Kathmandu Press

‘चीनका लागि नेपाली राजदूत पाण्डेले चिनियाँ पत्रिकामा दिएको अन्तर्वार्ता कूटनीतिक संवेदनशीलता विपरीत’

‘परराष्ट्रमन्त्री भएको मान्छेले बोल्नै पर्ने अवस्था भएर त्यस्तो बोल्नु भएको होला। त्यो उहाँले नै जान्नुहुन्छ तर एउटा देशसँग सम्बन्ध सुदृढ बनाउने जिम्मेवारी पाएको मान्छेले अर्को देशलाई होच्याउने काम गर्ने र चीनबाट भारतविरुद्धको कार्ड फाल्ने काम परिपक्व कूटनीतिज्ञले गर्ने होइन,’ भट्टराईले भने।
‘चीनका लागि नेपाली राजदूत पाण्डेले चिनियाँ पत्रिकामा दिएको अन्तर्वार्ता कूटनीतिक संवेदनशीलता विपरीत’
चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे। तस्वीर : ग्लोबल टाइम्स।
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले ग्लोबल टाइम्ससँग दिएको अन्तर्वार्तामा नेपालको भू-राजनीतिक संवेदनशीलता ख्याल नगरेको भन्दै आलोचित बनेका छन्। 

सोमबार चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा अन्तर्वार्ता दिने क्रममा उनले भारतीय सञ्चारमाध्यमले नेपाल-चीन सम्बन्धमा दरार पैदा गर्दा झुटा समाचार सम्प्रेषण गरेको प्रतिक्रिया दिएका थिए। उनले भारत नेपालको सीमा मिच्न उद्धत रहेको विभिन्न घटनाक्रमले पुष्टि गरेको समेत टिप्पणी गरेका थिए।

पाण्डेको उक्त अन्तर्वार्तालाई अपरिपक्व कूटनीतिका रुपमा विज्ञहरुले हेरेका छन् भने नेपालको भू-राजनीतिक संवेदनशीलतालाई पाण्डेले नजरअन्दाज गरेको टिप्पणी गरेका छन्।

परराष्ट्र मामिला जानकार दिनेश भट्टराईले एउटा देशमा बसेर अर्को देशविरुद्ध बोल्ने काम कूटनीतिक सिद्धान्त विपरीत रहेको बताए। राजदूत पाण्डेले नेपाल-भारत सम्बन्धको संवेदनशीलतालाई नजरअन्दाज गर्ने काम गरेको भट्टराईको भनाइ छ। 

‘परराष्ट्रमन्त्री भएको मान्छेले बोल्नै पर्ने अवस्था भएर त्यस्तो बोल्नु भएको होला। त्यो उहाँले नै जान्नुहुन्छ तर एउटा देशसँग सम्बन्ध सुदृढ बनाउने जिम्मेवारी पाएको मान्छेले अर्को देशलाई होच्याउने काम गर्ने र चीनबाट भारतविरुद्धको कार्ड फाल्ने काम त परिपक्व कूटनीतिज्ञले गर्ने काम होइन,’ भट्टराईले काठमाडौंप्रेससँग भने।

यस्तै, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले पनि हालका राजदूत पाण्डेले भू-राजनीतिक संवेदनशीलतालाई ख्याल नगरेको पाइएको बताएका छन्। चीन र भारत दुवैले शीतयुद्धमा नेपाललाई प्रयोग गर्न खोजेकाले त्यसमा कोही पनि प्रयोग हुन नहुने उनले बताए। 

राजदूत पाण्डेको आशय सही भए पनि शैली भने परिपक्व नदेखिएको उनको भनाइ छ। ‘अन्तर्वार्तामा उहाँले नेपाल-भारतबीच रहेको सीमा समस्या र भारतीय मिडियाले नेपाल चीनको सम्बन्धमा प्रभाव पार्न कोशिश गरिरहेको कुरा गर्नु भएको छ। यो कुरा सत्य पनि छ। तर विचार अभिव्यक्त गर्दा दुई देशबीचको सम्बन्धका आयामलाई विचार गरिनुपर्छ। राजदूत पाण्डेको अभिव्यक्ति सही भएपनि शैलीमा भने तलमाथि भएकै छ,’ उनले भने।

