Kathmandu Press

‘समाजका कुरामात्रै सुन्नु हुँदैन, जीवनको अस्तित्व र महत्व भिन्नै छ’

महिलाहरूले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिला स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामर्थ्य राख्छन् भन्ने सन्देश पुर्‍याउन समेत साहित्य सहयोगी हुने आशा छ ।
‘समाजका कुरामात्रै सुन्नु हुँदैन, जीवनको अस्तित्व र महत्व भिन्नै छ’
नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक दैनिक पत्रिकाकी निर्देशक शोभा ज्ञवाली
Hardik ivfHardik ivf

नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक दैनिक पत्रिकाकी निर्देशक शोभा ज्ञवालीसामाजिक कार्यमा पनि सक्रिय छन् । योसँगै उनी कथा–साहित्य र नियात्रा लेखनमा रुचि राख्छिन् । भर्खरै उनको कथा संग्रह ‘सम्पूर्ण आकाश’ मञ्जरी पब्लिकेसनबाट बजारमा आएको छ । यसै कथा संग्रहबारे ज्ञवालीसँग काठमाडौंप्रेसकर्मी सोनी शाहीले गरेको अन्तर्वार्ताको सम्पादित अंश :      

‘सम्पूर्ण आकाश’ कस्तो किताब हो ?

यस किताबमा हाम्रो समाजमा देखिएका र सुनिएका कुरालाई अक्षरको रूप दिएर सबै सामु प्रस्तुत गर्न खोजेकी छु । यसमा जम्मा २५ वटा कथा समावेश छन् । जसमध्ये कुनै कथा पत्रपत्रिकामा पूर्वप्रकाशित छन् भने केही केही नयाँ कथा छन् ।

यस संग्रहमा ‘बुहारी भित्रिएको क्षण’, ‘अस्तित्व’, ‘त्याग’, ‘गर्न नसकेको विद्रोह’, ‘अन्तिम निर्णय’ लगायत कथा रहेका छन् । मैले यी कथामा महिलाले समाजको पर्वाह गरेर आफ्ना लागि आवश्यक निर्णय गर्न नसकेको अवस्थालाई प्रस्तुत गर्न खोजेकी छु । यस्तै यस कथासंग्रहमा समाजका कुरामा लागेर जीवन खेर फाल्नु हुँदैन, जीवनको अस्तित्व र महत्त्व भिन्नै छ भन्ने दर्शाउन खोजेकी छु ।

किताबको नाम ‘सम्पूर्ण आकाश’ नै किन ?

हामी महिलाहरू गृहिणी, वर्किङ–वुमेन वा अन्य कुनै क्षेत्रमा रहे पनि हरेक काम परिपक्व तरिकाले गर्न खोज्छौँ । उदाहरणका लागि कुनै अफिसमा कार्यरत महिलाले अफिसबाट घर जाँदा बाटोमा समेत ‘घरमा गएर यो यो काम भ्याउँछु’ भनेर सोचिरहेकी हुन्छे । घर पुगेपछि खाना बनाउने, खुवाउने, बच्चाहरूलाई हेर्ने लगायत थुप्रै घरायसी काम हुन्छन् । यति मात्र नभई घरको सबै काम सकिएपछि अफिसको प्रोजेक्ट–वर्क के के छ भनेर त्यसतिर लागिरहेका हुन्छौँ ।

महिलाहरूले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिला स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामथ्र्य राख्छन् भन्ने सन्देश पुर्‍याउन समेत साहित्य सहयोगी हुने आशा छ ।

हामी महिला यति धेरै काममा अभ्यस्त भएर पनि सबै काममा शतप्रतिशत दिने प्रयास गरिरहेका हुन्छौँ । यसरी महिलाले गर्ने यस्ता कार्यले उनीहरूको अस्तित्व र दायित्व पूरै संसारभरि फैलिएको छ भन्ने दर्शाउन यस किताबको नाम ‘सम्पूर्ण आकाश’ राखिएको हो । अर्कोतिर, हामीकहाँ महिलालाई ‘आधा आकाश’ पनि भनेको सुनिन्छ । यो किन र कसरी भनियो भन्ने मलाई जानकारी छैन तर मलाई लाग्छ, महिला पनि र पुरुष पनि आधा–आधा होइनन्, आफैँमा सम्पूर्ण हुन् । यसर्थ यो नाम राखिएको हो । 

महिलाले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिलाहरू स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामथ्र्य राख्छन् भन्ने सन्देश पुर्‍याउन समेत साहित्य सहयोगी हुने आशा छ ।

किताब लेख्न कसरी प्रेरित हुनुभयो ?

