नेकपाका दुई पक्ष वाक् युद्धमा, युद्ध मैदानमै बज्दैछ ‘एकताको राग’
वाक् युद्धको मैदानमा एकताको मिठो राग सुनिन थालेको छ । त्यो पनि सर्तसहितको एकताको राग। र, एकले अर्कालाई एकताविरोधी रहेको प्रमाणित गर्ने मनशायका साथ।काठमाडाैं, माघ १६ : नेकपाका दुई पक्ष आपसी वाक् युद्धमा छन्। एकले अर्कोलाई नांगेझार बनाउने कसरतमा दुवै पक्ष जुटिरहँदा प्रधानमन्त्री केपी ओली निकटस्थताको आरोप खेपिरहेका नेता वामदेव गौतमले बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरे। बुधबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजविराजमा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्धको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तीसहित आएमा फेरि पार्टी एकता हुन सक्ने अभिव्यक्ति दिए। पोखरेलको प्रत्युत्तरमा नेता नेपालले एकता या सहकार्यका लागि प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने सर्त अगाडि सारे।
अर्थात्, वाक् युद्धको मैदानमा एकताको मिठो राग सुनिन थालेको छ । त्यो पनि सर्तसहितको एकताको राग। र, एकले अर्कालाई एकताविरोधी रहेको प्रमाणित गर्ने मनशायका साथ।
एकअर्कालाई खुइल्याउन अग्रसर दुवै समूहबीच एकताको सम्भावना छ त? प्रचण्ड–नेपाल समूहमा खुलेका नेता डा. विजय पौडेल भन्छन्, ‘तत्काल एकता र सहकार्य दुवै सम्भव छैन।’ उनका अनुसार अहिले एकताको विन्दु पहिल्याउन कतैबाट संवाद र पहल पनि सुरु भएको छैन। ‘एकताको नाममा टिम जुटाएर ओली समूहमा पु¥याउने वामदेवजीको रणनीति हो, एकताका कुरा भाषण मात्र हुन्,’ डा. पौडेल भन्छन्, ‘ओलीजी ‘हम जहाँ खडे होतें हे, वहीं से लाइन सुरु होता हे’ भन्ने भ्रममा देखिनुहुन्छ। उहाँले धर्ति नटेकी एकता सम्भव छैन। एकपटक माटोमा पछारिएपछि मात्र ओलीजी भ्रमबाट मुक्त हुनु हुनेछ।’
अर्थात्, वाक् युद्धको मैदानमा एकताको मिठो राग सुनिन थालेको छ। त्यो पनि सर्तसहितको एकताको राग। र, एकले अर्कालाई एकताविरोधी रहेको प्रमाणित गर्ने मनशायका साथ।
त्यसो त, गौतमप्रति ओली समूहमै विश्वास देखिँदैन। ओली पक्षमा खुलेका एक नेता भन्छन्, ‘म एकताको पक्षमा छु, पार्टीलाई फोड्न मिल्दैन भनेर उहाँले उभिइदिएको मात्र भए नेकपा विभाजनतिर जाँदैनथ्यो, किनकि उहाँ उभिनासाथ सचिवालयमा एकताको पक्षमा पाँच एकातिर हुन्थ्यो, विपक्षमा चार मात्र रहन्थे। त्यसो भएको भए पार्टी फुटतिर जाने सम्भावना नै रहने थिएन।’
त्यसअघि चलेको द्वन्द्वमा गौतमले ६ बुँदे एकताको प्रस्ताव अगाडि सारेका थिए। ‘त्यसपछि पार्टी एकढिक्का भयो, फुटको कुरा र झगडा गर्ने सबै नेता चुपचाप लागे,’ ओली समूहका ती नेता भन्छन्, ‘उहाँले अहिले एकताको कुरा गर्नु त साह्रै राम्रो हो। तर, पार्टी एक गराउन उहाँ चुकिसक्नुभएको छ।’