राजदूत पाण्डेले नेपाल-भारतबीच सीमा विवादको विषय कायमै रहेको र नेपाल एक चिनियाँ नीतिमा अडिग रहने अन्तर्वार्तामा बताएका थिए।
 
ग्लोबल टाइम्समा प्रकाशित चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको अन्तर्वार्ताको अनुवाद :

-चीनका लागि नयाँ नेपाली राजदूतका रुपमा तपाईंको प्राथामिकता के छ?

नेपाल र चीन असल छिमेकी मुलुक हुन्। हामीले सन् १९५५ देखि  राम्रो सम्बन्ध कायम गर्दै आएका छौँ। नयाँ राजदूतका रुपमा मेरो प्राथामिकता भनेको दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा ल्याउनु नै हुनेछ। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण सफलापूर्वक सम्पन्न भएको थियो। त्यस भ्रमणका क्रममा विभिन्न २० वटा सम्झौता भएका थिए।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पनि केही सम्झौताहरु भएका थिए। मेरा प्राथमिकता भनेकै तीनै सम्झौतालाई कार्यान्वयनमा लैजानु हुनेछ। गत वर्ष बीआरआई अन्तर्गत केही कार्यक्रम बनेका छन्। यस्तै शिक्षा स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रमा पनि संयुक्त सहकार्य गर्नु पर्नेछ। बेइजिङमा मेरो बसाइका क्रममा यी विषयहरु मेरो प्राथामिकतामा पर्नेछन्।

-विदेशी सञ्चारमाध्यम विशेषगरी भारतीय सञ्चारमाध्यममा नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा सुरक्षाका सवालमा प्रश्न उठाइएका छन्। यसप्रति तपाईंको धारणा के छ?

यो विषयमा कुनै सत्यता छैन र यी कुरा पूर्वाग्रही आचरण र त्रासदीपूर्ण मनोविज्ञानको उपज हो। भारत उपनिवेशनमा हुँदा नेपाल स्वतन्त्र र सार्वभौम मुलुक थियो। हामी कुनै पनि शक्ति र विचार समूहतर्फ ढल्केका छैनौँ। भारतीय सञ्चारमाध्यमहरु पूर्वाग्रही रहेका हुन सक्छन् वा कसैबाट भ्रमित भएका हुन सक्छन्। त्यसैले उनीहरुले झुठा समाचार र विषयवस्तु प्रचार गरिरहेका छन्। नेपाल र चीनबीचको सहकार्य स्वभाविकरुपमा सौहार्दपूर्ण छ। चीन र भारत दुवै हाम्रा छिमेकी हुन्। एउटा छिमेकी अर्कोसँग तर्सनु हुँदैन, एक-अर्काबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै आपसी हितमा सहकार्य गर्नुपर्छ।

-पश्चिमा सञ्चारमाध्यमहरुले नेपाल चीन र भारतको सीमा विवादको चेपुवामा परेको बताइरहेका छन्। यसलाई कसरी हेर्नुहुन्छ?

नेपाल चीन र भारत दुवैको छिमेकी हो। कहिलेकाहीँ यस्तो समस्या उत्पन्न हुनसक्छ। नेपाल र भारतबीच सीमा विवाद अझै पनि कायमै छ। विगतमा चीनसँग पनि सीमा विवाद थियो तर त्यो विवाद हामीले वार्तामार्फत समाधान गर्‍यौँ। अहिले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद छैन।

यता भारतले भने हाम्रो भूमि अतिक्रमण गरिरहेको छ। सन् १९६३ मा भारत र चीनबीच युद्ध भएको थियो। त्यस युद्धमा भारत पराजित भएको थियो। त्यतिबेला भारतीय सैनिकहरु अस्थायी रुपमा हाम्रो भूमिमा बसेका थिए। कालान्तरमा भारतले हाम्रो त्यो भूमि आफ्नो रहेको दाबी गर्‍यो। यो समस्या सुल्झाउन नेपाल र भारतले अहिले पनि वार्ता र संवादलाई निरन्तरता दिइराखेको छ।

