्रामा पानीको थोपा झर्छ।

मल प्रयोगमा नेपाल र इजरायलबीच के फरक छ?

नेपाली किसानले आफ्नै हातले मल हाल्छन्। तर, इजरायलमा किसानले पानीमा मल हाल्छन् र थोपा सिँचाइको माध्यमबाट बोटलाई मल दिइन्छ। हामीले सिँचाइ र मल प्रयोगलाई संयोजन गरेर ‘फर्टिगेसन’ नाम दिइएको छ। यसको अर्थ हो, सिँचाइसँग मल पनि पुर्‍याउनु।

नेपालमा मल ठोस हुन्छ, इजरायलमा तरल। इजरायलबाट नेपाल फर्केका किसानले नेपालमा पनि यो प्रविधि प्रयोग गरिरहेका छन्। काठमाडौंबाट नजिकको धादिङमा कृषकले यो प्रविधिलाई प्रयोगमा ल्याएका छन्।

नेपालमा पानी पुनर्प्रयोगको सम्भावना कस्तो देख्‍नु हुन्छ?

नेपालमा पनि पानी पुनर्प्रयोगको सम्भावना प्रचुर छ। तर, अहिले वागमतीमा जे भइरहेको छ, त्यो धेरै दुःखको कुरो हो। चोभारमा रिसाइक्लिङ केन्द्र बन्‍ने सम्भावना छ। सबै पानीबाट त्यसमा मिसिएको विषादि निकाल्न र ताजा पानी तयार पार्न सकिन्छ तर त्यो पिउन मिल्ने छैन।

मानिसहरू रिसाइकल गरिएको पानी पिउन मन पराउँदैनन्। तर, यो पानी कृषिमा सिँचाइका लागि उपयोग गर्दा किसानलाई राम्रो हुन्छ। यो सम्भव छ। यो बनाउन चोभारमा कुनै समस्या छैन। चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहछेउमा पानी प्रशोधनको सम्भावना छ। त्यहाँ प्रशोधन केन्द्र बनाउन जग्गा पनि पर्याप्त छ। र, त्यहाँ वागमतीको सबै पानी रिसाइकल गर्न सकिन्छ। त्यहाँ धेरै पानी हुनेछ किनभने मेलम्चीको पानी आउँदैछ। त्यसपछि वागमतीमा अझ धेरै पानी हुन्छ।

नेपालले कृषिउपज विकसित मुलुकमा निर्यात गर्न सकेको छैन। के सल्लाह दिनुहुन्छ र?

अहिले नेपालले खाद्यान्‍न आयात गरिरहेको छ। भविष्‍यमा नेपालले खाद्यान्‍न निर्यात गर्नेछ। किनकि, पहिलो त नेपालमा कडा परिश्रम गर्ने मानिसहरू छन्। दोस्रो– नेपालको माटो र मौसम राम्रो छ, जो कृषिको लागि उत्कृष्‍ट छ। र, तेस्रो– अन्य देशहरू अझ औद्योगीकृत हुँदै गएका छन् र उनीहरूलाई बढी खाद्यान्‍न चाहिन्छ।

त्यसैले नेपालमा कृषिमा लगानी बढाउन आवश्यक छ। जस्तो– नेपाली कफी संसारमै उत्कृष्‍ट छ। नेपाली कफी संसारभरमा नम्बर एक र राम्रो छ। तर, यो विदेश निर्यात हुन सकेको छैन। जब कि, नेपाली चिया निर्यात हुँदै आएको छ।

नेपालबाट भारतमा निर्यातको प्रचुर सम्भावना छ। तर, उल्टै भारतले नेपाल निर्यात गरिरहेको छ। तर, भविष्‍यमा नेपालले खाद्यान्‍न निर्यात गर्नेछ। र, मलाई लाग्छ यो सम्भव छ। नेपालबाट भारत र चीन मात्र होइन, बंगलादेशमा पनि निर्यात हुनेछ। युरोपमा पनि नेपाली खाद्यान्‍न पुग्नेछन्। नेपालमा उत्पादन बढाउनमा जोड दिऔँ, निर्यात त हवाई जहाजबाटै पनि सम्भव छ। 

