पत्रकारको कोरोना खोप अनुभव : शारीरिक कष्ट तर संक्रमणको जोखिममुक्त

कोभिड–१९ महामारी विश्वव्यापी बन्दै गर्दा संसारभरको जनजीवन प्रत्यक्ष प्रभावित बनेको थियो । विकसित मुलुकको तुलनामा नेपालमा महामारीको प्रभाव कम थियो । विदेशमा बसिरहेका नेपाली भने प्रत्यक्ष प्रभावमा परिसकेका थिए । तिनैमध्येका हुन्, लन्डनमा बसेर पत्रकारिता गरिरहेका नवीन पोखरेल ।

महामारीलगत्तै उनी स्वदेश फर्किन पाएनन् । बेलायतको एक अस्पतालको स्टोरमा कार्यरत उनले लकडाउनको समयमा बिदा पाउने कुरै थिएन । बेलायतमा लकडाउनको बेला पनि अत्यावश्यक सबै व्यवसाय र कार्यालय खुला राख्ने निर्णय सरकारले गरेको थियो । ‘त्यसैले लकडाउनका बेला पनि हामीले कार्यालय जानैपर्थ्याे,’ पोखरेल भन्छन् ।

महामारीबाट अत्यधिक प्रभावितमध्ये बेलायत पनि एक हो, जहाँ हालसम्म करिब ३४ लाख जना संक्रमित भएका छन् । यस्तै, करिब ८९ हजार जनाको ज्यान गएको छ ।

बेलायत सरकारले १९ मंसिरमा फाइजर र बायोनटेक कम्पनीद्वारा निर्मित ‘बीएनटी१६२बी२’ नामक खोप आकस्मिक प्रयोगमा ल्याउन अनुमति दिएको छ । सोहीअनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जोखिम समूहलाई धमाधम खोप दिइँदै छ ।

  • खोप दिँदा लिने र दिने दुवै प्रकारका मानिसलाई एकसाथ ठूलो हलमा राखिन्छ । उनीहरूबाहेक अन्य मानिसलाई त्यो हलमा प्रवेश दिइँदैन ।

अस्पतालको स्टोरमा काम गर्ने भएकाले पोखरेलले पनि गत १३ जनवरीमा पहिलो डोज लगाए । जोखिमका बाबजुद उनी कोरोना संक्रमणबाट टाढै रहे ।

‘अत्यावश्यक स्वास्थ्य सेवाअन्तर्गत जोखिम समूहमा पर्ने भएकाले अस्पतालले निःशुल्क खोप दिएको छ,’ उनी भन्छन्, ‘हामीलाई अस्पतालले कोरोना परीक्षण गर्ने सेल्फ टेस्ट कीट पनि दिएको छ, जसबाट सातामा दुईपटक कोरोना परीक्षण गर्छौं । कोरोना संक्रमित नभए पनि जोखिम वर्गमा परेकाले खोप लगाउन पाएँ ।’

अन्य खोपजस्तै बायाँ हातको पाखुरामा उनलाई कोभिड–१९ विरुद्धको खोप दिइएको छ । ‘तर, खोप लगाउनेबित्तिकै शरीरमा असहज महसुस भयो,’ उनी भन्छन्, ‘टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्नेलगायत समस्या देखिइरहेका छन् ।’

उनका साथीभाइलाई भने खोप लगाएपछि त्यसभन्दा बढी स्वास्थ्य समस्या देखिएको छ । चिकित्सकहरूले नै खोप लगाएपछि यस्ता समस्या देखिनसक्ने बताएका थिए । ‘त्यसैले धेरै डर भने लागेन,’ पोखरेल भन्छन्, ‘कतिपयलाई खोप लगाएपछि हात सुन्निने, शरीर दुख्ने, ज्वरो आउने हुन्छ, तर चिकित्सकले यस्तो समस्यालाई सामान्य मानेका छन् । केही मानिसमा भने खोपको पहिलो डोज लगाएपछि कोरोना पजिटिभ पाइएको छ ।’

  • बेलायतमा खोप लिनुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण दिनुपर्छ । त्यसपछि मात्र खोप दिने गरिएको छ । खोप लगाएको १५ मिनेटसम्म आफ्नै अगाडि राखेर स्वास्थ्यकर्मीले खोपको नकारात्मक असर निगरानी गर्छन् । शारीरिक अवस्था सामान्य देखियो भने मात्र घर पठाउँछन् ।