आधुनिक विश्वमा सबै समाधान हतियार र युद्धले गर्दैन। वार्ता र संवादमार्फत नै अधिकांश विवाद समाधान हुन्छन्। आफ्नो बुद्धि, विवेक र क्षमताको प्रयोग गर्दै विवादित विषय समाधान गर्न सकिन्छ। नेपाल भारतबीचको सीमा विवाद होस् वा चीन र भारतबीचको विवाद, यी विवाद दुष्प्रचार गर्नुपर्ने विषय नै होइनन्। ‌एतिहासिक प्रमाण र तथ्यका आधारमा वैज्ञानिक तरिकामार्फत सीमा विवाद समाधान गर्नुपर्छ। तथ्य र प्रमाणलाई दुवै पक्षले आत्मसाथ गर्नुपर्छ।

हामीले भारतलाई सीमा विवाद समाधानका लागि बारम्बार आग्रह गर्दा पनि उसले इच्छा देखाएको थिएन। तर अहिले वार्तामार्फत सीमा समस्या समाधान गर्न भारत तयार छ।

-चीन र नेपालबीचको रेलमार्गको विषयमा के प्रगति छ? यो परियोजना सम्पन्न गर्न केही तालिका तयार भएका छन् ?

यो परियोजना सम्पन्न गर्न दुवै पक्षले मेहनत गरिरहेका छन्। नेपालमा यसको सभ्याव्यताबारे अध्ययन सुरु भइसकेको छ। कोरोना महामारीका कारण केही प्रभाव निश्चय पनि परेको छ। महामारी नियन्त्रणमा आएपछि यो कामले तीव्रता पाउने छ। दुवै देशले अहिले कागजात तयार पारिरहेका छन्। रेल परियोजनाका आवश्यक योजना तयार गर्न दुवै राष्ट्रका प्रतिनिधि निरन्तर संवादमा छन्। मेरो विचारमा अबको पाँच वर्षभित्र नेपाल र चीन रेलसञ्जालमार्फत जोडिनेछ।

-गत महिना चीनले कोभिड-१९ सँगको सहकार्यसँगै शान्ति र सुरक्षामा सहयोगका लागि संयुक्त सहकार्यका लागि नेपाल, पाकिस्तान र अफगानिस्तानसँग बैठक गरेको थियो? यसप्रति तपाईंको धारणा के छ?

कोरोनाको महामारीका कारण विश्वका दुई सयभन्दा बढी मुलुक आक्रान्त भएका छन्। महामारीले आक्रान्त बनेपछि विश्वका जिम्मेवार नेताहरुले कोरोना महामारी नियन्त्रणका लागि चिनियाँ नेतृत्वले अवलम्बन गरेको नीति अपनाउने प्रयास गरे।

मेरो विचारमा चीनले जनताको स्वतन्त्रताको रक्षा र जीवनको अधिकारको सम्मान समेत गर्दै महामारीको नियन्त्रण गर्‍यो। कतिपय राष्ट्रले स्वतन्त्रताको अधिकारका लागि आफ्नो मुलुक जस्तो उत्कृष्ट कोही छैन भन्ने गरेका छन्। तर, जीवन अन्त्यका अघि स्वतन्त्रताको कुनै अर्थ हुँदैन। स्वतन्त्रताका नाममा विश्वका धेरै मुलुकमा हजारौँ मानिसहरुले महामारीका कारण मृत्युवरण गर्नुपर्‍यो।