म एउटा सामान्य परिवारमा जन्मिएर त्यही वातावरणमा हुर्केकी हुँ । भविष्यमा केही गर्नुपर्छ भन्ने बालापनदेखि नै मनमा हुन्थ्यो । आफैँ एक महिला भएर युवा अवस्थामा आइसक्दा समाजमा भएका धेरै सकारात्मक र नकारात्मक कुरा देखेँ, भोगेँ । 

पछि म विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भएँ । यसरी विभिन्न क्षेत्रका महिलासँग अन्तक्र्रिया भयो । उहाँहरुका कुरा सुन्न पाएँ । महिला राम्रै कामका लागि घरबाहिर निस्कँदा पनि समाजले नराम्रो भनेको, समाजबाट आउने नकारात्मक कुराको सामना गर्दै बाहिर निस्किनुपरेको मैले देखेँ । यस्ता धेरै पक्षहरूले मलाई किताब लेख्न प्रेरणा दियो ।

यो समाजमा मानिसका लुकेका कथा धेरै छन् । ती कथामा महिलामाथिका विभेद, महिलाले गरेका विद्रोह पनि छन्, त्यसलाई बाहिर ल्याउनुपर्छ भन्ने भावनाका कारण पनि कथाहरु लेख्दै गएँ र संग्रह तयार भयो भन्ने लाग्छ । यो किताबमा मैले महिलाहरूको कथालाई मात्र फोकस गरेर प्रस्तुत गरेकी छु ।

तर कतिपय पुरुषहरू पनि उत्तिकै पीडित भइरहेका हुन्छन् । श्रीमती कहाँ गएको ? किन समयमै घर नआएको ? लगायत कुराले गर्दा पनि उनीहरू फ्रस्ट्रेड भइरहेका हुन्छन् । कुनै पनि महिलाले आफ्नो श्रीमान्लाई यस्तो व्यवहार गर्न हुँदैन । यस किताबमा यस्ता कुराको पनि केही हदसम्म उल्लेख गरी सबैले आफूलाई केलाउनुपर्छ भन्ने सन्देश दिन खोजेकी छु ।

किताब र वास्तविकतामा के फरक पाउनुभयो ?

कतिपय अवस्थामा हामी आफूले गरेको गल्ती देख्दैनौँ । कहीँ पढेर वा हेरेर पनि हामीबाट भएका गल्तीहरूको मनन गर्न सकिन्छ ।कसैले किताब पढेर महसुस गर्न सक्छ । मैले समाजमा स्थापित वास्तविकताहरूलाई नै किताबमा उल्लेख गरेको भएर किताब र वास्तविकतामा खासै फरक छैन ।

‘सम्पूर्ण आकाश’ कथासंग्रहका विशेषता के–के छन् ?

यस किताबको मुख्य विशेषता भनेको यसमा समाजमा भएका कुरालाई नै दर्शाएकी छु । हामी आफैँले आफूलाई चिन्नुपर्छ । मेरो शक्ति केमा छ, मैले के गर्न सक्छु, मेरा लागि के राम्रो भन्ने मैले आफैँ बुझ्नुपर्छ । 

आफूलाई प्रमाणित गर्न केही संघर्ष गर्नुपर्छ । आफ्नो कामलाई निरन्तरता दिने र सधैँ सकारात्मक सोच राख्नैपर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रयास नै यस किताबको मूल विशेषता हुन् । यस्तै सन्देश हाम्रो समाजमा पुर्‍याउन अर्को पनि किताब प्रकाशनको तयारीमा छु ।


 

प्रकाशित मिति: १८:४० बजे, शनिबार, मंसिर २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्