पोखरेलका अनुसार बेलायतमा खोप लिनुअघि आफ्नो स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण दिनुपर्छ । त्यसपछि मात्र खोप दिने गरिएको छ । खोप लगाएको १५ मिनेटसम्म आफ्नै अगाडि राखेर स्वास्थ्यकर्मीले खोपको नकारात्मक असर निगरानी गर्छन् । शारीरिक अवस्था सामान्य देखियो भने मात्र घर पठाउँछन् । पहिलो डोज लिएपछि दोस्रोका लागि तीनदेखि चार साता पर्खिनुपर्छ ।

‘यो खोपलाई अझै पनि मानिसले पूर्ण विश्वास गर्न सकिरहेका छैनन् । खोप लगाएपछि बिरामी, मृत्यु हुनेलगायत समस्या देखेर मानिसले फाइजरको खोपलाई विश्वास गर्न नसकेका हुन्,’ पोखरेल भन्छन् । ६ महिनादेखि एक वर्षसम्म कोभिड–१९ विरुद्ध लड्ने एन्टिबडी तयार हुने चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य समस्या आउने हल्लाका कारण सुरुमा पोखरेललाई पनि खोप लिने कि नलिने भन्ने द्विविधा थियो । ‘खोप लगाउनुअघि मनोवैज्ञानिक त्रास थियो । तथापि, परिवारसँग छलफल, खोप लगाइसकेका साथीभाइको अनुभव र चिकित्सकको परामर्शपछि खोप लगाउन तयार भएँ,’ उनी भन्छन् ।

बेलायतमा ८ डिसेम्बरदेखि कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको थियो । बेलायतमा मात्रै हालसम्म करिब ४० लाख जनाले यो खोप लगाइसकेको सरकारी तथ्यांक छ । केही दिनअघि मात्र कोरोनाका कारण बेलायतमा एकै दिन १५ सय जनाको मृत्यु भएको थियो । हाल दैनिक संक्रमण पनि ठूलो संख्यामा छ । ‘जोखिम कायम रहँदा कोरोनाविरुद्ध खोप लगाएर सुरक्षित महसुस भएको छ,’ पोखरेल भन्छन् ।

फाइजर र बायोनटेकको ‘बीएनटी१६२बी२’ खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्छ । र, खोप निकालेको तीन घण्टाभित्र मानिसलाई दिइसक्नुपर्छ । सोही कारण खोपलाई अलग्गै बाकसमा ल्याउने गरिएको पोखरेल बताउँछन् । खोप दिँदा लिने र दिने दुवै प्रकारका मानिसलाई एकसाथ ठूलो हलमा राखिन्छ । उनीहरूबाहेक अन्य मानिसलाई त्यो हलमा प्रवेश दिइँदैन ।

पोखरेलका अनुसार कोरोना महामारीको सुरुआती दिनमा बेलायतमा यसले भयावह रूप लिएको थियो । बेलायत बस्ने धेरै नेपाली संक्रमित भएका थिए । र, मृत्यु हुने नेपालीको संख्या पनि उल्लेख्य थियो । केही नेपाली हालसम्म आइसियूमा छन् ।

  • केही दिनअघि मात्र कोरोनाका कारण बेलायतमा एकै दिन १५ सय जनाको मृत्यु भएको थियो । हाल दैनिक संक्रमण पनि ठूलो संख्यामा छ । जोखिम कायम रहँदा कोरोनाविरुद्ध खोप लगाएर सुरक्षित महसुस भएको छ ।

‘यहाँको माहोलका कारण नेपालमा रहेको मेरो परिवारले स्वदेश फर्किन भनेको थियो । तर, कामबाट उम्किनै नसकिने वातावरण थियो,’ उनी भन्छन्, ‘नेपाल सरकारले पनि निश्चित वर्गका लगभग अढाइ सय नेपालीलाई मात्र उद्धार गरेकाले यतै बस्न बाध्य भएँ ।’

बेलायत सरकार अर्को सातादेखि दैनिक पाँच लाख जनालाई कोरोनाविरुद्धको खोप दिने तयारीमा छ । यस्तै, मध्य फेब्रुअरीसम्ममा डेढ करोड मानिसलाई खोप दिने लक्ष्य छ । बेलायत सरकारले अक्सफोर्ड र अस्ट्राजेनेकाद्वारा निर्मित खोप पनि दिन सुरु गरेको छ ।

 Published Date: Tuesday, 19th January 2021 2:53:00 pm