Kathmandu Press

अभिनाश र आसिफ चम्किँदा एपिएफ विजयी

कीर्तिपुरस्थित टियू मैदानमा शनिबार भएको खेलमा अभिनाशले बलिङमा ५ विकेट र आसिफले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि एपिएफले प्रदेश १ माथि १३६ रनको फराकिलो जित निकालेको हो ।
अभिनाश र आसिफ चम्किँदा एपिएफ विजयी
Hardik ivfHardik ivf

काठमाडौं, माघ ३ : अभिनाश बोहरा बलिङमा र आसिफ सेख ब्याटिङमा चम्किएपछि ‘प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट’ प्रतियोगितामा विभागीय टिम एपिएफ विजयी भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा शनिबार भएको खेलमा अभिनाशले बलिङमा ५ विकेट र आसिफले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि एपिएफले प्रदेश १ माथि १३६ रनको फराकिलो जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गर्दैे एपिफएले दिएको २४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ले ४२.४ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर मनिस थापाले सर्वाधिक १८ रन बनाए भने फिर्दोस अन्सारीले १७ र दीपेश कँडेलले १६ रनको योगदान दिए ।

प्रदेश १लाई सस्तैमा समेट्ने क्रममा एपिएफका अभिनाश बोहराले ५ विकेट लिए । उनले १० ओभरमा ६ मेडनसहित १८ रन मात्र खर्चिए । यस्तै, अनुवभी स्पिनर बसन्त रेग्मीले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए भने कप्तान शरद भेषावकर र किशोर महतोले समान १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेका एपिएफले ४८.४ ओभरमा अलआउट हुँदै २४३ रन बनाएको थियो । उसका लागि आसिफ सेख र वसन्त रेग्मीले उत्कृष्ट ब्याटिङ गरे । विस्फोटक इनिङ खेलेका आसिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

बसन्तले ५२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४० रनको योगदान दिए । यस्तै, सन्दीप जोराले ३०, कप्तान शरदले २०, सुवास खकुरेल र किशोर महतोले समान १९ रन बनाए । प्रदेश १का फिर्दोस अन्सारी, दीपेश कँडेल, श्रवण यादव र हेमन्त राईले समान २ विकेट लिए ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्ने छन् । आर्मीको यो दोस्रो खेल हो भने कर्णालीको पहिलो खेल हो । शुत्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ९९ रनको जित निकालेको थियो ।

 

प्रकाशित मिति: १८:१० बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्