Kathmandu Press

पञ्चायतकालमै जनपक्षीय उम्मेदवारहरूले लोकप्रिय बनाएका थिए सूर्य चिह्न

अहिले नेकपाका दुई समूहले दाबी गरिरहेकाे सूर्य चिह्न पञ्चायतकालमै लाेकप्रिय बनेकाे थियाे जसलाई २०४३ मा काठमाडौंबाट उम्मेदवार बनेका पद्मरत्न तुलाधरले चुनाव चिह्नका रुपमा पाएका थिए।
पञ्चायतकालमै जनपक्षीय उम्मेदवारहरूले लोकप्रिय बनाएका थिए सूर्य चिह्न

काठमाडौं, माघ १७ : संघीय र सातमध्ये ६ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा विभाजित भएपछि चुनाव चिह्न सूर्य कसले पाउने भन्ने विवाद पेचिलो बनेको छ । प्रधानमन्त्री केपी ओली समूहले सूर्य चिह्न आफूले पाउने दाबी गरिरहेको छ।

यस्तै, पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले सूर्य चिह्न आफ्नो समूहले पाउनुपर्ने दाबीसहित १० पुसमै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइसकेको छ।

२०४८ सालको निर्वाचनदेखि तत्कालीन एमालेले निरन्तर सूर्य चिह्नमा चुनाव लड्दै आएको छ। यो चिह्न तत्कालीन एमालेको ‘ब्रान्ड’ बनिसकेको छ।

Hardik ivf

२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्का लागि भएका निर्वाचनमा पनि एमाले यही चिह्नका साथ सहभागी भएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गठित नेपाल कम्युनिस्ट (नेकपा)लाई २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचन आयोगले सूर्य चिह्न प्रदान गरेको थियो।

तत्कालीन एमालेले सूर्य चिह्न रोज्नुको इतिहास कम रोचक छैन । प्रचण्ड-नेपाल समूहमा खुलेका नेता मुकुन्द न्यौपाने भन्छन्, ‘सूर्य चिह्न कम्युनिस्ट पार्टीमा विश्वास गर्ने आम जनमानसको भावनासँग जोडिएको छ।’

उनका अनुसार तत्कालीन नेकपा (माले)ले ०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनलाई उपयोग गर्ने नीति लियो। सोहीअनुसार ६ जना राष्ट्रिय पञ्चायत सदस्यका लागि जनपक्षीय उम्मेदवार बने।

तीमध्ये काठमाडौंबाट उम्मेदवार बनेका पद्मरत्न तुलाधरले सूर्य चिह्न पाएका थिए । सोही बेला हेटौंडा र बारामा पनि सूर्य चिह्न तत्कालीन मालेका नेता-कार्यकर्तामाझ लोकप्रिय बनिसकेको थियो।

‘त्यतिबेला सूर्य चिह्न अंकित ब्यानर, पोस्टर बनाएर जनपक्षीय उम्मेदवारका पक्षमा चुनाव प्रचार गरेको सम्झना ताजै छ,’ न्यौपाने भन्छन्, ‘सूर्य चिह्नलाई पार्टीको ‘लोगो’का रूपमा राख्ने मनोविज्ञान २०४३ मै तयार भइसकेको थियो।’

जनआन्दोलनको बलमा २०४७ सालमा पञ्चायती व्यवस्था ढल्यो । तत्कालीन माले र माक्र्सवादीबीच एकता भएर एमाले स्थापना भयो । २०४८ वैशाख २९ गते तय भएको आम निर्वाचनमा चुनाव चिह्न कुन लिने भन्नेमा एमालेभित्र लामो छलफल चल्यो।

‘कतिपय नेता÷कार्यकर्ताबाट हँसिया–हथौडामा तारा राख्ने सुझाव आयो, कसैले घर चिह्न प्रयोग गर्न सुझाए,’ न्यौपाने सम्झिन्छन्, ‘तर, पञ्चायतमा गरिएको प्रचारप्रसारले सूर्य चिह्नप्रति जनमानसमा सकारात्मक छाप परिसकेको हामीले तत्कालीन एमाले महासचिव स्वर्गीय मदन भण्डारीलाई बताएका थियौँ।’

उनका अनुसार तराईमा छठी माताको रूपमा सूर्यको पूजा हुने, काठमाडौंमा पद्मरत्न तुलाधरले सोही चिह्नमा चुनाव जितेको मात्र नभई हेटौंडा, बारालगायत स्थानमा मतदातामाझ परिचित भइसकेकाले त्यसैलाई चुनाव चिह्न बनाउन स्वर्गीय भण्डारीलाई सुझाइएको थियो।