ती नेताको भनाइमा ओली समूहले अहिलेसम्म कसैलाई कारवाही गरेको छैन। यदि गौतम एकताको पक्षमा उभिइदिएको भए सचिवालय बैठक सुरु गर्नैपथ्र्यो, त्यसो हुनासाथ एकताको माहोल सिर्जना हुने थियो। ‘त्यसैले अहिले वामदेवजीको एकता अभियानको धरातल नै कमजोर देखिन्छ,’ उनी भन्छन्।
प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डा. पौडेल भने चुनावमा एकपटक पराजयको स्वाद नचाखी ओली पार्टी एकतामा नआउने जिकिर गर्छन्। ‘एकचोटी धुलोमा नपछारिई ओलीजी आउनु हुन्न,’ उनी भन्छन्, ‘ओलीजी मात्र होइन, संसारभरका तानाशाह भ्रममा हुन्छन्, किनकि उनीहरूको वरिपरि जयजयकार गर्ने समूह हुन्छ। र, संसार नै आफ्नो पछाडि छ भन्ने भ्रममा पर्छ। अहिले ओलीजी त्यही भ्रममा हुनुहुन्छ।’
संसद् पुनःस्थापना भयो भने तत्काल ओलीको राजनीति समाप्त हुने बुझाइ प्रचण्ड–नेपाल समूहमा बाक्लो देखिन्छ। त्यसैले उक्त समूह संसद् पुनःस्थापना हुनैपर्ने हठमा देखिन्छ। तथापि, तत्काल चुनावमा जाँदा आफ्नो समूह पनि बहुमत त के संसदमा ठूलो दल पनि नबन्ने उक्त समूहले बुझेको छ। वैशाखमा चुनाव भए आफ्नो समूह दोस्रो ठूलो दल बन्ने र कांग्रेसले बहुमत ल्याउने कुरामा उक्त समूह ढुक्क देखिन्छ।
बुधबार नेता गौतमले पनि त्यही कुरामा जोड दिएका थिए। उनले भनेका थिए, ‘तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर ४३ लाख मत ल्याएका थियौँ। कांग्रेसले ३० लाख प्राप्त गरेको थियो। नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१ लाख भोट हात पर्छ। र, यो भोटले निर्वाचन जितिँदैन। पराजित हुनुको विकल्प छैन।’
गौतमले देखाएको चुनावको डरबाट प्रचण्ड–नेपाल समूहलाई फरक परेको पाइँदैन। किनकि, प्रधानमन्त्री ओलीले चुनाव गराउने कुरामै उक्त समूहले सन्देह प्रकट गरिरहेको छ। ‘उहाँले चुनाव गराउनु हुन्न। जुन शक्तिले उहाँलाई लतारेर यहाँ ल्याएको छ, त्यही शक्तिले उहाँलाई लतारेर उहाँलाई अर्को कोर्सतिर लैजान्छ,’ डा. पौडेल भन्छन्।
पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतमप्रति ओली समूहमै विश्वास देखिँदैन । ओली पक्षमा खुलेका एक नेता भन्छन्, ‘म एकताको पक्षमा छु, पार्टीलाई फोड्न मिल्दैन भनेर उहाँले उभिइदिएको मात्र भए नेकपा विभाजनतिर जाँदैनथ्यो, किनकि उहाँ उभिनासाथ सचिवालयमा एकताको पक्षमा पाँच एकातिर हुन्थ्यो, विपक्षमा चार मात्र रहन्थे । त्यसो भएको भए पार्टी फुटतिर जाने सम्भावना नै रहने थिएन।’
