Kathmandu Press

बाँकेकाे डुडुवामा १० करोड खर्चेर गाउँपालिका भवन बनाइँदै

नेपालगन्ज, कात्तिक १२ : बाँकेको डुडुवा गाउँपालिकाले १० करोड खर्चेर कार्यालय भवन बनाइरहेको छ।गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा...
बाँकेकाे डुडुवामा १० करोड खर्चेर गाउँपालिका भवन बनाइँदै

नेपालगन्ज, कात्तिक १२ : बाँकेको डुडुवा गाउँपालिकाले १० करोड खर्चेर कार्यालय भवन बनाइरहेको छ।

गाउँपालिका केन्द्र रहेको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजारको लागतमा कार्यालय भवन निर्माण भइरहेको छ। चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय  र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए।

Hardik ivf

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ। कोरोना महामारी सङ्क्रमण र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढ्ने बताए। भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको ६ महीना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने बताए।

दुई वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो। भवन निर्माणका लागि सङ्घीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ। गाउँपालिकाले अहिले वडा नंं. ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य ६ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्दै आएका छन्। (रासस)

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्