त्यतिबेला तराईका मतदाता आकर्षित् गर्नु एमालेका लागि महत्वपूर्ण पनि थियो । किनकि, तराई कांग्रेसको बलियो पकड क्षेत्र मानिन्थ्यो। ‘र, पार्टीले सूर्य चिह्न नै रोज्ने निर्णय गर्‍यो,’ न्यौपाने भन्छन्।

२०४८ सालको आम निर्वाचनमा बारामा एमालेले तीन सिटमा विजय हासिल गरेको थियो । त्यसमा सूर्य चिह्नको ठूलो भूमिका रहेको उनी सम्झिन्छन्। ‘तराईका बासिन्दामाझ सूर्यप्रति श्रद्धा भएकाले पनि त्यो जित हासिल भएको थियो,’ उनी भन्छन्, ‘अहिले केपी ओलीले सूर्य चिह्न आफूले बनाएको दाबी गर्नुहुन्छ । तर, सूर्य चिह्न उदय हुँदा उहाँ जेलमै हुनुहुन्थ्यो।’

सूर्य चिह्न कुनै व्यक्तिसँग मात्र नभएर समग्र पार्टीको विचार, नीति, परिचय र पहिचानसँग जोडिएको पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य बताउँछिन् । भूमिगतकालमा सूर्य अंकित गीतहरूमार्फत जनचेतना फैलाउँदै हिँडेको उनी सम्झिन्छिन्।

‘बहुदलपछिको पहिलो निर्वाचनका लागि चिह्न आवश्यक भएपछि सूर्य रोजिएको हो,’ उनी भन्छिन्, ‘कम्युनिस्ट पार्टी भन्नासाथ क्रान्तिकारी र जोसिलोपन तथा उज्यालोको प्रतीक भएकाले पार्टीको चुनाव चिह्न सूर्य रोजिएको हो।’

प्रगतिशील हिसाबले पनि दैनिक जीवनमा पनि सूर्यको विशेष महत्व रहेको तथा संघर्ष र ऊर्जाको रूपमा सूर्य छनोट गरिएको उनको भनाइ छ।

‘यो पार्टीको चिह्न मात्र होइन, सूर्यसँगै आत्मीयता पनि गाँसिएको छ,’ शाक्य भन्छिन्, ‘कम्युनिस्ट पार्टी भन्न नजान्ने हरेक नेपालीका दिल दिमागमा सूर्य चिह्न अंकित छ। त्यसैले आम जनमानसको विश्वास र भरोसा गाँसिएको सूर्य चिह्नको पहिचान कुनै व्यक्ति एक्लैले निर्माण गरेको होइन।’

वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीका अनुसार ०४८ सालमा कांग्रेसले रुख चिह्न लिइसकेको थियो । ‘निर्वाचन आयोगले एमालेलाई सूर्य, नदी, हँसिया हथौडा, गाईलगायत चिह्नको विकल्प दिएको थियो,’ उनी भन्छन्, ‘एमालेका संस्थापक अध्यक्ष स्वर्गीय मनमोहन अधिकारी, महासचिव मदन भण्डारीसहित पार्टी पंक्तिमा छलफलपछि प्राविधिक रूपमा माधवकुमार नेपाल र प्रदीप नेपाल सूर्य चिह्न उपयुक्त हुने निष्कर्षमा पुग्नुभएको थियो।’

निर्वाचन आयोगबाट चिह्न प्राप्त भएपछि पार्टीको आधिकारिक चिह्नका रूपमा पछि डिजाइन भरिएको उनी सम्झिन्छन् । ‘सूर्य चिह्न नै किन भनेर पोलिटब्युरोमा सल्लाह भएको सम्झना छ। यसमा तर्क–बितर्क पनि आएका थिए,’ उनी भन्छन्, ‘भौतिकवाद मान्ने पार्टीले आध्यात्मिक चिह्न प्रयोग गर्न नहुने भन्दै केही साथीले विरोध पनि गर्नुभएको थियो।’

त्यतिबेला पार्टीको चुनाव चिह्न महिलाको प्रतिविम्ब झल्किने या मान्छेका कुरा प्रतिविम्बित हुने प्रकारको हुनुपर्ने मत पनि आएको मैनाली बताउँछन्।

मैनाली भन्छन्, ‘तर, बनाउन, धेरै मानिसलाई चिनाउन र बुझाउन पनि सूर्य चिह्न पार्टीमा सर्वसम्मतीले पारित भएको थियो। यसमा अध्यक्ष मनमोहन अधिकारी, महासचिव मदन भण्डारी, सहाना प्रधान, प्रदीप नेपाल, माधवकुमार नेपाललगायत सबै नेता सहमत हुनुभएको थियो।’

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, माघ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्