चीनमा नेतृत्वले बेलैमा सचेतना अपनायो। नेपालमा पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि हामीले चीनसँग सहकार्य गर्‍यौँ। महामारीविरुद्ध संयुक्त सहकार्य गर्ने हो भने हामी यसलाई पराजित गर्न सक्छौँ। एक-अर्कालाई दोषारोपण गरेर सहकार्य तोड्यौँ भने मानिसहरुको जीवन थप जोखिमपूर्ण बन्नेछ। राजनीतिक नेतृत्वले जेसुकै भनेता पनि जनताले भने सामूहिकताको महत्व बुझिसकेका छन्।  राजनीतिकरुपमा भन्नुपर्दा केही राष्ट्रहरु अहिले एकात्मक भइसकेका छन्। एकाइसौँ शताब्दीमा बहुपक्षीयता जनताको माग हो।

-नेपालको चीनको स्वायत्त क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ। चीन र तिब्बतबीचको सहकार्यलाई तपाईंले कसरी मूल्यांकन गर्नु भएको छ ?

तिब्बत चीनकै क्षेत्र हो भने नेपाल र तिब्बत एकअर्कासँग जोडिएका छन्। यो विषयमा हामी  एक चीन नीति (वान चाइना पोलिसी) मै अडिग छौँ। तिब्बत छाडेका केही मानिसहरु भारतमा बस्छन्। खुल्ला सीमानाका कारण उनीहरुले घुसपैठ गरेर नेपाल-चीनको सम्बन्धमा दरार उत्पन्न हुने गतिविधि गर्ने गरेका छन्। हामी हाम्रो भूमि कुनै छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न दिँदैनाैं। 

यो सीमा क्षेत्रमा बस्ने नेपालीहरुको तिब्बतसँग भाषा तथा संस्कृति पनि मल्दोजुल्दो छ। त्यसैले नेपाली र तिब्बती दुवै एकअर्काको क्षेत्रमा आउजाउ गर्छन्। नेपाल र तिब्बतबीच वाणिज्यको सम्बन्ध पनि छ। 

-भारतीय केही सञ्चारमाध्यले नेपाल र चीनको सम्बन्ध बिग्रदो अवस्थामा रहेको भनिरहेका छन्। महामारी अन्त्यपछिको अवस्थामा नेपाल-चीनबीचको सम्बन्धका सवालमा तपाईंका के अनुमान छन् ?

निसन्देह केही समाचारहरुमा, विशेषगरी भारतीय सञ्चारमाध्यममा नेपाल र चीनबीचको सम्बन्ध राम्रो छैन भनेर प्रचार भइरहेको छ। चीनसँग नराम्रो सम्बन्ध हुनुपर्ने त्यस्तो कुनै आधार र कारण छैनन्। महामारी अन्त्यपछिको अवस्थामा बहुपक्षीयताबाट सामूहिकतातर्फ विश्व अघि बढ्छ भन्ने मेरो अनुमान छ। जसले सामूहिकतालाई इन्कार गर्छ त्यो निश्चय पनि पछि पर्छ। तर, जुन देश पछि परेका छन्, तिनलाई शक्तिशाली राष्ट्रहरुले भने सहयोग गर्नैपर्छ।

विश्व राजीतिमा केही परिवर्तन भएपनि हाम्रो दुई पक्षीय सम्बन्धमा कुनै पनि परिवर्तन हुनेछैन। विश्व राजनीतिको अवस्थाबाट नेपाल-चीनको सम्बन्धमा प्रभाव पर्ने कुरा हुँदैन। हाम्रो राजनीतिक संस्कार निश्चय पनि फरक छ। त्यसैले वैचारिक रुपमा धेरै समानताका कारण हाम्रो सम्बन्धमा कुनै असर पर्ने छैन।

चीनको बीआरआई परियोजना निकै राम्रो हो तर राजनीतिक रुपमा सैद्धान्तिक मतभेद रहेका कारण यो परियोजनाको आलोचना हुने गरेको छ। यसले मानिसहरुको जीवनस्तरमा निकै परिवर्तन ल्याउने छ र यो परियोजना सफल भएको अवस्थामा समृद्ध र सुखी जीवन बाँच्ने मानिसहरुको चाहनाले सार्थकता पाउनेछ।

प्रकाशित मिति: २२:५९ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्