Kathmandu Press

कोरोना जोखिमका बेला कसरी गर्ने छातीको हेरचाह?

होम आइसोलेसनमा बसेका मानिसले आराम गर्ने, झोलिलो पदार्थ खाने, दैनिक सामान्य शारिरीक व्यायाम गर्ने लगायतका कार्य गर्नपर्छ। साथै श्वास फेर्न गह्रो भयो वा अत्यधिक ज्वरो आएमा भने तत्काल अस्पताल जानुपर्छ।
कोरोना जोखिमका बेला कसरी गर्ने छातीको हेरचाह?
Hardik ivfHardik ivf

मानिसहरुले नाक बन्द हुँदा, एलर्जी, रुघाखोकी लगायतका समस्या आउँदा तातो पानीको बाफ लिने गर्दछन्। पानीको बाफमा हुने एक प्रकारको मोइस्चरका कारण शारिरीक सहजता आउने भएकाले मानिसहरुले बाफ लिने गर्दछन्। 

यो कोरोनाका कारण मात्र नभई पहिलेदेखि नै चलिआएको छ। यसले नाक खुला गर्ने, घाँटी चिलाएको कम गर्ने भएपनि यो पूर्णरुपमा रोगको उपचार भने होइन। कुनै पनि रोगको उपचार बाफले मात्रै गर्दैन। तर, मानिसमा यसको मनोवैज्ञानिक प्रभाव भने पक्कै पनि पर्छ। 

मानिसले बाफ लिँदा एक प्रकारको उनीहरु मानसिक रुपमा नै ‘अब म निको हुन्छु’ भन्ने भावना आउँदा यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक असर पार्ने गर्छ। तर, अत्यधिक तातो बाफ लिँदा भने स्वास्थ्यमा असर पार्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैले कुनै पनि स्वास्थ्य समस्याका कारण तातो पानीको बाफ लिन परेमा मध्यम तापक्रममा लिनु पर्दछ। 

अहिले मानिसहरुले कोरोना लागेपछि यसको घरेलु उपचारका रुपमा बाफ लिने गरेको पनि पाइन्छ। तर, यो कोरोनाकै लागि मात्र हुने भन्ने हुँदैन। कोरोना होस् वा अन्य सामान्य रोग होस्, जुनसुकै रोगको घरेलु उपचारको रुपमा यसलाई लिएपनि यसको काम भनेको नाक बन्द भएको खुलाउने र घाँटी खसखसाएको कम गर्ने मात्र हो। 

उदाहरणका लागि कोरोना संक्रमणको लक्षण देखिँदा त्यसको उपचारका लागि बाफ लिन मिल्यो तर कोरोनाकै उपचारका लागि सबै संक्रमितले बाफ लिन अनिवार्य छैन। कतिपय मानिसले कोरोना संक्रमण नहुँदा समेत बाफ लिएको पनि पाइन्छ। यसले निमोनिया रोग निम्त्याउने अफवाह समेत फैलिएको छ। बाफ लिएर निमोनिया हुने भन्ने कुरा भ्रम मात्र हो।

कुनै रोग लागेपछि मात्र बाफ लिनु पर्छ भन्ने हुँदैन। यदि कसैलाई दम छ र बाफ लिँदा सहज महसुस गर्छ वा कुनै पनि स्वास्थ्य समस्या नहुँदा पनि बाफ लिएर शारिरीक स्वस्थता महशुस गर्छन् भने हामीले लिनु हुँदैन भन्नु पर्ने अवस्था छैन।

कतिपयमा लक्षण भएर वा नभएर कोरोनाको शंका लागेपछि त्यसलाई लुकाएर आफूखुसी चिकित्सकको परामर्शबिना औषधि सेवन गरिरहेको पनि पाइएको छ। जुन एकदमै गलत हो। जुनसुकै रोग लागेपनि चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन गर्नु हानीकारण हुनसक्छ।

जस्तै कुनै एक व्यक्तिले रुघा लाग्दा वा सामान्य ज्वरो आउँदा सिटामोल खान्छ भने त्यो ठीक छ। तर, धेरै दिनसम्म ज्वरो आएपनि सिटामोल मात्र खानु भने स्वस्थकर होइन। कहिलेकाहीँ आफूले चिकित्सकको परामर्शबिना खाएको औषधि गलत पर्न सक्छ भने कहिले खानै नपर्ने औषधि पनि खाइरहेको हुन्छ। यसले तत्काल नभएपनि पछि गएर शरीरमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहन्छ। 

अधिकांश भाइरस औषधिबिना आफैँ निको भएर जाने हुन्छ। तर, ज्वरो धेरै आउने, खोकी लाग्ने, छाती दुख्ने लगायतका समस्या आएपनि बाफ लिएको छ, बेसारपानी खाएको छु भनेर ढुक्क हुने अवस्था भने छैन। यस्तो अवस्थामा तुरुन्तै अस्पताल गएर फोक्सोमा निमोनिया भएको छ वा छैन? कोरोनाकै कारणले हो वा होइन? हो भने के गर्ने? भन्ने कुराको टुंगो लगाइहाल्नु पर्छ। यसमा लापरवाही गर्नु हुँदैन।

कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसबाट संक्रमण हुँदा खानपानमा बार्नु पर्दैन। चिसो, लागु पदार्थ र विषालु खाने कुरा खान भएन। यसबाहेक सक्दो पौष्टिक खाने कुरा खानाले रोगसँग लड्ने क्षमता बढाउँछ। यस्तै, कोरोना सक्रमित भई होम आइसोलेसनमा बसेका मानिसले आराम गर्ने, झोलिलो पदार्थ खाने, दैनिक सामान्य शारिरीक व्यायाम गर्ने लगायतका कार्य गर्नपर्छ। साथै श्वास फेर्न गह्रो भयो वा अत्यधिक ज्वरो आएमा भने तत्काल अस्पताल जानुपर्छ।

-छाती विशेषज्ञ डा. कार्कीसँग गरिएको कुराकानीमा आधारित। 

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्