प्रधानमन्त्री ओलीले पार्टीसँग नसोधी नीति तथा कार्यक्रम तयार पारेकाले त्यही विन्दुबाट विभाजन रेखा कोरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको जिकिर छ। ‘नीति तथा कार्यक्रममा कुनै पनि समाजवादी विषय समेटिएन भनेर झगडा सुरु भएको हो,’ डा. पौडेल भन्छन्, ‘ओलीकै नेतृत्वमा चुनावमा गएको भए नेकपाको हालत खराब हुने थियो। ओलीजीले दाबी गरेजस्तो पदको झगडा होइन यो । नीतिगत कुरामै पार्टीलाई बाइपास गरिएकाले झगडा सुरु भएको हो।’
खासमा, नीति तथा कार्यक्रम नेकपाभित्र विवादको एउटा चरण थियो। खासमा, प्रचण्ड–नेपाल समूहलाई घुक्र्याउन ओलीले ८ वैशाखमा राष्ट्रपतिबाट जारी गराइएको दल विभाजनसम्बन्धी अध्यादेश नै नेकपा विभाजनको प्रस्थान विन्दु थियो। चौतर्फी विरोधपछि १२ वैशाखमा राष्ट्रपतिबाटै अध्यादेश खारेज त गराइयो तर त्यसले नेकपा विभाजनको रेखा कोरिदियो।
डा. पौडेलको भनाइलाई आधार मान्ने हो भने पनि मतदाताले प्रश्न गर्दा नाजवाफ बन्नुपर्ने अवस्थाबाट पार्टीले बेहोर्ने क्षति नियन्त्रणका लागि सुरु भएको झगडाले ‘ड्यामेज कन्ट्रोल’ त गरेन नै, तत्काल चुनाव भए बहुमत ल्याउने दलका रूपमा पनि नेकपा बाँकी रहेन। र, तत्काल एकताको विन्दु भेट्नै नसक्ने गरी शीतयुद्ध सुरु भयो।
‘हामी अहिले एकअर्कालाई गाली गलौजमै व्यस्त छौँ,’ ओली–नेपाल समूहका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘आफ्नै विगतलाई सरापिरहेका छौँ ।’ पार्टी विभाजनको प्रस्थान विन्दु भने २६ भदौको समझदारी बनेको उनको ठम्याइ छ । ‘२६ भदौमा ‘तपाईंले साह्रै मरिहत्ते गर्नुभयो, समझदारी गरेर जाऊँ’ भनेर नेताहरू फर्किनुभयो, त्यसपछि ओलीलाई असाधारण शक्ति आर्जन भएको महशुस भयो। समस्या त्यही विन्दुबाट सुरु भएको हो,’ रिजाल भन्छन्, ‘दुवै पदमा बहाल रहने सहमति भएपछि उहाँले आफूमा असाधारण शक्ति अन्तरनिहित भएको ठान्नुभयो। ठूलो पार्टीको अध्यक्ष र दुई तिहाइ बहुमतको प्रधानमन्त्री उहाँलाई बोकाको मुखमा कुभिन्डो बन्यो।’
त्यस्तो असाधारण शक्तिको बुझाइ ओलीमा ५–६ कात्तिकमा भारतीय गुप्तचर संस्था ‘र’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल भ्रमण गरेपछि झाँगिएको विश्लेषण हुने गरेको छ। र, नेपाल–भारत सीमा विवादमा आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले १९ कात्तिकमा नेपाल भ्रमण गरेपछि ओलीले आफूलाई अझ बढी शक्तिशाली ठानेका हुन सक्छन्। किनकि, भारतीय सेनाध्यक्ष नरवणे उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट अलग गराएर काठमाडौं उत्रिएका थिए। तथापि, रक्षामन्त्री पोखरेल जिम्मेवारीविहीन भएर प्रधानमन्त्री कार्यालयका मन्त्रीमा सीमित बन्नुको अन्य आन्तरिक कारण पनि थिए। खासगरी, नेपाली सेनाद्वारा सञ्चालित विकास निर्माणमा पोखरेलको अनावश्यक हस्तक्षेप सेनाले रुचाएको थिएन। ‘तर, गोयल र नरवणेको भ्रमणपछि ओली पार्टीका अन्य नेताहरूसँग असहिष्णु रूपमा प्रस्तुत हुन थालेको देखिन्छ,’ एक विश्लेषक भन्छन्, ‘ओलीको छुद्रताकै कारण पार्टी विभाजनको वातावरण तयार भएको मान्न सकिन्छ।’
