Kathmandu Press

कोरोना र मौसमी रुघाखोकी कसरी छुट्याउने?

कोरोना र मौसमी फ्लूबाट बच्ने तरिका लगभग उस्तै भएकाले मानिसहरुले बच्ने उपाय राम्ररी अपनाउने हो भने दुवैबाट बच्न सकिन्छ। कोरोना र फ्लू फैलिने तरिका पनि उस्तै भएकाले सतर्कता अपनाउन जरुरी छ।
कोरोना र मौसमी रुघाखोकी कसरी छुट्याउने?

जाडो महिनामा रुघाखोकी लाग्नु स्वभाविक हो। अहिलेको रुघाखोकी लागेपनि मानिसहरु तर्सिने अवस्था छ। किनभने अहिले कोरोना उत्कर्षमा पुगेको छ। यो अवस्थामा कोरोना कति समयसम्म रहला भन्न मुस्किल छ। तर, अबको केही हप्तासम्ममा पनि यो कम हुने सम्भावना निकै कम छ। 

जाडो महिनामा विशेषगरी रुघाखोकी र फ्लू देखिने सम्भावना बढ्छ। साथै कोरोनाको लक्षण र फ्लूको लक्षण लगभग उस्तै हुन्। अहिले मानिसलाई कोरोना वा फ्लूमध्ये एउटाका कारण स्वास्थ्यमा समस्या आएमा विगतको तुलनामा उनीहरुमा त्रास बढेको देखिन्छ। त्यसैले अहिले धेरै सतर्क रहनुपर्ने हुन्छ। 

कोरोना र फ्लू दुवैको फैलिने र नियन्त्रण गर्ने तरिका लगभग उस्तै छ। अहिले पनि हामीले आवश्यकता अनुरुपको सतर्कता अपनाउन सकेका छैनौँ। जसको परिणाम स्वरुप कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ। 

यदि कुनै मानिसलाई कोरोना लागेको छ भने सो मानिसमा रुघाखोकी देखिन सक्छ। तर, रुघाखोकी मात्र लाग्दा कोरोना नै लागेको हो वा अन्य फ्लूका कारण स्वास्थ्यमा समस्या आएको भन्ने कुरामा अन्योलता हुनसक्छ। यस्तै, कोरोनाका कारण नभई मौसमका कारण रुघाखोकी लागेको भएपनि कोरोना हो कि भन्ने मनोविज्ञान रहने भयो।

कोरोना र मौसमी रुघाखोकी कसरी छुट्याउने ?

सरकारले कोरोनाको पर्याप्त परीक्षण गर्न नसकिरहेका बेला मानिसहरु आफैँ सतर्क रहन आवश्यक छ।

हामी चिकित्सकले भने कोही मानिस कोरोनाको शंका लागेर अस्पताल आउँदा उनीहरुलाई संक्रमितको सम्पर्कमा आएको वा नआएको? यात्रा, कसैसँग एक मिटरको दूरी कायम नगरी १५ मिनेटभन्दा बढी कुराकानी भएको थियो कि ? लगायतका प्रश्न सोध्ने गरेका छौँ। यदि अस्पतालव आएको त्यो व्यक्तिले यस्ता क्रियाकलाप गरेको थियो र रुघाखोकी पनि लागेको छ भने अनिवार्य कोरोना परीक्षण गर्न सल्लाह दिन्छौँ।

यदि संक्रमितको सम्पर्कमा आउने कुनै पनि कार्य नगरेको भए परीक्षण गर्नैपर्ने सल्लाह त दिँदैनौँ तर आफूले जानेर परीक्षण गरे उपयुक्त हुन्छ। कोरोना र मौसमी रुघाखोकी छुट्याउने अर्को सजिलो तरिका भनेको सुँघ्ने शक्ति (गन्ध) र स्वाद थाहा पाउने क्षमता दुवै कमजोर भयो भने कोरोनाको सम्भावना बढी हुन्छ। यस्तो भएमा जो कोही पनि परीक्षणका लागि अस्पताल जानुपर्छ। 

कोरोना र मौसमी फ्लूबाट बच्ने तरिका लगभग उस्तै भएकाले मानिसहरुले बच्ने उपाय राम्ररी अपनाउने हो भने दुवैबाट बच्न सकिन्छ। साथै, कोरोना र फ्लू फैलिने तरिका पनि उस्तै भएकाले सतर्कता अपनाउन जरुरी छ। कोरोनाको खोप अहिलेसम्म नबने पनि फ्लूको भने खोप पाइने भएकाले यसबाट बच्न प्रत्येक वर्ष सबैले खोप लगाउनु पर्छ।

अहिले कोरोना फैलिरहँदा फ्लूको खोप लगाउन अझै बढी आवश्यक भएको छ। किनभने कोरोना र फ्लूबाट एकैपटक संक्रमित भएमा बिरामीको स्वास्थ्यमा अझै कडा समस्या ल्याउँछ। कतिपय देशमा कोरोना र फ्लू दुवैको परीक्षण गरेर मात्र उपचार सुरु गर्ने गरेका छन्।

अहिले सबै प्रायः क्षेत्र खुलिसकेको अवस्थामा मानिसमा कोरोना नियन्त्रण भइसकेको भ्रम सिर्जना भएको छ। आगामी दिनमा कोरोना लागेपनि मानिसहरुले मौसमी फ्लू भनेर हेलचक्राइँ गर्ने सम्भावना अत्यधिक छ। कोरोना मात्र नभई फ्लूलाई नै पनि हेलचक्राइँ गर्ने हो भने यो घातक हुन सक्छ।

तत्थ्यांकलाई हेर्ने हो भने अमेरिकामा फ्लूसँग सम्बन्धित जटिलताका कारण वर्षेनी ६० हजारको हाराहारीमा मानिसको मृत्यु भएको छ। तसर्थ हामीले कोरोनालाई मात्र प्रथमिकतामा राखेर फ्लूलाई  हेलचक्राइँ गर्नु हुँदैन।

अहिले टेकु अस्पतालमा पनि मानिसको भिड बढेको छ। दैनिक पाँच सयभन्दा बढी मानिस कोरोना  परीक्षणका लागि आइरहेका छन्। उनीहरु मध्ये धेरै जसो मानिस कामको सिलसिलामा तराईबाट आएका र घरबेटीले कोरोना परीक्षण गरेर मात्र आउनु भनेको भएर आएका छन्। तर, जाडो मौसम सुरु भएपछि भने कोरोनाकै शंका लागेर परीक्षण गर्न आउने मानिसको संख्या वृद्धि हुने सम्भावना बढी छ।
 

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्