Kathmandu Press

पाटन दरबार क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

पाटन, मंसिर ७ : पाटन दरबार परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीका कारण गत चैतदेखि लकडाउन भएसँगै पाटन दरबार प्राङ्गणमा पनि...
पाटन दरबार क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल
Hardik ivfHardik ivf

पाटन, मंसिर ७ : पाटन दरबार परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। काेराेना महामारीका कारण बन्द रहेका पर्टकीय गन्तव्य खुलेसँगै पाटनमा पनि चहलपहल बढेकाे हाे।

कोरोना महामारीका कारण गत चैतदेखि लकडाउन भएसँगै पाटन दरबार प्राङ्गणमा पनि आवागमन शून्य भएको थियो। अहिले भने पुनः आन्तरिक पर्यटक घुमफेरका लागि आउन थालेका छन्। 'कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो। भौतिक दूरी कायम गरेर यसो केहीबेर पाटन दरबार क्षेत्र डुल्न निस्किएका हौँ,' पाटन घुम्न आएका सरिता मैनाली र उनका साथीले भने।

महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्ण मन्दिरको काखमा आएको अर्का राकेश पुरीले बताए। मंसिर महिनाको चिसो बढेसँगै एकदेखि दुई घन्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन सङ्ग्रहालय वरपर टोलमा बस्ने केही वृद्धले बताए।

मुलुकमा कोरोना संक्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो। मंसिर लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्बिर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ।

पाटन दरबार क्षेत्र मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले भरिएको एक महत्वपूर्ण स्थल हो। मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए।

काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि रहेका छन्।

विश्व कला परिषद्ले पाटन क्षेत्रलाई विश्वको ३५औं कला नगरी शहर घोषणा गरिसकेको छ। पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्री वितरण हुने गर्छन्।

काठमाडौं उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको शुरुआत भएको मानिन्छ। (रासस)

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्