Kathmandu Press

पल्सर स्पोर्टस् अवार्ड : अरुणाले जितिन् पिपल्स च्वाइस अवार्ड, मन्देकाजी र गाैरिका उत्कृष्ट

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पल्सर स्पोर्टस् अवार्ड–२०७६ को पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । मंगलबार साँझ सातदोबाटोस्थित कराँते हलमा आयोजित कार्यक्रममा अरुणाले सर्वाधिक भोटिङ प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
पल्सर स्पोर्टस् अवार्ड : अरुणाले जितिन् पिपल्स च्वाइस अवार्ड, मन्देकाजी र गाैरिका उत्कृष्ट
Hardik ivfHardik ivf

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले पल्सर स्पोर्टस् अवार्ड–२०७६ को पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । मंगलबार साँझ सातदोबाटोस्थित कराँते हलमा आयोजित कार्यक्रममा अरुणाले सर्वाधिक भोटिङ प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । पिपल्स च्वाइस अवार्ड जित्ने क्रममा अरुणाले करातेका  मन्देकाजी श्रेष्ठ,  बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र महिला फुटबलकी सावित्रा भण्डारीलाई पछि परिन् । 

अरुणा ३७.५२५ प्रतिशत मत प्राप्त गरेकी थिइन् । यस्तै, करातेका  मन्देकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत पाउँदा पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत पाएकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत प्राप्त गरिन् ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको पुरुष वर्ष खेलाडीको अवार्ड करातेका  मन्देकाजी श्रेष्ठले जितेका छन् । १३औं सागमा एकैदिन २ स्वर्ण जित्ने कीर्तिमान बनाएका  मन्देकाजीले एथ्लेटिक्सका गोपिचन्द्र पार्की, फुटबलका विकेश कुथु, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै यो अवार्ड जिते ।

१३औं साग खेलकुदमा पौडीमा नेपाललाई चार स्वार्ण पदक दिलाउने गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७६’को वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । वर्ष महिला खेलाडी बन्नेक्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन् ।

गल्फका सुवास बने उत्कृष्ट युवा खेलाडी
दक्षिण एसियाली खेलकुद (साग)मा गल्फमा नेपाललाई पहिलो स्वार्ण पदक दिलाउने सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । यस अवार्ड जित्ने क्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे । 

यस्तै, तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनकै प्रशिक्षणमा १३औंं सागमा तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । 

आयसा र सन्तोषीलाई स्पेसल, गीता र सिजरिनालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
तेक्वान्दोकी आयशा शाक्य र धाविका सन्तोषी श्रेष्ठले स्पेसल अवार्ड प्राप्त गरेका छन् । आयशा र सन्तोषीले दुवैले १३औं सागमा स्वर्ण जितेका थिए । 

यो वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड टेबलटेनिसका पूर्वराष्ट्रिय खेलाडी गीता क्षेत्री र सिजरिन शाहलाई प्रदान गरिएको छ । टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । गीता र सिजरिनले सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । 

यसैगरी, पारा टेबल टेनिस खेलाडी डिगम सिंह चेम्जोङलाई पारा एथ्लेटिक सम्मानबाट सम्मान गरिएको छ । राष्ट्रिष्य महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो । महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो । महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो ।

यस्तै मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ । उनी लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् ।

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्