तत्काल चुनावमा जाँदा आफ्नो समूह पनि बहुमत त के संसदमा ठूलो दल पनि नबन्ने प्रचण्ड–नेपाल समूहले बुझेको छ । वैशाखमा चुनाव भए आफ्नो समूह दोस्रो ठूलो दल बन्ने र कांग्रेसले बहुमत ल्याउने कुरामा उक्त समूह ढुक्क देखिन्छ।
पृष्ठभूमि जे भए पनि अहिले दुवै पक्ष कसले कसलाई कसरी सिध्याउने भन्नेमा लागिपरेका छन्। राजनीतिको विगत कोट्याउनेदेखि अनेक कथा–कुथुंग्री गाँसेर हिलो छ्यापाछ्यापमा उत्रिएका छन्। कतिसम्म भने अहिले कसैले संवाद अगाडि बढायो भने राजनीति नै धरापमा पर्ने जोखिम देखिन थालेको छ।
प्रचण्ड–नेपाल समूहले आफैंलाई मुल पार्टी बताइरहेको छ। हाल कायम चार सय ३१ केन्द्रीय सदस्यलाई आधिकारिक मान्ने हो भने तीन सय १५ जना आफूसँग रहेको प्रचण्ड–नेपाल समूहको दाबी छ। ‘खाली बैठक बोलाएको प्रक्रिया मिलेन मात्र भनेको हो, निर्वाचन आयोगले। पार्टीमा आफू आधिकारिक भएको दाबी त केपी ओलीले गर्नुप¥यो, किनकि ओली समूह अल्पमतमा छ,’ प्रचण्ड–नेपाल समूहका एक नेता भन्छन्।
यी दुई समूहको मिलनविन्दु कहाँ छ त? केन्द्रीय सदस्य रिजाल यसमा फुटबल खेलको उदाहरण दिन्छन्। ‘एकपटक प्रहार गरेपछि दुई अवस्थामा मात्र बल आफ्नो खुट्टामा फर्किन्छ। या त भित्तामा ठोक्किएर फर्किनुपर्यो, या विपक्षीले फर्काउनुपर्यो,’ उनी भन्छन्, ‘ती दुवै अवस्था अहिले देखिँदैन । अहिले एकताको कुरा गर्ने अवस्था किन छैन भने पहिले कोर्सको टुंगो लाग्नुपर्यो।’
उनको भनाइमा चुनाव या संसद् पुनःस्थापना भन्ने निर्क्योल भएपछि अलग–अलग हिँड्ने कि सम्झौताको कुनै विन्दु पहिल्याउने भन्ने छलफल हुन सक्ने उनको आकलन छ। ‘मुलुक चुनावमै जाने भयो र अब चुनावको बाटो रोकिँदैन भन्ने निष्कर्षमा नेताहरू पुगे भने त्यो विन्दुमा एउटा सम्झौताको वातावरण तयार हुन सक्छ। चुनावी सहकार्यको कुरा त्यतिबेला आउन पनि सक्छ,’ उनी भन्छन्, ‘संसद् पुनःस्थापना भयो भने केपी ओलीको पनि भाग्ने र जाने ठाउँ बाँकी रहँदैन। त्यसपछि उहाँ आफ्ना सबै बाटा बन्द भए, त्यसैले थोरै सम्झौता गरेर भए पनि ब्याक हुन्छु भन्नेमा पुग्नुभयो भने त्यसपछि केही कुरा हुन सक्ला। नत्र तत्काल अहिले एकता सम्भव छैन।’
युद्ध मैदानमा एकताको धुन
भनिन्छ, राजनीतिमा असम्भव केही छैन। त्यही ग्राउन्ड बुझेका वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ थालेका छन्। त्यससँगै वाक् युद्धको मैदानमा एकताको मिठो धुन गुन्जिएको छ। विश्लेषक प्राध्यापक कृष्ण पोखरेल भने यो धुन कार्यकर्तालाई आफू नभई अर्को पक्ष एकताविरोधी भएको भ्रममा पार्न मात्र बजाइएको ठान्छन्।
