Kathmandu Press

महानिर्देशकको निन्द्रा डिष्टर्व भएपछि पाइलटलाई स्पष्टिकरण !

सिमसिम पानी परेका बेला बिहानै टुईनेटर जहाजको आवाज सुनेपछि पोखरेलले तुरुन्तै नागरिक उड्यान प्राधिकरणका सेफ्टी डिभिजनका कामु निर्देशक राजु श्रेष्ठलाई फोन गरेर प्रश्न गरे, ‘को हो बिहानै पानी परेका बेला विमान उडाउने?’
महानिर्देशकको निन्द्रा डिष्टर्व भएपछि पाइलटलाई स्पष्टिकरण !

काठमाडौं, असोज २६ : नागरिक उड्यान प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एका बिहानै हवाई जहाजको आवाज सुनेपछि उडान भरेका एक पाइलटलाई अधिकारको दुरुपयोग गर्दै स्पष्टिकरण लिएको भेटिएको छ।

असोज १२ गते बिहान काठमाडौं उपत्यकामा छिटपुट पानी परेको थियो। तर पानी परेपनि आकाश भने खुला नै थियो। तारा एयर त्रिुभवन विमानस्थलको टावरको अनुमति पाएपछि बिहान ६ः३० बजे काठमाडौं–लुक्लाको लागि उड्यो। महानिर्देशक पोखरेल कोटेश्वरमा बस्छन्। सिमसिम पानी परेका बेला बिहानै टुईनेटर जहाजको आवाज सुनेपछि पोखरेलले तुरुन्तै नागरिक उड्यान प्राधिकरणका सेफ्टी डिभिजनका कामु निर्देशक राजु श्रेष्ठलाई फोन गरेर प्रश्न गरे, ‘को हो बिहानै पानी परेका बेला विमान उडाउने?’

श्रेष्ठले फोन मै तत्काल बुझेर खबर गर्छु भन्ने जवाफ दिए। पछि थाहा भयो, जहाज काठमाडौं र लुक्ला दुवैको भिजिविलिटी राम्रो भएको कारण विमानस्थल टावरको अनुमतिमै लुक्ला उडेको रहेछ। यो सबै जानकारी श्रेष्ठले महानिर्देशक पोखरेललाई गराए। तर पनि पोखरेलले ‘मौसम राम्रो छैन, पानी परिरहेको बेलाउ डाउने?’भन्दै तत्काल तारा एयरका पाइलटलाई स्पष्टिकरणको पत्र काट्न निर्देशन दिए। 

तारा एयरको उक्त उडानका पाइलट थिए, प्रभाकर घिमिरे। घिमिरे अनुभवी पाइलटको रुपमा चिनिन्छन्। तारा एयर र पाइलट घिमिरेले भने काठमाडौं र लुक्ला दुवैको मौसम उड्न सक्ने भएको विमानस्थल टावरकै जानकारी अनुसार उडान भरेको बताएका छन्। ‘मैले आफै उडाउन सक्छु भन्ने पाइलटसँग अधिकार नै हुँदैन, विमानस्थल टावरको अनुमति लिएरै मैले उक्त उडान भरेको हो’ घिमिरेले काठमाडौं प्रेससँग भने, ‘सेफ्टीको कारण देखाएर मलाई स्पष्टिकरण सोधिएको हो, मैले प्रष्ट गरिसकेको छु। यसलाई मैले अन्यथा लिएको छैन। तर उक्त उडानमा काठमाडौं र लुक्ला दुवैको भिजिविलिटी उडान भर्न सकिने थियो।’

यस विषयमा महानिर्देशक पोखरेलसँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चोहनन्। 

त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले भने आफुलाई विस्तृत विषय थाहा नभएको बताउँदै सामान्य फोनमा पाईलटसँग सोधपुछ गरेको बताए। ‘मैले बुझेसम्म पानी परेका बेला किन उडान भरेको भनेर पाइलटसँग सामान्य सोधपुछ भएको हो’ श्रेत्रीले भने।

विमानस्थलबाट कुन विमान कति बेला उड्ने? मौसमको अवस्था कस्तो छ?भन्ने विषयमा नागरिक उड्यान प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्छ। 

विमानस्थलको टावरदेखि राडरलगायत एउटा विमान पार्कवेबाट निकाल्नदेखि सबै प्रक्रिया प्राधिकरण अन्तर्गतका कार्यालयहरुले नै अनुमति दिएपछि मात्रै अघि बढ्छ। ‘आफै महानिर्देशक भएको कार्यालय मतहतले अनुमति दिएर उडेको विमानका पाइलटलाई सनकको भरमा अनावश्यक स्पष्टिकरण सोधेर पोखरेलले अधिकारको दुरुपयोग गरेका छन्’, प्राधिकरणकै एक उपनिर्देशकले भने। 

हवाई सुरक्षा शाखाका निमिक्त निर्देशक राजु श्रेष्ठले पनि आफ्नो अधिकार मिचेर पोखरेलको निर्देशनअनुसार पाइलटलाई बिना कारण स्पष्टिकरण सोधेका छन्। यस विषयमा उनीसँग कुरा गर्दा उनले सबै विषयमा प्रवक्तासँग कुरा गर्न अनुरोध गर्दै पन्छिए। श्रेष्ठ प्राधिकरणका कनिष्ठ अधिकारी हुन्। 

उनीभन्दा वरिष्ठहरुलाई थन्काएर उनलाई पोखरेलले नै सुरक्षा शाखाको निमिक्त प्रमुखको जिम्मेवारी दिएका हुन्। प्राधिकरणका ती उपनिर्देशक कनिष्ठलाई महत्वपूर्ण शाखाको रुपमा रहेको सुरक्षा शाखाको जिम्मेवारी दिँदा यस्तै गैर व्यवसायीक काम हुने गरेको बताउँछन्।

प्रकाशित मिति: २३:३० बजे, सोमबार, असोज २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्