Kathmandu Press

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन सञ्चालन

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन सञ्चालन

काठमाडौं, असोज १ : मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन्। मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम संख्यामा मात्रै बस सञ्चालन भएका हुन्। कोभिड–१९ को रोकथामका लागि सरकारले पहिलो पटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए। सरकारले गत असार र साउनमा एक जिल्लाभित्र मात्रै सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो। 

सवारीधनी र मजदूरले आज बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए। पहिलो दिन भएकाले सडकमा यात्रु पनि कम संख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। अधिकांश सवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि आज कम मात्रै सञ्चालनमा आएको हो। कोभिड–१९ को त्रास भए पनि आगामी दिनमा बिस्तारै सवारीसाधन र यात्रु बढ्ने उनको भनाइ छ। उनले भने, ‘अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन्।’

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन। लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन। सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासंघले अनुरोध गरेको छ। चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ। 

त्यस्तै, महासंघले यात्रुलाई बस चढ्दा, ओर्लदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा आजदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन्। यातायात व्यवसायी र मजदूरका संघ÷संगठनले पटक–पटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्