‘दुवै पक्षले भनेको एकता सर्तसहितको हो, सर्तसहितको एकतामा को जान्छ?’ प्राध्यापक पोखरेल भन्छन्, ‘दुवै पक्षले एकताको कुरा गर्नुको पछाडि हामी एकताविरोधी होइनौँ भनेर आम कार्यकर्ता, जो अनिर्णित छन्, लाई अर्को पक्षलाई एकताविरोधी प्रमाणित गर्नका लागि भनिएको होजस्तो मलाई लाग्छ।’
उनको भनाइमा विभाजनका बेला निर्वाचनमा जाँदा बहुमत आउँदैन भनेर सोच्नुपर्ने त संसद् भंग गर्ने पक्षले थियो। ‘किनकि, उहाँले दुई तिहाइ बहुमत ल्याउनका लागि संसद् भंग गर्नुभएको छ,’ प्राध्यापक पोखरेल भन्छन्, ‘एकअर्काको सर्तमा एकता सम्भव नै छैन। जुन ढंगले माथिदेखि तलसम्म कांक्रो चिरिएजस्तो चिरिएको छ नेकपा, अब त्यति सजिलै जुट्न सक्छजस्तो लाग्दैन।’
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजित हुँदा दुई पार्टी अलग–अलग भएका छैनन्। ‘एमालेभित्र हिजोदेखिको जुन गुटबन्दी थियो, हिजोदेखि केपी ओलीले जसरी आफ्ना विरोधीहरूलाई लखेट्नुभयो, त्यो लखेटाइ र प्रताडनामा परेकाहरूले एउटा आड पाए। माओवादीसमेत भएका कारणले उनीहरूलाई बल पुग्यो। र, यो ठाउँमा पुगेका हुन्,’ पोखरेल भन्छन्, ‘आफ्नो पार्टीका समकक्षीहरूलाई एकदम दबाएर राख्ने अनि पार्टीबाहिरका शक्तिहरूसँग भागबण्डा गर्ने शैली प्रधानमन्त्रीले अपनाउनुभएको देखिन्छ। आफ्नै दलभित्र पावर सेयर गर्न उहाँ तयार नहुनुको परिणति हो, अहिलेको विभाजन ।’
खासमा, प्रचण्ड–नेपाल समूहलाई घुक्र्याउन ओलीले ८ वैशाखमा राष्ट्रपतिबाट जारी गराइएको दल विभाजनसम्बन्धी अध्यादेश नै नेकपा विभाजनको प्रस्थान विन्दु थियो । चौतर्फी विरोधपछि १२ वैशाखमा राष्ट्रपतिबाटै अध्यादेश खारेज त गराइयो तर त्यसले नेकपा विभाजनको रेखा कोरिदियो।
वामदेव गौतमको एकता अभियान पनि सफल हुनेमा विश्लेषकहरू शंका व्यक्त गर्छन्। किनकि, नेकपाभित्र विवादको केन्द्रमै उनी देखिँदै आएका छन्। ‘उहाँलाई संविधान संशोधन चाहियो किनकि राष्ट्रियसभामा गएर प्रधानमन्त्री बन्ने त्यो आवश्यक पर्यो। प्रधानमन्त्री बन्न पाउने भए मात्र राष्ट्रियसभामा जान्छु भनेर उहाँले नै भन्नुभएको हो,’ पोखरेल भन्छन्, ‘उहाँलाई राष्ट्रियसभामा पनि जानुपर्ने, पार्टी उपाध्यक्ष र प्रधानमन्त्री पनि बन्नुपर्ने। वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने भए म छाड्छु भनेर केपी ओलीले भने, उहाँ गजक्क पर्नुभयो। अर्को पक्षले उहाँलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने भनेर कार्यदल नै बनाइदियो, फेरि पनि उहाँ गजक्क पर्नुभयो। त्यतिबेला किन उहाँले यस्तो अवस्था सिर्जना हुन्छ भनेर सोच्नुभएन?’