मैले कोरोना महामारीलाई मध्यनजर गरेर भनिरहेको छु– नेपालबाट खाद्यान्‍न निर्यात सम्भव छ। तर, मानिसहरूले बुझ्‍नुपर्छ– कृषि एक जटिल विषय हो, कुनै सोख होइन। यो पेशा हो, व्यवसाय हो अनि जीवन पद्दति हो। निर्यातयोग्य खाद्यान्‍न उप्पादनका लागि नेपाली किसानलाई हौसला मात्र आवश्यक छ। सबैले नेपाली कृषकलाई प्रोत्साहित गर्न जरुरी छ। उनीहरूलाई निर्यातकर्ता बन्‍न प्रोत्साहन आवश्यक छ। नेपालले स्याउ आयात गर्दैछ, किन रु प्याज आयात गर्दैछ, किन रु जब कि, नेपालमै ती दुवै प्रशस्त फलाउन सकिन्छ।

तर, हामीले तरकारी र फलफूल निर्यातका लागि गर्न क्‍वारेन्टिन समस्याको सामना गरिरहेका छौँ?

हो, संसारभर क्‍वारेन्टिन कानून लागू गरिएको छ। किनकि, मानिस रोगबाट टाढै बस्‍न चाहन्छन्। त्यसैले क्‍वारेन्टिन कानून र मापदण्ड पूरा हुने गरी उत्पादन गर्न आवश्यक छ। तर, कफीलाई क्‍वारेन्टिन कानूनले नछुन सक्छ। किनकि, त्यो प्रशोधन गरिएको हुन्छ।

दाना टमाटर निर्यात गर्नुपर्छ छैन। किनकि, त्यसबाट गुणस्तरीय केचप तयार पार्न सकिन्छ। केचपलाई क्‍वारेन्टिन आवश्यक छैन। यसरी नै सबै प्रकारका प्रशोधित खाना उत्पादन गर्न सकिन्छ।

तर, पहिले त ताजा उत्पादनमा नेपाल आत्मनिर्भर हुन आवश्यक छ। कुखुरा, दूधलगायत खाद्य वस्तु आयात गर्नैनपर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ। तर, ती वस्तु पनि अहिले नेपालले आयात गरिरहेको छ।

तपाईं नेपालप्रेमी राजदूतका रूपमा चिनिनुहुन्छ। नेपालप्रतिको मायाको अन्तर्य के हो?

नेपालका मानिस संसारमै राम्रा छन्। यो देश मात्र होइन, देश भनेको मुख्य रूपमा जनता हुन्। नेपालको पर्यटन मन्त्रालयको नारा छ– ‘वान्स इज नट इनफ’। त्यसैले म नेपालमा दोस्रोपटक इजरायलको राजदूत छु।

सन् २०११ देखि २०१४ सम्म म नेपालमा राजदूत थिएँ। तीन महिनाअघि दोस्रोपटक सोही जिम्मेवारीमा आएको हुँ। नेपालमा पहिलो कुरा यहाँका मानिस हुन्। अहि, हिमाल, प्रकृति र संस्कृति हुन्। नेपालमा धेरै चिजको संयोजन छ।

तस्बिर : रिवाज राई

पहिलोपटकभन्दा दोस्रोपटक आउँदा कृषिमा तुलनात्मक रूपमा नाटकीय परिवर्तन आएको पाएँ। नेपालमै बसेर त्यो परिवर्तन देख्‍न नसकिएला। तर, मैले यसलाई देख्‍न सक्छु। टनेल खेती फस्टाएको पाएँ। किवी, लिची प्रशस्त उतपादन भएको देखेँ। कुखुरा उत्पादन प्रशस्त बढेछ। लोकल कुखुराको उत्पादनले आयात लगभग ठप्प भएको पाएँ।

