Kathmandu Press

नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा फर्किएको छ : डा. भट्टराई 

नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा फर्किएको छ : डा. भट्टराई 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १५ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्विपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको स्पष्ट पारेका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरेका हुन्। 

भट्टराईले भने,‘हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारको स्पष्ट भनाइ के छ भने संविधानमा पनि उल्लेख छ–हामी कतैपनि संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौं। हाम्रो भू–राजनीतिक अवस्थिति नै त्यस्तो छ, हामी यता हो कि उता भनेर सोच्ने छुट छैन। हाम्रा नजिकका छिमेकीहरुसँगको सम्बन्धलाई ध्यान दिनैपर्छ । स्वतन्त्रतासँग जोडिएको विषय छ । जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ।’ 

उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको सुनाए र आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने,‘सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढीभन्दा बढी परनिर्भरता भारतसँग रह्यो। अहिले पनि दुई तिहाइ  वैदेशिक व्यापार भारतसँगमात्रै छ। भारतले सहयोगात्मक परियोजना नेपालमा थुप्रै छन्। संविधान बनाउने बेलामा भारतले प्रभाव देखाउन खोजेको थियो। तर, नेपालका दलहरुले एकता देखाए। आजको नेपाल र आजको चेतनाअनुसार हामी सम्बन्ध बनाउँछौँ। त्यही भएर हामीले हाम्रो  आन्तरिक मामिलामा हस्तक्षेप हुँदैन भन्यौं।’

उनले भारतसँग सिमाको विवादको समस्या रहेको उल्लेख गर्दै त्यसलाई पनि हल गर्नेगरि वर्तमान सरकारले काम अघि बढाएको बताए। डा. भट्टराईले अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको बताए।

उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध ट्रयाकमा फर्किएको छ। अब परराष्ट्रमन्त्रीस्तरीय भ्रमण हुन्छ। मलाई लाग्छ, यो डिसेम्बरभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठक बस्छ। बास्तवमा यो संयन्त्रको मिटिङ भनेको महत्वपूर्ण हो, भेटवार्ताको यो ठूलो र महत्वपूर्ण मेकानिजम हो। यसमा सबै विषयमा छलफल हुन्छ। अस्ति दुई परराष्ट्रसचिवबीच सबै विषयमा छलफल भएका छन्। सीमा समस्याबारेमा पनि छलफल भएको छ। अब परराष्ट्रमन्त्रीस्तरमा हुन्छ। यसले त्यो भन्दा बढी लेभलमा छलफल र भेटवार्ता हुन्छ।’
 

प्रकाशित मिति: २२:४२ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्