प्राध्यापक पोखरेलको भनाइमा हरेक पार्टीमा एकता सबैभन्दा मिठो धुन हो । विभाजनका बेला एकताको कुरा अझ बढी प्रिय धुन हो। ‘तथापि, राजनीतिमा असम्भव के छ र!’ पोखरेल भन्छन्, ‘यदि संसद् पुनःस्थापना भयो र दुवै पक्षका दोस्रो तहका नेताहरूले पहिलो पुस्ताका नेताजति सबैलाई सल्लाहकारमा थन्क्याएर नेतृत्वमा आउने आँट गरे भने मात्र दुई पक्षबीच एकताको सम्भावना हुन सक्ला,’ प्राध्यापक पोखरेल भन्छन्, ‘अन्यथा यत्रो गाली गलौजबीचमा यति तात्तातै सहकार्य या तालमेल सम्भव देखिँदैन।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई पक्षबीच असाध्यै तिक्तता बढेको बताउँछन्। ‘२८ कात्तिकमा प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध आरोपपत्र पेश गर्नुभयो र त्यसलाई तल्लो तहसम्म पुर्याएर मानसिक रूपमा पार्टी पंक्तिलाई मानसिक रूपमा विभाजित बनाउनुभयो,’ ज्ञवाली भन्छन्, ‘त्यसका क्रिया-प्रतिक्रिया आउने नै भए। त्यसैले अहिल्यै एकताको अभ्यास सुरु हुने बलियो सम्भावना देखिँदैन।’
दुईवटा विन्दुमा सहकार्य या एकताको सम्भावना उनी देख्छन्। पहिलो- निर्वाचनमा जाने बाटो तय भएपछि एउटा नयाँ परिस्थिति निर्माण हुने सम्भावना छ। ‘विभाजित भएर जाने या एकताबद्ध भन्ने प्रश्न उठ्दा थोरै एकता, थोरै निकटता या थोरै सहकार्यको वातावरण तयार हुन सक्छ,’ उनी भन्छन्।
दोस्रो- निर्वाचनपछि सबैलाई आफ्नो यथार्थ बोध हुने र एक ठाउँमा आउने वातावरण तयार हुन सक्छ। ‘अहिले संवादको पहल र अभ्यास कतैबाट भएको छैन। किनकि, अहिले असाध्यै कटुता र एकअर्कालाई निषेधका गतिविधि चलिरहेका छन्। व्यक्तिगत तहसम्म आरोप-प्रत्यारोप चलिरहेको छ,’ ज्ञवाली भन्छन्, ‘यसबाट वातावरण झन् झन् तिक्ततापूर्ण बन्दै जान्छ।’
वामदेवको एकता अभियान धेरै ढिलो गरी आएको ज्ञवालीको ठम्याइ छ। ‘किनकि, यो प्रयास उहाँले पार्टीमा संकट आउनुअघि नै गर्नुपर्थ्यो। उहाँले हस्तक्षेप गर्नुभएको भए एउटा ठाउँ थियो। यसअघि २६ भदौमा पनि उहाँको हस्तक्षेपले परिणाम ल्याएको थियो,’ ज्ञवाली भन्छन्, ‘एक किसिमको ध्रुवीकरण भइसकेको छ। तथापि, कसैले सदासयतापूर्वक यस्ता कदम चाल्दा त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ।’