तर, अझै पनि स्याउ र प्याज आयात उस्तै छ। केही समस्या छन् तर नेपालको कृषिले राम्रो प्रगति गरिरहेको छ। हामीले तीन हजार विद्यार्थीलाई फेरि इजरायलमा एक वर्ष पढ्न पठायौँ। उनीहरूमध्ये तीन हजार फर्केर आए। हरेक वर्ष पाँच सय विद्यार्थी पठाइरहेका छौँ। यो ठूलो परिवर्तन हो। उनीहरू फर्केर नेपालको कृषिमा परिवर्तन ल्याइरहेका छन्। त्यसकारण परिवर्तन सम्भव छ। हामीले उनीहरूलाई सहयोग गर्नुपर्छ, मार्गनिर्देशन दिनुपर्छ। र, प्रोत्साहन दिनुपर्छ। उनीहरूले व्यापार गर्नसक्ने वातावरणको विकास गर्नुपर्छ।

म किसान होइन। तथापि, नेपाल, इजरायल, अस्ट्रेलिया र अमेरिकाका किसान उस्तै हुन्। सबै किसान एकै हुन्। तिनीहरू जमिनमा खुट्टा भएका शक्तिशाली मानिसहरू हुन्। उनीहरूसँग बलिष्‍‍ठ पाखुरा छन्। ती मानिस क्यासिनोका लागि होइनन्। क्यासिनो भनेको जुवा हो। जुवामा एक रुपैयाँबाट एक सय रुपैयाँ जित्न सकिन्छ। तर, किसान क्यासिनोजस्तो होइन। किसानले एक रुपैयाँ लगानी गरेर तीनदेखि चार रुपैयाँ कमाउँछ।

इजरायलमा ८० प्रतिशतभन्दा बढी पानी पुनर्प्रयोग गरिन्छ। रिसाइकल गरेर पानीलाई शुद्ध गर्ने लामो प्रक्रिया छ। ढलको फोहोर पानीलाई शुद्ध बनाएर पुनर्प्रयोगयोग्य बनाइन्छ। तर, रिसाइकल गरिएको पानी हामी पिउँदैनौँ। त्यसलाई कृषिका लागि प्रयोग गर्छौँ। त्यसबाट हामी रुखहरू रोप्छौँ, बगैंचा बनाउँछौँ।

किसान गम्भीर व्यक्ति हो। तर, जब उनीहरूले एक रुपैयाँ दिन्छन्, सरकारले उनीहरूलाई सुरक्षा दिनुपर्छ। यो प्रमुख चुनौती हो। किनकि किसानले एक हजार कुखुरा उत्पादन गर्‍यो भने बर्ड फ्लुबाट एकैपटकमा ती सबै मर्न सक्छन्। किसानको सोच एक हजार रुपैयाँ लगानी गर्दा तीन हजार कमाइ हुन्छ कि हुँदैन भन्‍ने हुन्छ।

किसान त्यतिमै खुशी रहन्छ। त्यसैले किसानको सुरक्षा प्रमुख विषय हो। त्यसकारणले सरकारसामु क्यासिनोलाई क्यासिनो र किसानलाई किसान बनाउने प्रमुख चुनौती हुन्छ।

म नेपालका धेरै ठाउँमा पुगेको छु। जहाँ पुग्छु, किसानसँगै रमाउँछु। नेपालको प्रकृति अद्भूत छ। अन्‍नपूर्ण बेस क्याम्प, सगरमाथा बेस क्याम्प, गोसाईंकुण्ड, मनाङ मात्र होइन, नेपालगञ्‍ज, विराटनगर, झापा, चितवन चितवन जहाँ पुग्दा पनि नेपालको प्रकृतिको विहंगम दृष्‍यबाट लोभिन्छु। नेपालमा सुन्दर ठाउँहरू प्रशस्त छन्।

 Published Date: Monday, 8th February 2021 2:56:00 pm