Kathmandu Press

राष्ट्रिय ध्वजाबाहकको भाग खोसेर यति समुहको हिमालय एयरलाइन्सलाई विमानस्थल ग्राउन्ड ह्यान्डेलिङको जिम्मा

पर्यटनमन्त्री योगेश भट्टराईले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डेलिङ यती समुहको मुख्य शेयर रहेको हिमालय एयरलाइन्सलाई दिने निर्णय गरेका छन्।
राष्ट्रिय ध्वजाबाहकको भाग खोसेर यति समुहको हिमालय एयरलाइन्सलाई विमानस्थल ग्राउन्ड ह्यान्डेलिङको जिम्मा
Hardik ivfHardik ivf

काठमाडौं, असोज ८ : पर्यटनमन्त्री योगेश भट्टराईले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डेलिङ यती समुहको मुख्य शेयर रहेको हिमालयन एयरलाइन्सलाई दिने निर्णय गराएका छन् ।

भट्टराईले  राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको अर्बौं आम्दानी गुमाउने गरी ह्यान्डलिङ सेवामा हिमालयलाई छिराएका हुन्।  नागरिक उड्डयन प्राधिकरणले असोज ४ मा नेपालको यती समूह र चीनको तिब्बत एयरलाइन्सको लगानी रहेको हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना विमानको ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति दिएको हो ।

हिमालयले निवेदन दिएको पाँच दिनमै ह्यान्डलिङको अनुमति पाएको छ। भदौ ३१ गते निवेदन दिएको हिमालयलाई असोज ४ गते नै प्राधिकरणले अनुमति दिएको हो। 

‘नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७७ असोज ४ मा महानिर्देशक स्तरको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरुको भूमिस्थ प्रवन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र प्रदान गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले हिमालयलाई स्विकृति प्रदान गरेको पत्रमा उल्‍लेख छ।  

प्राधिकरणले निर्देशिका अनुसार हिमालयलाई अनुमति दिएको बताएको छ। तर, निगमको यो तर्क निर्देशिकाको दफा ४ को उपदफा २ मा साताको ३५ उडान गर्ने वायुसेवा कम्पनीले आफ्ना विमानको ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था विपरित छ। २०७६ चैत ११ मा अन्तर्राष्ट्रिय उडान बन्द हुनुपूर्व हिमालयनले सातामा २० देखि २५ उडान गर्ने गरेको थियो। 

विगतमा कतार एयरलाइन्सले सातामा ३५ उडान गरिरहेको भन्दै आफ्ना विमानको ग्राउन्ड ह्यान्डलिङ गर्न पाउनु पर्ने माग गर्दै निवेदन दिँदा प्राधिकरणले अनुमति दिएको थिएन । यती समूहले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको  स्विकृति लिने प्रयास गरिरहेको थियो। उसको यो प्रयासमा मन्त्री भट्टराईले समेत साथ दिएपछि निवेदन दिएको पाँच दिनमै प्राधिकरणले स्विकृति दिएको हो।

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट बार्षिक पाँच अर्ब आम्दानी गर्दै आएको थियो। अब हिमालयले आफैं ह्यान्डलिङ सेवा संचालन गर्दा निमगलाई बार्षिक ५० करोड घाटा लाग्ने निगमका एक अधिकारीले काठमाडौं प्रेसलाई जानकारी दिए।  

'राष्ट्रिय ध्वजाबाहक निरन्तर ओह्रालो यात्रामा छ। निमगलाई सुधार गर्ने जिम्मेवारीमा हरेका मन्त्री ज्यू नै निगमको भाग खोस्न लाग्नु भएको छ। यो निमगका लागि ठूलो विडम्बना हो,' निगमका ती अधिकारीले भने।

निमगले ग्राउन्ड ह्यान्डलिङबाट भएको आम्दानीको १५ प्रतिशत सेवा शुल्क नागरिक उड्ययन प्राधिकरणलाई बुझाउँदै आएको थियो। तर मन्त्री भट्टराईले हिमालयलाई सेवा शुल्क समेत तिर्न नपर्ने गरी ह्यान्डलिङको स्विकृति दिएका छन्। हिमालयले सेवा शुल्क नतिर्दा प्राधिरकणलाई बार्षिक १० करोड घाटा लाग्ने देखिएको छ।   

यसअघि थाई एयर र एयर इन्डिया आफैंले ह्याडलिङ गर्दै आएका थिए। ती बाहेकका सबै एयरलाइन्सको ह्यान्डलिङ निगमले गर्दै आएको थियो। 

तत्कालका लागि हिमालयले आफ्नै विमानको ह्यान्डलिङ गर्ने गरी अनुमति दिएपनि जेठदेखि भने निगमलाई हटाएर हिमालयले एकलौटी ह्यान्डलिङ गर्न पाउने गरी अहिले चोरबाटोबाट अनुमति दिइएको स्रोतको दावी छ । प्राधिकरण र निममबीच भएको ह्यान्डलिङ सेवाको सम्झौता आगामी जेठमै सकिँदैछ। निगमसँग सम्झौता नविकरण नगरी हिमालय एयरलाइन्सलाई एकलौटी ह्यान्डलिङ गर्ने चलखेल भइरहेको प्राधिरकण स्रोत बताउँछ। 

प्रकाशित मिति: ०५:०७ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्